दशैँ, दशा र दिशा !

A A- A+

✍️ डा. नारायण चालिसे

देशमा दशैँ आएको छ । त्यसो त संसारभरका सनातनीहरू सबैका लागि दशैँ आएको छ । तापनि हामी जहाँ छौँ र जसरी छौँ त्यसका विषयमा कुरा गर्दा अहिले हामी नेपालीहरूका लागि दशैँ आएको छ । हरेक वर्ष आउने दशैँ यस वर्ष पनि उही तिथिमा आएको छ यसलाई खास विशेष बनाउने भनेको हाम्रा कर्म, व्यवहार र त्यो दिनसँग जोडिएको विशेषताले हो । दिन आफैँमा विशेष भएर आउने होइन यसलाई विशेष बनाइन्छ । हरेक दिन एकैनासले आउँछन् अनि तिनलाई हामीले विशेषणहरू दिएर सजाउँछौँ । यस्तै कुनै दिन भवितव्यले गर्दा कसैलाई राम्रो र कसैलाई नराम्रो पनि बन्न सक्छ । प्रायः चाडपर्व वा उत्सवसँग सम्बन्ध जोडिएका दिनहरू सुन्दर भएर बित्छन् ।

हिजो एकजना मध्यम वर्गीय मित्रले आफ्ना साथीको समूहमा भन्दैथिए । दशैँ जस्ता चाडबाड पाँच वर्षमा एकपल्ट आइदिए यसको महŒव पनि बढ्ने थियो र आर्थिक रूपले पनि केही सहज हुने थियो । पोहोर सालको खसीको मासुको पैसा तिरिनसक्दै अर्को दशैँ आइसक्यो । कुरा केही दृष्टिले जायज जस्तो पनि थियो र अन्तर्यमा गहिरो सन्देश पनि थियो । ऋण लगाएर दशैँ मनाउनै पर्ने बाध्यतासँग आउने दशैँको साइड इफेक्टसँग जोडिएको उक्त मित्रको प्रतिक्रियामा दुवै कुरा थिए । एकातिर चाडवाडप्रतिको आस्था र अर्कोतिर जसरी पनि दशैँ मनाउन पर्ने बाध्यता ।

यता आएर सबैजसो चाडपर्वहरूमा त्यस्तै विकृति बढेको छ । हुनेखानेहरू यसलाई विकृत बनाउन बढी जिम्मेवार छन् । भित्री आस्था घटेको छ र बाहिरी तडकभडक बढेको छ । चाडपर्वहरू फगत खानपिन र मोजमस्ती गर्ने दिनमात्र होइनन् ।

दशैँ आस्थाभन्दा बढी बाध्यता हुन थालेपछिको समस्या अलि गम्भीर छ । हाम्रो देशका अत्यधिकनागरिकहरू अहिले पनि गरिबीको रेखामुनि छन् । केही नागरिक रेखामाथि होलान् तीमध्ये पनि धेरैजसो जेनतेन दशैँ मनाउने हैसियतका छन् । उनीहरूमा पनि छेलोखेलो तरिकाले दशैँ मनाउने सामथ्र्य छैन । भन्न त दशैँ तिहार जस्ता चाडले मलाई यसरी मनाऊ भन्दैनन् तर चाडपर्व मनाउने परम्परागत प्रचलन र त्यसको प्रभावको छायाँ अहिले पनि देशमा विद्यमान छ ।

दशैँलाई पहिले पहिले ठूला घरका व्यक्तितले भव्य रूपले मनाउँथे । साना घरका व्यक्तिले पनि ऋणधन गरेर सन्तोषपूर्वक मनाउँथे । आर्थिक बाध्यता त उनीहरूसँग थियो तर पर्वप्रतिको आस्था र आफ्नो हैसियत दुबैलाई सन्तुलन गरेर चित्त बुझाउँथे । अहिले आस्थामा केही कमी आएको छ र असन्तोष बढेको छ । यसका साथै नागरिकहरूमा केही आक्रोश र विद्रोहात्मक भावना पनि बढ्दै गएको छ । दशैँ कसको चाड हो ? यो चाड कसकसले मनाउने ? सबैले किन मनाउने ? जस्ता प्रश्नहरू पनि जोडिएर आउन थालेका छन् । हिजो सायद यस्तो थिएन देशमा आउने हरेक चाडपर्वहरूमा नेपालीहरूको समान आस्था, विश्वास र सम्मान थियो ।

