आज विजयादशमी, मान्यजनबाट टीका लगाइँदै, उत्तम साइत ११:५१बजे

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालीहरुको महान् चाड वडादशैँको दशौँ दिन आज आफ्ना मान्यजनका हातबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदैछ ।

टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहे पनि दिनभर नै टीका लगाउन सकिने नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

विजया दशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरा प्रयोग गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैँघरमा प्रत्येक दिन पूजा अर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।

आजका दिन परिवारमा बाजेबज्यै, बाबुआमा, गुरपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

यसैबीच, टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ । अहिले शुक्र पूर्वतिर भएकाले टीका लगाइदिने मान्छे पूर्वतिर फर्किने र लगाउने मान्छे पश्चिम फर्कन उपयुक्त हुने ज्योतिषहरुले बताएका छन् । दैत्यका गुरु शुक्राचार्य भएकाले बिघ्न बाधा नपरोस् भनि शुुक्रलाई पछाडि पारेर टीका लगाउने प्रचलन छ ।

शुक्राचार्यले दैत्यको पक्षमा काम गर्ने विश्वासले विजयका बेला शुक्राचार्यको वेवास्ता गर्ने प्रचलन रहिआएको हो । यस्तै चन्द्रमालाई सम्मुख वा दाहिने पारेर पनि टीका लगाउन उपयुक्त मानिन्छ ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिले जनाएको छ । मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?