चुनावी मोर्चामा कलाकार

Read Time = 7 mins

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गरिएको छ । ७७ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १६५ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ३३० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले आइतबार मनोनयन दर्ता गरेका हुन् । यो निर्वाचनमा कलाकारहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । गायिका कोमल वली, अभिनेत्री रेखा थापा, निर्देशक मनोज पण्डित, निर्माता रोज राणा, कलाकार, निर्माता चलचित्र वितरक करण श्रेष्ठ ‘क्रेजी’लगायतले आइतबार उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अभिनेत्री तथा राप्रपा नेत्री थापाले मोरङ-३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ भने निर्देशक पण्डितले काभ्रेपलाञ्चोक-२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै एमालेबाट राष्ट्रियसभा सदस्य भइसक्नुभएकी गायिका वलीले दाङ-३ एमालेबाट उम्मेदवारी दिनुभएको छ भने राणाले कांग्रेसबाट प्युठानको प्रदेश सभातर्फ (ख) क्षेत्रबाट उम्मेदावरी दर्ता गराउनुभएको छ । यस्तै, श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं. १ (ख) बाट उम्मेदवारी दिनुभएको छ । श्रेष्ठ साइकलमा नेपाली झण्डा राखेर उम्मेदवारी दर्ता गर्न पुग्नुभएको थियो ।

यो निर्वाचनमा आधा दर्जनभन्दा बढी कलाकारहरूले उम्मेदवारी दर्ता गराएका छन् । गायिका कोमल वली, अभिनेत्री रेखा थापा, निर्देशक मनोज पण्डित, निर्माता रोज राणा, गायक सञ्जय श्रेष्ठ, निर्माता चलचित्र वितरक करण श्रेष्ठ ‘क्रेजी’, कलाकार मधुसूधन पाठकलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अभिनेत्री थापाले उम्मेदवारी दर्ता गराएको तस्वीरसहित सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ३० वर्षदेखि संसद्मा पुगेका दलका नेताहरूले मोरङवासीका लागि गरेको काम हेर्दा समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर आफूले विद्रोहको रूपमा उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले मोरङवासीका लागि विशेष योजनासहित काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । उहाँले लेख्नुभएको, ‘अब पनि हामी नबोले, हामीले आवाज नउठाए कसले उठाउँछ ? देश बनाउन कसम खाएका नेताहरूले देश त परै जाओस् आफ्नो समाजका लागिसम्म उत्तरदायी बन्न किन सकेनन् ? किन हामी मोरङवासी सधैं देशको राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पछि परिरहेका छौं त ? यस्तै तमाम समस्याले गर्दा मैले मोरङ क्षेत्र नं-३ बाट युवा विद्रोहको रूपमा उम्मेदवारी दिएकी छु । रंगमञ्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो, अब नेपाली समाजको, मोरङवासीको, आमाहरू अनि छोरीहरूका लागि विशेष योजनासहित काम गर्नेछु ।’

उहाँले यसपटक पैसाले भोट किन्ने प्रथा र जनतालाई झुट बोलेर सांसद बन्ने प्रथाको अन्त्य गर्न मोरङवासीलाई आग्रह गर्नुभएको छ । चाँडै केही योजनासहित आफू मोरङका जनतासामु उपस्थित हुने उहाँले वाचा गर्नुभएको छ । उहाँ लेख्नुभएको छ, ‘यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदर्शन गर्नेछ । मोरङवासी राजनीतिक दास होइनन्, उच्च चेतना र परिर्वतनका संवाहक हुन् भनेर गतिलो जवाफ दिनेछन् भन्ने विश्वासका साथ संसदीय इतिहासमा मोरङले परिवर्तनका लागि विद्रोह गर्दैछ ।’

यस्तै, गायक सञ्जय श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले काठमाडौं-६ बाट स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । लामो समयदेखि राप्रपामा रहेर काम गर्दै आउनुभएका श्रेष्ठले राप्रपाबाट टिकट नपाएपछि शनिबारमात्र राप्रपा छोडेको घोषणा गर्नुभएको थियो । श्रेष्ठले गत स्थानीय चुनाव सकिने बित्तिकै राप्रपाबाट काठमाडौं-६ मा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । अन्तिम समयमा आएर उहाँलाई राप्रपाले टिकटमा धोखा दिएको भनेर आक्रोशित हुँदै श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

यसैगरी हास्य शृंखला ‘सक्किगो नि’ मा ‘सिते बा’ भूमिका निर्वाह गर्दै आउनुभएका कलाकार मधुसूधन पाठकले पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । पाठकले काठमाडौं क्षेत्र नम्बर-५ बाट स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । केहीअगाडि स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा उम्मेदवारी घोषणा गर्नुभएका उहाँले भ्रष्टाचार र बेथितिविरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?