एकअर्का जातिको धर्म, संस्कृति र प्रचलनअनुसार जेजसरी मान्न मनाउन पर्ने हो त्यसो गरिन्थ्यो । अरू जातिले पनि त्यसको सम्मान गर्थे । सायद हिजो सांस्कृतिक समन्वय र सन्तुलनको भावना बढी थियो । अहिले अधिकार, पहिचान र मुद्दाका कुरा बढी मुखर भएर आउनाले चाडपर्वप्रतिको बुझाइ केही खण्डित भएको छ । जातीय अस्तित्व र आस्थाको सम्मानका नाममा अन्य जाति र संस्कृतिप्रति उपेक्षा र अनास्था बढाउने काम बढी भएको छ । भन्न त यसलाई पहिचानको खोजी पनि भनिएको छ तर जुटेर बसेको समाज टुट्दै गएको छ । एक अर्कामा हिलो छ्याप्ने क्रम बढ्दो छ । यसका पछाडि समयानुसारको परिवर्तन त छँदै छ साथमा पर्वका नाममा भित्रिएको विकृति र आर्थिक हैसियत बढी हुनेहरूको भड्किलो व्यवहारले यसप्रतिको धारणा फेरिएको छ ।

त्यसो त यता आएर सबैजसो चाडपर्वहरूमा त्यस्तै विकृति बढेको छ । हुनेखानेहरू यसलाई विकृत बनाउन बढी जिम्मेवार छन् । भित्री आस्था घटेको छ र बाहिरी तडकभडक बढेको छ । चाडपर्वहरू फगत खानपिन र मोजमस्ती गर्ने दिनमात्र होइनन् । यिनका पछि लामो सांस्कृतिक महत्त्व र परम्परा जोडिएको हुन्छ । हामी सांस्कृतिक रूपले निकै सम्पन्न छौँ । बहुसंस्कृति र समभाव हाम्रो पहिचानको आधार हो ।

दशैँ के कसरी आउनुपथ्र्यो र कसरी आएको छ र आउने गरेको छ ? भन्ने विषयतर्फ गौर गर्ने हो भने यसको उत्तर अलि फरक किसिमले आउन सक्छ । दशैँ धार्मिक र सांस्कृतिक महत्व जोडिएर आउने पर्व हो । दशैँमा सनातनीहरूले त्रिशक्तिस्वरूपिणी, अपराजिता दुर्गाको पूजा आराधना गर्दछन् । भने धर्मसँग नजोडेर पनि दशैँलाई संस्कृतिको द्योतक मान्नेहरूले यसको सांस्कृतिक परम्परा, प्रचलन र विशेषताका बारेमा चर्चा गरेर मनाउने गर्दछन् ।

दशैँ आउँदा अरू कुरा आऊन् नआऊन् दशैँको धार्मिक, सांस्कृतिक महत्त्वको चर्चा हुनुपर्छ । दशैँको मात्र होइन जुनकुनै जातिविशेषको पर्व आउँदा पनि त्यसको ऐतिहासिकता, सांस्कृतिकता र अन्य विशेषताहरूको चर्चा हुनै पर्छ अनिमात्र यस्ता पर्वहरूको महत्व रहन्छ र परम्पराले निरन्तरता पाउँछ । पुस्तापुस्तामा त्यसको प्रभाव सर्दै जान पाउँछ । यस पटक पनि दशैँ आउँदा तिनै कुरा बढी आउनुपथ्र्यो तर ती कुरा कम र भाँतीभाँतीका कुरा बढी आएका छन् ।

यही बेला राजधानीका सडकमा मेयरसाबको डोजर आएको छ । सरकारी सम्पत्तिको दुरुपयोग गरेर, कानुन मिचेर राज गर्न पल्किएको यो समाजमा अचानक कानुन र नियमले प्रवेश गर्दा हलचलै आएको छ । डोजर त्यसको सङ्केतक हो आउनै पर्ने कुरा आएको छ तर दशैँको मुखमा आएको परिवर्तनको यो नयाँ मोडेलले केही सर्वसाधारण श्रमजीवी नागरिकको मनमा भने अन्धकार छाएको छ । चाडपर्वको समयमा हुने व्यापार व्यवसायको भरमा सालभरि जीविका गर्नुपर्ने सडक व्यापारीहरूको विचल्ली परेको छ ।

