भारतीय टुरमा शुक्र आठौं

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राई भारतीय टुरअन्तर्गत पिजिटिआई प्लेयर्स च्याम्पियनसिपमा आठौं हुनुभएको छ । पिजिटिआईमा यो उहाँको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

हरियाणास्थित पञ्चकुला गल्फ क्लबमा सञ्चालित भारतीय रुपैयाँ ५० लाखको प्रतियोगिताको चौथो तथा अन्तिम राउण्डमा शुक्रबार शुक्रले २-अण्डर ७० को कार्ड बनाउँदै ११-अण्डर २८८ को स्कोर खडा गर्नुभयो । शुक्रले एक स्थान सुधार गर्दै भारतीय गल्फर मनु गन्डाससँग आठौं स्थान बाँड्नुभएको हो ।

शुक्रले फ्रन्ट नाइनमा २-अण्डर ३४ मा सकाउँदा ब्याक नाइन इभन–पार ३६ मा पूरा गर्नुभयो । दिनको सुरुवात बोगीबाट गरेका शुक्रले तेस्रो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्नुभयो । ब्याक नाइनमा उहाँले १०औं र १७औं होलमा एक-एक सट खेर फाल्दा १४औं र १६औं होलमा बर्डीको सफलता प्राप्त गर्नुभयो ।

इभन-पार ७२ को स्कोरसहित पहिलो दिन संयुक्त ५०औं स्थानमा रहनुभएका शुक्रले दोस्रो दिन ३-अण्डर ६९ खेल्नुभयो र तेस्रेो राउण्डमा ६-अण्डर ६६ को उत्कृष्ट कार्ड बनाउनुभयो । भारतीय गल्फ टुरको पहिलो सिजन खेलिरहनुभएका शुक्रको यो पहिलो टप १० फिनिस हो ।
गत हप्ता सम्पन्न कपिल देव-ग्रान्ट थोर्नटन इन्भिटेशनल प्रतियोगितामा शुक्र पहिलोपटक उत्कृष्ट २० मा पर्न सफल हुनुभएको थियो ।

आठौं स्थानमा खेल सकाउँदा शुक्रले एक लाख १८ हजार १२५ भारतीय रुपैयाँ प्राप्त गर्नुभयो । कुल भारु तीन लाख ७३ हजार ७८ सहित उहाँ अर्डर अफ मेरिटमा ६७औं स्थानबाट ६५औं स्थानमा उक्लिनुभएको छ । टप ६० भित्र सिजनको अन्त्य गर्न सफल खेलाडीहरूको कार्ड आगामी सिजनका लागि सुरक्षित रहनेछ । शुक्रले क्वालिफाइङ स्कुलमा उत्कृष्ट प्रदर्शन गर्दै चालु सिजनको फूल कार्ड पाउनुभएको हो ।

दोस्रो स्थानबाट दिनको सुरुवात गर्नुभएका भारतीय गल्फर युवराज सिंहले सान्ढु १९-अण्डर २६९ स्कोरका साथ उपाधि जित्नुभएको छ । अन्तिम दिन उहाँले ४-अण्डर ६८ को कार्ड बनाउनुभयो । अर्का भारतीय खेलाडी अजितेश सान्ढु र पहिलो दुई राउण्डका लिडर जमाल हुसेन १८-अण्डर २७० को स्कोरसहित संयुक्त दोस्रो हुनुभयो । अजितेश ७–अण्डर ६५ खेल्दै तीन स्थान माथि उक्लिनुभयो भने हुसेनले ६–अण्डर ६६ खेलेर एक स्थान सुधार गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?