एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हार

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपालले एएफसी यू-१७ एसियन कप छनोटमा दोस्रो हार बेहोरेको छ । आयोजक भियतनामसँग पराजित हुँदै नेपालले दोस्रो हार बेहोरेको हो । दोस्रो खेलमा नेपाल पाँच-शून्य गोलअन्तरले पराजित भएको हो । त्यसअघि भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग तीन-शून्य गोलअन्तरले पराजित भएको थियो ।

भियतनामविरुद्धको दोस्रो खेलको सातौं मिनेटमा कप्तान एनगुएन कोङओङको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । कोङओङले पेनाल्टी बक्सको ठीक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । १२ औं मिनेटमा भियतनामले अग्रता दोब्बर पार्‍यो । भि डि थुओङको फ्रिकिकमा बुइ होआङ सनले हेडमार्फत् गोल गर्नुभएको थियो ।

भि थिनले १६ औं मिनेटमा तेस्रो तथा लि डिङ लोङ भुले २९ औं मिनेटमा चौथो गोल गर्नुभएको थियो । इन्जुरी समयमा भियतनामले अर्को गोल थप्दै जित सुनिश्चित गर्‍यो । इन्जुरी समयको तेस्रो मिनेटमा हुयान भान थान्हले टोलीका लागि पाँचौं गोल गर्नुभयो ।
खेलपछि टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनामविरुद्धको खेलमा खेलाडीले पहिलो हाफमा धेरै गल्ती गरेका कारण नराम्रो हार चाख्नुपरेको प्रतिक्रिया दिनुभयो ।

‘फेरि पनि गल्तीले हामीलाई महँगो परेको छ । हामीले पहिलो हाफमा धेरै गल्ती गर्‍यौं । यो हाम्रा खेलाडीहरूले भियतनामीलाई सहयोग गरेजस्तै थियो । हाम्रा खेलाडीले खेल्न सकेनन् । दबाब रोक्न सकेनन् । धेरै मिसपासहरू भयो,’ खेलपछि श्रेष्ठले भन्नुभयो ।

प्रशिक्षक श्रेष्ठले भियतनाम बलियो टोली रहेको तर दोस्रो हाफमा सुधार गरेको बताउनुभयो । ‘भियतनाम धेरै बलियो टोली हो । तिनीहरूसँग राम्रो स्किल र पास थियो । तर, नेपाली खेलाडीले आत्मविश्वास गुमाए । दोस्रो हाफमा हामीले सुधार गर्‍यौं,’ उहाँले भन्नुभयो, ‘मलाई लाग्छ कि हामीले उचित योजना र तयारीबिना त्यस्ता टोलीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । यी टोलीहरू हामीभन्दा माथि छन् र साफ च्याम्पियनसिप टोलीहरूभन्दा पनि । यी टोली राम्रो तयारीपछि यहाँ आएका हुन् । यस्ता प्रतियोगितामा भाग लिनुअघि हामीले तयारीका बारेमा गहिरिएर सोच्नुपर्छ ।’

भियतनामले भने पहिलो खेलमा चाइनिज ताइपेइलाई चार-शून्यले हराएको थियो । शुक्रबार अर्को खेलमा थाइल्याण्डले चाइनिज ताइपेइलाई तीन-एकले हराएको थियो । समूह ‘एफ’ मा लगातार दुई जितका साथ भियतनाम शीर्षस्थानमा रहेको छ । समान ६ अंकका साथ थाइल्याण्ड दोस्रो स्थानमा छ । हारसँगै नेपालको यू-१७ एसियन कपमा छनोट हुने सम्भावना सकिएको छ । छनोटअन्तर्गत अब नेपालले आइतबार चाइनिज ताइपेइसँग खेल्नेछ । नेपाल र चाइनिज ताइपेइ अंकविहीन छन् ।

एसियाका ४४ राष्ट्रले १० अलग-अलग समूहमा छनोट खेलिरहेका छन् । हरेक समूहको विजेता स्वतः अन्तिम चरणमा प्रवेश गर्नेछ । सबै समूहका गरी उत्कृष्ट ६ उपविजेताले अन्तिम राउण्डमा प्रवेश पाउनेछन् ।

वरीयता सुधार
यता, नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले जारी गरेको नयाँ वरीयतामा नेपालको वरीयता एक स्थानले सुधार भएको हो ।

नयाँ वरीयताअनुसार नेपाल १७५ औं स्थानमा रहेको छ । यसअघि अगष्टमा भएको वरीयतामा नेपाल १७६ औं स्थानमा थियो । यसबीचमा भएको एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीलाई सफलता मिलेको थियो । दशरथ रंगशलामा असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा नेपालले अन्जन विष्टको हृयाट्रिकमा बंगलादेशलाई तीन-एकले हराएको थियो ।

दक्षिण एसियाली राष्ट्रमा भारत अगाडि रहेको छ । दुई स्थानले पछि परेको भारतको नयाँ वरीयता एक सय छैटौं स्थानमा छ । नेपालभन्दा अघि रहेको माल्दिभ्सको फिफा वरीयता १५४ औं स्थानमा छ । नेपालभन्दा पछि रहेका भुटान १८५ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९८ औं र श्रीलंका २०७ औं स्थानमा छन् ।

फिफा वरीयताको शीर्षस्थानमा ब्राजिल, दोस्रो स्थानमा बेल्जियम, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौं स्थानमा इग्ल्याण्ड रहेका छन् । त्यस्तै, इटाली छैटौं, स्पेन सातौं, नेदरल्याण्ड्स आठौं, पोर्चुगल नवौं, डेनमार्क दशौं स्थानमा छन् । जर्मनी ११ औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?