कानुनलाई पैतालामुनि राखेर सरकारी जग्गाजमिनमा रजगज गर्न पल्केकाहरूका मनमा चिसो आएको छ । व्यापारीका मनमा नाफाको रहर आएको छ । सर्वसाधारणको मनमा गर्जो टार्ने कहर आएको छ । बरु हुनेखानेहरूका घरमा ससानो पसल राखेर बसेकाहरूका नियम मिचेर बनाइएका घरहरूमा पसल गरेकाहरूका पसल बन्द भएका छन् । तिनै हुनेखानेका कारणले सर्वसाधारणले दुःख व्यहोर्नु परेको छ । जनताको मनमा गर्न चाहेको खण्डमा केही हुँदो रहेछ भन्ने भरोसा आएको छ । अहिले राजधानीको अस्तव्यस्तताको सास्ती बेहारिरहेका सर्वसाधारण नागरिकका मनमा भने केही तरङ्ग आएको छ ।

तर, नेपथ्यमा बसेर शकुनी चाल चलाउन पल्किएकाहरूका मनमा नजानिँदो भुइँचालो आएको छ । धमिलो पानीमा माछा मार्न पल्किएकाहरूमा यही हो उचित समय भनेर केही उत्साह त आएको छ तर सबै वस्तुको मोलतोल गर्न सकिन्छ भन्ने अभ्यासमा रहेकाहरूमा केही सन्नाटा छाएको पनि छ । केही पनि नआउनुभन्दा आउन त दशैँ यस्तै केही न केही लिएरै आएको राम्रो भएको छ । तर, सर्वसाधारणका निम्ति भने न दशैँजस्तो गरी दशैँ नै आएको छ । न बालेनको प्रभावले काम गरेको छ न राजनीतिको नक्साले नै काम गरेको छ । कानो गोरुलाई औँसी न पूर्णे भनेजस्तो गरिखानेहरूलाई आफ्नै चटारो छ ।

यही बेला देशमा चुनाव पनि आएको छ । चुनाव जनअभिमतको सम्मानको प्रतीक हो भनिन्छ तर हाम्रोमा चुनाव निराशा र वितृष्णा बनेर आएको छ । टिकट पाउने र चुनाव जित्नेलाई यो पनि दशैँ नै बनेर आएको छ तर टिकट नपाउने, चुनाव नजित्ने वा अन्तर्घात बेहोर्नेहरूलाई यो पनि दशा नै बनेर आएको छ । नेताका घरघरमा मेला लाएको छ । समाजसेवा गर्न पनि मानिसहरू यसरी तँछाडमछाड गर्न थालेको हो भने त यो मुलुकको अवस्थै फेरिन्थ्यो नि । यतिका वर्ष बिते तर राजनीतिबाट खास सन्तोषजनक खबर आएको छैन ।

त्यसैले राजनीति अब समाजसेवा होइन भन्ने पक्कापक्की नै भएको छ । राजनीति अब व्यवसाय हो त्यो पनि महँगो व्यवसाय हो भन्ने ठहर नै भएको छ । यससँगै जनताको राजनीतिप्रतिको आस्था पनि अब पातलिँदै गएको छ । तर, केही जनताको मनभित्रको राजनीतिक आस्था बाँकी बसेकाले र केही जनताको दास मनोवृत्तिका कारणले अझै पनि केही जनताले राजनीतिको नाममा दिल्लगी गरिरहने नेताहरूको समर्थनमा मतदान गर्ने चलन कायमै छ । आस्था र सिद्धान्त एकातिर गठबन्धनको ऊर्दी अर्कोतिर हुनेजनताले यसपटक त्यति उत्साहले मतदान गर्नेछैनन् र कसैले किन मतदान गरिनस् ? भन्ने नैतिक आधार पनि कसैसँग रहने छैन ।

राजनीति गर्नु, गठबन्धन गर्नु आफ्नो सिद्धान्त, आस्था र निष्ठालाई मार्नु किमार्थ होइन । देशको खाँचो इच्छाशक्ति, इमानदारी, वैचारिक प्रतिबद्धता, सिद्धान्तनिष्ठता, त्याग, बलिदान, समर्पण र निरन्तरको कर्म हो । अमुक व्यक्ति सरकारमा आउनु, अमुक व्यक्ति गृहमन्त्री, अर्थमन्त्री वा प्रधानमन्त्री हुनु होइन ।

