देश निर्वाचनको चटारोमा

हिमालय टाइम्स
Read Time = 6 mins

यस वर्षको बडादशैँको समाप्ति सँगसँगै संघीय संसद र प्रदेशसभाको निर्वाचनको चटारो सुरु भएको छ । मनोनयनको कार्य सम्पन्न भइसकेको छ । अब नाम फिर्ता लिने र दाबीविरोधको समय बाँकी छ । त्यसपछि निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ । दशैँकै बीचमा निर्वाचनको चटारो थपिनाले नेताहरूमा रातमा निद न दिनमा भोकको स्थिति पैदा भएको थियो भने वर्षैपिच्छे आउने दशैँ पर्वलाई त्यागेर पाँच वर्षका एकपटक आउने निर्वाचनका लागि बाहिरी जिल्लाका नेताहरू राजधानी काठमाडौंमा आएर नेताका वरिपरि झुम्मिने गरेका थिए । काठमाडौंका होटल, लजहरू केही महिनादेखि खचाखच थिए । अन्त्यमा आफ्नो प्रभाव देखाउन सक्ने, नेता र नेतृत्वलाई प्रभाव पार्न सक्नेहरूले टिकट उम्काए ।

पहिलो कुरा त गठबन्धनमा रहेका पार्टी र नेताहरूबीचको सहमति गराउनुपर्ने हुन्थ्यो । त्यसका लागि पार्टीहरूले लामै समयदेखि प्रयास गरे । धेरैपटक बैठक गरेपछि सकसपूर्ण ढंगले ती पार्टीहरूबीच बल्ल संख्यामा सहमति भयो । त्यसपछि ठाउँमा सहमति गर्न त्यत्तिकै सकस भयो तर जसरी भए पनि पार्टीहरू सहमतिमा पुगे । सबै पार्टीमा आकांक्षी धेरै थिए, ती सबैले टिकट पाउन सम्भव थिएन । तीमध्ये धेरैजसो त योग्यले नै टिकट पाए भनेर विश्वास गर्न सकिन्छ । त्यसरी टिकट पाउनेहरू सबै योग्यमध्येका योग्यतम् थिएनन् । नेताहरूका नातागोता, छिमेकी, आफन्त र आफ्ना वरिपरिका वा गुटका भएका केही व्यक्तिले टिकट पाए होलान् । सबैभन्दा खराबी भनेकै त्यही हो ।

एक जनामात्र अयोग्य वा असक्षम पात्रले टिकट पायो भने नेतृत्वको आलोचना गर्ने एउटा बलियो आधार वा दृष्टान्त त्यही बन्न जान्छ । अहिले पनि त्यसो भएकै छ । आफ्नो र आफ्ना मान्छेका लागि घ्याक पसारेर बसेकाहरूका कारण केही ठाउँमा योग्य मानिस पछि हट्नुपरेको वा पछि हटाउनुपरेको थिएन भन्न सकिँदैन । आगामी मंसिर ४ गते हुने निर्वाचनमा केही ठाउँको परिणाम अप्रत्यासित पनि आउन सक्छ । हार्ने मानिसले जित्ने र जित्ने अनुमान गरिएका उम्मेदवारले हार्ने हुन सक्छ । यस्तो हुनाले त्यसको सोझो प्रभाव राष्ट्रिय राजनीतिमा पर्छ नै । कुनै पार्टीका एक-दुईजनाले मात्र हार्नाले पनि बहुमतमा झिनु संख्याले अपुग हुनसक्छ । त्यसबेला टिकट वितरणका बेला कमजोरी भएछ भनेर पछुतो गरेर केही फाइदा हुँदैन । किनकि समय घर्किसकेको हुन्छ ।

यतिमात्र होइन आफूले टिकट नपाउनासाथ आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लाग्ने परिपाटी त सबै पार्टीमै छँदैछ, अझै नेपाली कांग्रेस पार्टीमा त अनुशासनमा कढाइ नहुनाले यस्तो रोग पुरानै भएका कारण बेलाबेलामा बल्झी-बल्झी आउने गरेको छ । यसपटक पनि त्यसो नहोला भन्न सक्ँिदैन । हिजो मनोनयान दर्ता गर्ने दिनको अन्तिम क्षणसम्म कतिपय निर्वाचन क्षेत्रको टिकट कसलाई दिने भन्ने टुंगो लगाउन पार्टीले नसकेका कारण पार्टी सभापतिलाई सर्वाधिकार दिएको भन्ने समाचार बाहिरिएका थिए । अन्तिम क्षणमा मनोनयन दर्ता गर्न भ्याइनभ्याई भएको देखिएको थियो । यसबाट जहिले पनि अन्तिम क्षणमा निर्णय गर्ने परम्परामा सुधार हुन नसकेको भन्ने प्रष्ट देखिन आउँछ ।

जे होस् लामै समय कसरत गरेर भए पनि एकातिर गठबन्धनका बीच सहमति कायम हुनसकेको छ र अर्कातिर पार्टीहरूको आन्तरिक उम्मेदवार छनोटमा जे जसरी भए पनि उम्मेदवार छनोटको कार्य समप्त भएर मनोनयन दर्ताको काम समाप्त भएको छ । यसबाट अब निर्वाचनको चटारो राजनीतिज्ञ, राजनीतिक पार्टीका साथै आमसर्वसाधारणमा सुरु भएको छ । आशा र कामना गरौँ यस निर्वाचनबाट विजयी बनेर सबै पार्टीका योग्य, सक्षम र कुशल व्यत्तिमात्र आउने छन् । हामी सबै नेपालीहरूको यो चाहना पूरा हुन सकोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?