दशैँपछिको नियमितता

हिमालय टाइम्स
Read Time = 5 mins

आज कोजाग्रत पूर्णिमा, अब यो वर्षको बडादशैँ सकिएको छ । दशैँ नेपालीहरूको महान् पर्व हो । नेपालका साथै नेपालीहरूको बसोवास भएका विभिन्न ठाउँमा दशैँ पर्व उल्लासपूर्वक मनाइन्छ । यस वर्ष विगत वर्षकै जसरी दशैँ मनाइयो तर मौसम अनुकूल भएन । प्रतिकूल मौसममा पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशिर्वाद लिने कार्य भयो । मौसमका कारण केही कमी भने भएकै हो । मनसुन निख्रँदो छ तर यही बेला भीषण वर्षाका कारण दशैँ दशैँ जस्तो भएनभन्दा पनि हुन्छ । आफन्तकोमा जानेहरू विजया दशमी र एकादशीका दिन वर्षाले आवतजावतमा प्रभाव पार्नाले त्यति सहज भएन ।

यातायातका साधनको पर्याप्तता नहुनाले यसबेला कठिनाइको सामना गर्नु परेको थियो । उपत्यकाबाहिर जानेहरूको भिड त्यत्तिकै देखियो । यो विगत वर्षकै निरन्तरता हो । अझै भन्ने हो भने गत दुई वर्ष कोरोना महामारीको बन्दाबन्दीले नेपालीहरूले खुलेर दशैँ मनाउन पाएका थिएनन् । चाडपर्वमा रमाउन र आफन्तसँग भेटघाट गर्न नपाएकाहरू यस वर्ष खुलेर रमाइलो गर्ने सुरसारमा थिए । विदेशमा बसेका नेपालीहरू दशैँ मनाउन ठूलो संख्या स्वदेश फर्किए । ती सबै राजधानी आएर पनि उपत्यकाबाहिर अ-आफ्ना गन्तव्यमा पुग्नुपर्ने हडबडमा हुने नै भए । उपत्यकाबाट प्रतिदिन लाखौंको संख्यामा मानिस बाहिरिएका थिए ।

अब फेरि यहाँ भित्रिने क्रम सुरु भएको छ । बाहिरिने र भित्रिने कार्य निक्कै दुरुह हुन्छ । यस दुरुह कार्यको सामना गरेर भए पनि आफ्नो घर पुग्ने, आमाबाबु तथा अन्य आफन्तसँगको भेटघाट गर्ने रहर तथा बाध्यता दुवै हुन्छ । यसरी गन्तव्यसम्म पुग्दा, फर्किँदा दुर्घटनामा परेर र वर्षाका कारण बाढीपहिरोमा परेर धेरै जनाले ज्यान गुमाए । यस्ता दुःखद् घटना केही संख्यामा भए । मौसमी कारण एकातिर रहृयो भने दशैँका बेला अरू समयभन्दा बढी सवारीसाधनको प्रयोग हुने भएकाले पुराना थोत्रा साधनसमेत अत्यधिक संख्यामा गुड्ने गर्छन् । यस कारण पनि दुर्घटनाको संख्या बढ्यो । आफन्तकोमा टीका लगाउन जानेहरू खोला पहिरोमा परेका समाचार आए जसले पर्व उल्लासमय हुनुको सट्टा दुःखद् बन्न पुग्यो ।

सबै कारणले २०७९ सालको दशैँ त्यति सुखद् भएनभन्दा फरक नपर्ला । तैपनि जे जसरी भए पनि यस वर्ष बडादशैँ समाप्त भएको छ । अब चाडबाडबाट निवृत्त भएर सम्पूर्ण नेपालीहरू आ-आफ्ना काममा फर्किन सुरु गरेका छन् । आआफ्ना पेशा व्यवसायमा लागिरहेका छन् । यसरी निश्चित अवधिसम्म चाड मनाएर फेरि तिहार नआउन्जेल आ-आफ्ना काममै तल्लीन हुनु बाध्यतामात्र होइन आवश्यकता हो । यही आवश्यकताले डोहोर्‍याउँदै आ-आफ्नो काममा सबै नेपाली लागिरहेका छन् । असारमा मुठी खाएर मुरी उब्जाउने भनेर खेती गरेको किसानहरूको परिश्रमले सार्थकता पाउने गरी पाकेको बाली भित्र्याउने बेला भइसकेको छ । केही दिनपछि नै यसको सुरुवात हुनेछ । त्यसतर्फ पनि लाग्नुपर्ने अधिकांश किसानको बाध्यता छ । तराईका धेरैजसो ठाउँमा यही तिहारकै समयमा धान पाक्ने गर्छ । तिहार छोडेर धानको कटानसँगै भित्र्याउने कार्यतिर किसान लाग्ने गर्छन् ।

यो बेमौसमी वर्षाले धेरैतिर खेतीबालीमा प्रतिकूल प्रभाव परेको छ । किसानको वर्षभरिको मिहिनेत खेरजाने अवस्था छ तर जे जति बाँकी रहेको छ त्यसको व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । दशनंग्रा खियाएर गरेको खेतीको संकलन, संरक्षण र सदुपयोग सबैभन्दा पहिलो आवश्यकता हो त्यसपछि चाडपर्वलाई प्राथमिकता दिनुपर्ने हुन्छ । वर्ष दिन खाने अन्नतर्फ बेवास्ता गरेर चाडपर्वतिर ध्यान दिनाले भोलिका लागि समस्या आइपर्न सक्छ । त्यसकारण यी यावत् विषयतर्फ ध्यान पुर्‍याउँदै सबैजना आ-आफ्ना कर्मपथमा लाग्नु बुद्धिमत्तापूर्ण हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?