पर्यटकीय गन्तव्य काउलेपानीले गति लिँदै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

लमजुङ । नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको लमजुङ जिल्लाको बेंसीशहर नगरपालिका-३ स्थित गाउँशहरको होमस्टे गाउँ काउलेपानीले नेपालकै पहिलो वातावरणमैत्री होमस्टे गाउँको उपमा पनि पाएको छ । नगरपालिकाभित्रका सबै गाउँ वातावरणमैत्री बनाउने अभियानअन्तर्गत उक्त गाउँका सबै परिवारले वातावरणमैत्री १८ वटा सूचक पालना गरेकाले वातावरणमैत्री गाउँ घोषणा गरिएको हो । नेपालकै उत्कृष्ट गाउँ घोषित भएको काउलेपानीका बासिन्दाले प्यानसहितको चर्पी प्रयोग गर्ने, सड्ने र नसड्ने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्ने, पशुपक्षी तथा कुकुरको फोहोर व्यवस्थापन गर्ने, धुँवारहित चुलो प्रयोग, फलफूलको बिरुवा रोप्ने जस्ता कार्य गर्दै आएकाले वातावरणमैत्री घोषित गरिएको छ । कोरोना कहरका बेला झण्डै ११ महिना सुनसान रहेको यहाँका घरवासमा पर्यटक आउन थालेसँगै पहिलाकै लयमा गति लिन थालेको छ ।

होमस्टे रहेका घरमा चिटिक्क परेका सफा बेडरुम (सुत्ने कोठा), शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुनलगायत आवश्यक सबै सामान राखिएका छन् । त्यस्तै, खानपिनमा पनि उनीहरू सचेत छन् ।

स्थानीयवासीले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत र पर्यटकलाई पनि सँगसँगै नचाउने पनि गर्दछन् । यस घरवासमा पर्यटकलाई गुरुङको लोपोन्मुख घाटु, घ्याब्रे नाच, कृष्ण चरित्रलगायतका विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्ने उनीहरूको भनाइ छ । त्यस्तै, पर्यटकलाई स्वागत गर्दै विभिन्न सांस्कृतिक नृत्य प्रस्तुतपछि रातीको खानामा स्थानीय जातको चामलको भात, लोकल कुखुरा वा खसी, बोकाको मासु, गाउँमै फलाएको सागपात, आलु आदिको तरकारी, अचार र रुचाउनेलाई कोदोको सोमरस (रक्सी) पनि उपलब्ध गराउँदछन् ।

त्यस्तै, छुट्टिने बेलामा बिदाइ गीत गाउँदै बाटोमा पर्यटकलाई खाजाका लागि कोशेलीस्वरूप सेलरोटी, अचार र कोदोको रक्सी उपहार दिएर पठाउने साह्रै मौलिक परम्पराले पनि यहाँ आउने पर्यटकको मन लोभ्याउँछ ।

यस क्षेत्रमा असारको महिनामा धान रोपाइँ, साउनमा कोदो रोपाइँ, भदौमा नेवाः समुदायको जात्रा, असोजमा रोटेपिङ, कात्तिकमा कटुस, मंसिरमा धानको दाइँ, पुसमा कोदो कुट्ने, माघमा वनतरुल खन्ने, फागुनमा गुराँस टिप्ने, चैत र वैशाखमा काफल र एेंसेलु टिप्ने, र जेठ महिनामा चुत्रो टिप्ने जस्ता दर्जन बढी प्याकेजमा पर्यटकहरूलाई काउलेपानी पठाउन सकिन्छ ।

इतिहास
शाहवंशीय राज्य उदय भएको लमजुङ दरबार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी काउलेपानी होमस्टे नजिकै रहेको छ । १५औं शताब्दीको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देवी मन्दिर, कोट, किल्ला, गढीलगायतका इतिहास बोकेका स्थलहरू यहाँका अमूल्य निधि हुन् ।

प्राकृतिक सौन्दर्य
यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । लमजुङ दरबार, काउलेपानी मन्दिर, लमजुङका विभिन्न किल्ला काउलेपानीको आकर्षण हो । यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने काँडे भ्याकुर देख्न सकिन्छ भने चरीबाघ पनि यहाँ पाइन्छ । समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमाल आँखैअगाडि देख्न सकिन्छ ।

पर्यटन प्रवद्र्धन
ऐतिहासिक स्थल गाउँशहरस्थित काउलेपानी होमस्टेलाई नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरिएपछि विदेशी पर्यटकको आगमनसमेत वृद्धि हुँदै गएको छ । सन् २०११ देखि होमस्टे सञ्चालन भएको काउलेपानीलाई सन् २०१४ मा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटो) होमस्टे गाउँ घोषणा गरिएको थियो । सरकारले घुमफिर वर्षका रूपमा घोषणा गरेका १० वटा घुम्नैपर्ने ठाउँका रूपमा काउलेपानी पनि समावेश छ ।

काउलेपानी यहाँबाट १८० डिग्रीको बिन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत गरी १४ वटा हिमशृंखला देख्न सकिन्छ । लमजुङ जिल्लाको सदरमुकाम बेंसीशहरबाट मोटरमा करिब सात किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी गाउँ समुद्री सतहदेखि १६०० मिटर उचाइमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?