उम्मेदवारी मनोनयनको सम्पूर्ण तयारी पूरा

उम्मेदवारी मनोनयन सर्दैन, दुई दिन समय दिने गल्ती गर्दैनौँ : प्रमुख आयुक्त थपलिया

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज (आइतबार) हुने उम्मेदवारी मनोनयनको सबै तयारी पूरा भएको बताउनुभएको छ । देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ८८ निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक जनशक्ति, सुरक्षासहित सबै व्यवस्थापन पूरा गरिएको उहाँले जानकारी गराउनुभयो ।

आयोगको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले आइतबार १० बजेदेखि ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन आग्रह गर्नुभयो । यस्तै, उहाँले संविधान तथा कानुनबमोजिम सबै वर्ग, लिंग, समुदाय समेटिने गरी समानुपातिक प्रतिनिधित्व हुने गरी मनोनयन गराउन राजनीतिक दलहरूसँग विशेष आग्रह गर्नुभयो । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्नसमेत उहाँको विशेष आग्रह थियो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनको मनोनयन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतिको बन्दसूची बुझाउँदा जस्तै दुई दिन समय दिन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उम्मेदवारी दर्ताको समय केही पर सारिदिन केही सुझाव आएका हुन् । त्यसमा मनोनयन दर्ताको स्थानीय तहमा पनि दुई दिन, समानुपातिकमा पनि दुई दिन दिएको त्यसैले यसमा तीन दिन दिन सुझाव आएको थियो । तर, स्थानीय तहमा दुई दिन दिँदा भोलिपल्ट अबेर मात्रै दलहरू आउनुभयो । त्यसैले आयोगले त्यसलाई दोहोर्‍याउन चाहेन ।’ कारणवश मतदान प्रक्रिया स्थगित हुनसक्ने भए पनि मनोनयन प्रक्रिया कुनै हालतमा रोकिन नसक्ने उहाँको भनाइ छ । राजनीति दलहरूलाई आयोगबाट हुनसक्ने सहयोग पूर्ण रूपमा सहयोग हुने उहाँले बताउनुभयो ।

मतदानका दिन सवारीसाधन चल्न दिइने

निर्वाचन आयोगले कानुन तथा परम्परामा भएका कतिपय अव्यावहारिक पक्षलाई सुधार गर्ने प्रयास गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने भएको हो । चुनावका दिन सवारीसाधन बन्द गर्नुको उपदेयता अहिलेको सन्दर्भमा नदेखिएपछि आयोगले सुधार गर्न लागेको जनाएको छ । निर्वाचन आयोगले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यो वर्षदेखि मतदानका दिन सवारी चलाउन दिन लागेको जानकारी दिनुभयो ।

मतदानका दिन सवारीसाधन नचल्दा ज्येष्ठ नागरिक लगायतका मतदातालाई मतदान स्थलसम्म पुग्न असुविधा भएकाले मापदण्डअनुसार, सवारी चल्न दिइने उहाँले बताउनुभयो । उहाँले यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी लगायतको कार्यदल बनाएको र सो कार्यदलले दिएको सुझावका आधारमा मतदानका दिन मापदण्डअनुसार सवारी चलाउन दिइने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?