नवौं राष्ट्रिय खेलकुद : नवलपुरमा दुई खेल हुने

Read Time = 2 mins

नवलपुर/रासस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नवलपुरमा दुई खेल हुने भएका छन् । यही असोज २८ गते कास्कीको पोखरामा उद्घाटन समारोह तय गरिएकाले दुई खेल नवलपुरमा खेलाइने भएको हो ।

प्रतियोगितामा समावेश भएका ३६ खेलमध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कुस्ती र सेपाताक्रो खेल हुन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले जानकारी दिनुभयो । नवलपुर सदरमुकाम कावासोतीमा दुवै खेल खेलाइनेछन् । सेपाताक्रो कावासोती–२ स्थित योङ स्टार क्लबको कभर्डहलमा असोज २९ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । सेपाताक्रो खेलमा देशभरबाट ९८ खेलाडी सहभागी हुने पुनले बताउनुभयो ।

यसैगरी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत कुस्ती प्रतियोगिता कावासोती-१६ डण्डस्थित थारू संग्रहालय परिसरमा सञ्चालन हुने अध्यक्ष पुनले जानकारी दिनुभयो । कुस्तीमा देशभरबाट १५८ खेलाडी सहभागी हुनेछन् । दुवै स्थानमा प्रतियोगिताको तयारी जारी छ । दुवै खेलको बन्द प्रशिक्षण नवलपुरमा चलिरहेको छ । सेपाताक्रो गण्डकी प्रदेशका प्रशिक्षक जनार्दन पौडेलका अनुसार अहिले कावासोतीमा गण्डकी प्रदेशका खेलाडीको बन्द प्रशिक्षण जारी छ । कुस्तीमा भाग लिने गण्डकी प्रदेशका खेलाडीको बन्द प्रशिक्षण भने त्रिवेणीमा चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?