सुनको मूल्य एकै दिन तीन हजारले बढ्यो

Read Time = 4 mins

काठमाडौं । नेपालीहरूको महान् चाड दशैँलगत्तै सुनको मूल्य आकासिएको छ । आइतबार एकै दिन प्रतितोला तीन हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

चाँदी भने ८५ रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँ कायम भएको छ । दशैँअघि असोज १४ गते शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ तथा तेजावी सुन ९२ हजार पाँच सय रुपैयाँ थियो भने चाँदी एक हजार एक सय ७० रुपैयाँ थियो । दशैँ बिदापछि असोज २३ गतेदेखि पुनः संघले सुनको मूल्य निर्धारण गरेको हो ।

यसबीचमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको भए पनि नेपालमा दैनिक मूल्य नतोकिएका कारण एकै दिन उच्च मूल्यवृद्धि देखिएको महासंघले जनाएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ९५ डलर तथा चाँदी प्रतिऔंस २०.१३ डलर हाराहारीमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

दशैँ नजिकिएसँगै सुनचाँदीका गहना पसलमा ग्राहकको चाप अत्यधिक बढेको थियो । तर, सरकारले सुन आयात सीमित गर्दा ग्राहकले मागअनुसारको सुन पाउन नसकेको सुनचाँदी व्यवसायीको गुनासो छ । सामान्यतया विवाहको लगनका महिना, तीज, दशैँ, तिहारमा सुनचाँदीको माग बढ्ने गरेको छ । व्यवसायीका अनुसार बैंकले पैसा पनि दिएको छैन, सुनचाँदी आयात गर्न पनि पाएको छैन । अलि–अलि आफूसँग भएको र ग्राहकले ल्याएको पुरानो सुनबाट नयाँ गहना बनाउने गरिएको छ । महासंघका अनुसार चाडपर्व र विवाहको सिजनमा नेपाली बजारमा दैनिक ४० देखि ५० केजीसम्म सुन माग हुने गरेको छ भने सामान्य समयमा दैनिक २० केजीभन्दा बढी सुनको कारोबार हुने गरेको छ ।

कोरोनासँगै २०७६ चैतदेखि सरकारले लकडाउन गरेसँगै सुन आयातमा कडाइ गरेको थियो । त्यसअघि दैनिक २० केजी सुन आयात हुने गरेकोमा २०७६ चैतपछि १० केजीमात्रै आयात हुँदै आएको थियो । २०७८ चैतमा सरकारले सुनलाई विलासी वस्तुमा राख्दै आयातमा प्रतिबन्ध लगाएको छ । महासंघका अनुसार हाल आयात १० किलोमा सीमित रहेको छ तर दैनिक ४० देखि ५० केजी माग छ ।

अमेरिकी डलरदर हालसम्मकै उच्च
अमेरिकी डलरको नेपाली विनिमय दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । दुई दिनदेखि अमेरिकी डलर नेपाली मुद्राको तुलनामा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । शनिबारदेखि एक अमेरिकी डलर बराबर एक सय ३२ रुपैयाँ दुई पैसा रहेको छ ।

वाणिज्य बैंकहरूले पनि आइतबार एक सय ३२ देखि एक सय ३२ रुपैयाँ पाँच पैसामा डलरको कारोबार गरेका छन् । भारतीय मुद्रा कमजोर भएका कारण नेपाली मुद्रा पनि कमजोर भएको हो । आर्थिक मन्दी र कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिले भारतीय मुद्रा कमजोर बनेर हाल एक डलर बराबर ८२ भारुमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?