यो कस्तो अचम्मको कुरा हो ? जहाँ कहिल्यै कुनै बिन्दुमा पनि विचार नमिल्नेहरू मात्र सत्ताको निम्ति मन मिलाउँदै छन् र हामीले त्यसैलाई समर्थन गरिदिँदै छौँ । दलीय राजनीतिमा दलका निर्वाचित व्यक्तिहरूमा गठबन्धन हुनु र पार्टी मिलेर सरकार बनाउनु एउटा कुरा हो निर्वाचनमै गठबन्धन गर्नाले सैद्धान्तिक आस्था र विचारको समेत मृत्यु हुन पुगेको छ । अब कुनै पनि दलले हाम्रो पार्टी अमुक हो, हाम्रो राजनीतिक सिद्धान्त र दर्शन यो हो, हाम्रा कार्ययोजनाहरू यिनी हुन् । हामी सरकारको नेतृत्वमा गए विकासको यो मोडेल प्रयोग हुन्छ । हाम्रो पार्टीको सिद्धान्त र दर्शन यस कारणले उत्तम छ, त्यसैले हामीलाई मतदान गर भन्ने अवस्था नरहेपछि नागरिक पनि त्यसैअनुसार निर्णय गर्न स्वतन्त्र भएका छन् ।

राजनीति गर्नु, गठबन्धन गर्नु आफ्नो सिद्धान्त, आस्था र निष्ठालाई मार्नु किमार्थ होइन । देशको खाँचो इच्छाशक्ति, इमानदारी, वैचारिक प्रतिबद्धता, सिद्धान्तनिष्ठता, त्याग, बलिदान, समर्पण र निरन्तरको कर्म हो । अमुक व्यक्ति सरकारमा आउनु, अमुक व्यक्ति गृहमन्त्री, अर्थमन्त्री वा प्रधानमन्त्री हुनु होइन । त्यसो हो भने पार्टी किन चाहियो ? विभिन्न पार्टीमा गनिएका व्यक्तिहरूलाई तोकेर टिकट दिएभयो । चुनाव जिताउन लागे भयो । यो पार्टी र ऊ पार्टीको अर्थ अब रहेन । गठबन्धनमा जुहारी आएको छ र अन्तरपार्टी कलहको कुरै नगरौँ ।

कसलाई सिध्याउने ? कसलाई बोक्ने ? कसलाई ठोक्ने ? कसरी आफू र आफ्नालाई सुरक्षित गर्ने ? इत्यादि विषयको गृहकार्य भइरहेको छ ।
आफ्नै पार्टीका निष्ठावान् नेतालाई बलि चढाएर अर्को पार्टीका नेतालाई नेतृत्वमा ल्याउने होडबाजी छ । त्यस्तै आफ्ना पार्टीका नेतालाई हराएर अर्को पार्टीको व्यक्तिलाई चुनाव जिताउने चलखेल पनि भइरहेकै छ । आफ्ना पार्टीका कार्यकर्ताभन्दा अर्को पार्टीका कार्यकर्ता आफ्ना हुन थालेका छन् । यदुवंशी राजनीतिको यो कुरूप प्रहसन चलिरहेको बेला सिद्धान्तनिष्ठ कार्यकर्ताहरू मुर्छा परिरहेका छन् । सत्ता साझेदारीको यस्तो लेनदेनको नमुना संसारमै पनि कमै हुन्छ होला । सत्तालाई केन्द्रमा राख्ने र लोकतन्त्रको रक्षाको दुहाइ दिने यो प्रवृत्तिले हामीलाई कता लैजाँदै छ ? यसै भन्न गाह्रो छ । संसार आफ्नो ढङ्गले चलोस् तर जेजस्तो भए पनि बडा दशैँ २०७९ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Shantikrishna Adhikaree
Shantikrishna Adhikaree
2022-10-01 2:07 pm

होइन हो डाक्टर साब, एउटै सानो लेखमा धर्म, संस्कृति, परम्परा, राजनीति, समाज र विकास कसरी अटाउन सकेको?

छुटाउनुभयो कि ?