सत्ता गठबन्धनबाट बाहिरियो जसपा, एमालेसँग तालमेल गर्ने समझदारी

चुनावपछि पनि सहकार्य हुने, जसपाले प्रतिनिधिसभामा १७ र प्रदेशमा ४२ सिट पाउने

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच आगामी चुनावमा गठबन्धन गर्ने सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधिसभामा १७ सिट र प्रदेशसभामा ४२ सिट दिने भएको छ । एमाले र जसपाबीच १४ जिल्लामा चुनावी तालमेल हुनेछ । मधेश प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।

यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । जसपाले सप्तरी-१, २, ३, सिरहा-२ र ४, धनुषा-१, महोत्तरी-३ र ४, सर्लाही-१ र ४, रौतहट-२, बारा-२, पर्सा-१ र २, रुपन्देही-४, मोरङ-५ र सुनसरी-१ मात्र प्राप्त गरेको छ । प्रतिनिधिसभाको पाँच क्षेत्र भने कुन दलले लिने भन्ने टुंगिएको छैन । धनुषा २, महोत्तरी २, रौतहट १, बारा ३ र रुपन्देही ५ दुवैै दलको भागमा परेको छैन । प्रदेशसभातर्फ एमालेले ७० सिट पाउनेछ भने जसपाले ४२ सिट लिएको छ । तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने सहमति पत्रमा उल्लेख छ । निर्वाचनपछि पनि सहकार्य जारी राख्ने सहमति दुई दलबीच भएको छ । मागेजति सिट नपाएपछि जसपाले सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई/दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि जसपाले एमालेइतर समूहसँग गठबन्धन गरेको थियो । सत्ता गठबन्धनमा सामेल जसपा सरकारमा समेत सामेल छ ।

एमालेमा असन्तुष्टि, धनुषामा विद्रोहको तयारी, अछाममा ४० जनाले दिए सामूहिक राजीनामा
जसपासँग तालमेल गर्ने सहमति गरेसँगै एमालेमा असन्तुष्टि उत्पन्न भएको छ । तालमेलका कारण टिकट नपाएपछि धनुषा क्षेत्र १ मा एमाले नेता किशोरी साह (कमल)ले असन्तुष्टि जनाउनुभएको छ । उहाँले पार्टीबाट विद्रोह गर्दै बागी उम्मेदवारी दिने बताउनुभएको छ । नेता साहले स्वतन्त्र वा कुनै दलसँग आबद्ध भएर उम्मेदवारी दिने बताउनुभयो । ‘जनताले उम्मेदवारी दिन निकै दबाब दिइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘मैले निर्णय गर्न सकेको छैन । स्वतन्त्र वा कुनै पार्टीबाट उम्मेदवारी दिन सक्छु ।’ धनुषा क्षेत्र नम्बर १ एमालेसँगको गठबन्धनमा जसपाले पाएको छ भने प्रदेशतर्फ ‘क’ जसपा र ‘ख’ एमालेको भागमा परेको छ । साह यसअघि प्रदेशसभा क्षेत्र ‘क’ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । साह एमाले प्रदेश कमिटी सदस्य र प्रदेशसभामा दलको प्रमुख सचेतकसमेत हुनुहुन्थ्यो ।

जसपासँग तालमेल गरेकोमा मात्रै होइन एमालेमा टिकट वितरणमा पनि व्यापक असन्तुष्टि देखिएको छ । डा. भीम रावलको टिकट खोसिएपछि अछाममा केही कार्यकर्ताले राजीनामा दिएका छन् । रावलको गृहजिल्ला अछाममा एमालेका ४० नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरूले सामूहिक राजीनामा दिएका हुन् । क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले यसअघि नै पदबाट राजीनामा दिइसक्नु भएको छ । जिल्ला कमिटीबाट अछाम १ का लागि सर्वसम्मत सिफारिस भएका रावलको टिकट खोसेर एमालेले माओवादीबाट एमालेमा आएका झपट बोहरालाई टिकट दिनुभएको थियो ।

घनश्याम भुसालद्वारा एमाले परित्याग, पार्टी ओलीको कैदी बनेको भनाइ
एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गर्नुभएको छ । ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेको भन्दै उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएको हो । अध्यक्ष केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको आक्रमण बढ्दै गएकाले पार्टी छोड्नु परेको उहाँले बताउनुभएको छ । ‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ उहाँले भन्नुभएको छ, ‘अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले- केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदित नै छ ।’ एमालेले उहाँको टिकट खोसेको थियो । आगामी दिनमा के गर्ने भन्नेबारे छलफलमै रहेको उहाँले बताउनुभयो । ‘मैले थोरै पनि स्पेस नपाएपछि एमालेमा रहनु भनेको कैदमा रहनुजस्तै भयो । त्यसलाई अस्वीकार गरेको हुँ,’ रुपन्देहीमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘अब कसरी जाने भन्नेबारे छलफलमै छु ।’

शाक्यद्वारा टिकट अस्वीकार, विकल्प खोज्न आग्रह
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीले दिएको टिकट अस्वीकार गर्नुभएको छ । आफूले यसअघि नै चुनावमा नउठ्ने घोषणा गरिसकेको बताउँदै टिकट अस्वीकार गर्नुभएको हो । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै शाक्यले आफू संसदीय निर्वाचनबाट अलग्गिने घोषणा गरिसकेकाले चुनावमा नउठ्ने बताउनुभएको हो । उहाँले काठमाडौं-८ मा प्रतिनिधिसभा चुनावका लागि आफ्नो विकल्प खोज्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको छ । एमालेले काठमाडौं-८ मा शाक्यलाई प्रतिनिधिसभामा उम्मेदवार बनाएको थियो । संसदीय राजनीति छोडे पनि पार्टी राजनीतिमा भने सक्रिय नै रहने उहाँले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?