हुलाकी सडक सञ्चालनमा पुल बाधक

हिमालय टाइम्स
Read Time = 7 mins

गोलबजार । सिरहा-धनुषा-सप्तरी खण्डमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएसँगै त्यस क्षेत्रमा सहरीकरण तीव्ररुपमा हुन थालेको छ । सडकमा कालोपत्र भएपछि प्रत्येक किलोमिटरमा नयाँ चोक निर्माण निर्माण भएको छ भने कतिपय पुरानो बजारले नयाँ स्वरुप लिएका छन् भने कतिपय सुनसान बनेका छन् ।

सप्तरीमा बोदे बर्साइन बजार, डिमन, पथरगडा, अर्नाहा, चन्ही चौक सिरहमा भगवानपुर, सोनवर्षा, बरयारपट्टी, औरही, सनहैठा, धनुषमा कमला, तिनकोरिया, लगमा, सघरा, औरही, भेललगायतका बजार क्षेत्रमा तीब्र गतिमा विकास भइरहेको छ ।

सहर विस्तारसँगै सडक क्षेत्रको जग्गाको मूल्य आकासिएको छ । सप्तरीका बलान बिहुल गाउँपालिका-२ चन्ही चौकमा १२ वर्षअघि काट्ठाको रु एक लाख ५० हजार पर्ने जग्गा अहिले कट्ठाको ४० लाख रुपैयाँमा करोबार भइरहेको स्थानीय रामशङ्कर भण्डारीले बताउनुभयो । यस्तै कमला नगरपालिका वडा-४ सघरा बजार १५ वर्ष अगाडि कट्ठाको रु एक लाखमा पाइने जग्गा अहिले रु ६० लाख पर्न थालेको स्थानीय पमेश्वर दासले बताउनुभयो ।

विदेह नगरपालिका-६ तिनकौरिया बजारमा पनि १२ वर्षअघि रु ५० देखि ६० हजारमा पाइने एक धुर जग्गा अहिले रु १३ लाखसम्ममा बिक्री हुन थालेको स्थानीय किशोर मण्डलले जानकारी दिनुभयो ।

मधेसको समृद्धिको संवाहक मानिएको यो सडक सुक्खा मौसममा धुलाम्मे र वर्षात्‌मा हिल्लाम्मे हुने गर्दथ्यो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको हुलाकी सडकमा पर्ने बजारको विकास भएसँगै ग्रामीण जनताको जीवनस्तर पनि उकासिएको छ ।

बजार विस्तारसँगै स्थानीय उपभोक्तालाई किनमेल गर्न सहज भएको छ । किनमेल गर्न लहान जानुपर्ने अवस्थाको अन्त्य भएको भगवानपुर गाउँपालिकाका जयनारायण यादवले बताउनुहुन्छ । “पहिला-पहिला बजार क्षेत्रमा साँघुरो सडक र फुसको छाप्रो, त्यहीँभित्र स-साना पसल हुन्थ्यो”, बरियारपट्टीका शङ्कर साहले भन्नुभयो, “तर अहिले सडक फराकिलोसँगै ठूलठूला पक्की भवन र डिपार्टमेन्ट स्टोरहरु खुलेका छन् ।”

पुल नबन्दा सडक सञ्चालन हुन सकेन

सडक कालोपत्र गरिए पनि विभिन्न ठाउँमा बन्नुपर्ने पक्की पुलको निर्माण कार्य सम्पन्न हुन नसक्दा सडक सञ्चालनमा आउन सकेको छैन । सिरहामात्र होइन सप्तरी-धनुषाको ग्रामीण क्षेत्रको विकासमा अहिले सकमा पर्ने पुल बाधक बनेको छ । कमला, गागनलगायत केही नदीमा पुल निर्माणको काम पूरा नहुँदा तीनवटै जिल्लाका ग्रामीण क्षेत्र विकासमा पछि परेको छ ।

सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भत्किएको एक वर्षभन्दा बढी भइसक्दा पनि पुनःनिर्माण भएको छैन । यसले गर्दा अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको छ । सिरहा सदरमुकामबाट हुलाकी सडक भएर जनकपुरधाम पुग्न करिब ४५ मिनेट लाग्छ । तर, राजमार्ग भएर जनकपुरधाम पुग्न झण्डै तीन घण्टा लाग्छ । राजमार्गको दूरी लामो, गाठीको चाप भएकाले धेरै मानिस जोखिम मोलेरै जनकपुरधाम पुग्न हुलाकी सडक रोज्छन् ।

कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ पुल निर्माणका लागि २०६८ सालमै पप्पु लुम्बिनी बिल्डर्सले २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । केही काम गरी सो कम्पनीले काम नगरेपछि सम्झौता रद्द गरी २०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दिइयो । एक वर्षअघि असारमा पहिलो पुल हस्तान्तरण गर्ने भनी निर्माण कम्पनीले तैयारी गरिरहँदा २०७८ असार १७ गते सामान्य बाढीले खम्बा भासियो र ढलानसमेत खस्यो । सरकारले पुल पुनर्निर्माण गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनीले वास्ता गरेको छैन ।

हुलाकी सडक आयोजना जनकपुरधामका प्रमुख इञ्जिनीयर कृष्णा महतो भन्नुहुन्छ, “ठेक्का लिएकै कम्पनीले पुनःनिर्माण गर्छ । वर्षायाममा अर्को डिजाइन तयार पार्ने र हिउँदबाट काम सुरु गर्ने भनेको थियो । अब काम सुरू हुन्छ ।” यस्तै सिरहाको औरही गाउँपालिका-५ गागन नदीमा हिराचन रोशन कन्स्ट्रक्सन प्रालिमार्फत रोशन कन्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ । तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम कछुवा गतिमा बढ्दा स्थानीयवासी निराश बनेका छन् ।

सिरहा जिल्लामा बलान पुलदेखि कमला पुल २९.८८ किलोमिटर, सप्तरी जिल्लामा कञ्चनरुपदेखि बलान पुलसम्म ३२ किलोमिटर, धनुषा जिल्लामा कमला पुलदेखि जनकपुरधामसम्म २७ किलोमिटर हुलाकी सडक खण्ड पर्दछ । राष्ट्रिय महत्वको यस आयोजना लामो समयसम्म पूर्ण नहुँदा तराई-मधेस क्षेत्रको आर्थिक विकासले गति लिन सकेको छैन । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?