अहिले विश्वको जनसंख्या ७ अर्ब ८० करोड छ । ६० वर्षमाथिको जनसंख्या करिब ९६ करोड छ । यो कूल जनसंख्याको करिब १२ प्रतिशत हो । प्राय ६० वर्षमाथिको जनसंख्यालाई ज्येष्ठ नागरिक भनिन्छ । सबैभन्दा धेरै ज्येष्ठ नागरिक विकसित मुलुकहरूमा छन् । तुलनात्मकरूपमा हेर्दा अति कम विकसित मुलुकहरूमा थोरैमात्र ज्येष्ठ नागरिक छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ज्येष्ठ नागरिकको संख्या २१ लाख ५४ हजार छ । यो भनेको कूल जनसंख्याको ८ दशमलव १३ प्रतिशत हो ।
संयुक्त राष्ट्रसंघको सन् १९९० डिसेम्बर १४ मा बसेको महासभाले प्रस्ताव गरेअनुसार हरेक वर्ष अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउन थालिएको हो । सन् १९९१ देखि यो दिवस मनाउन थालिएको हो । यो वर्ष अक्टोबर १ अर्थात् असोज १५ गते ३२औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो । प्राकृतिक नियमअनुसार जीवनको उत्तरार्धमा पुगेपछि मानिसले क्रमशः शारीरिक अशक्तताको सामना गर्नुपर्ने हुन्छ । यो बेलामा श्रवणशक्ति, दृश्यशक्ति, स्मरणशक्ति र समग्र शारीरिक शक्ति पनि घट्दै जाने हुँदा जीवनको उत्तरार्धमा मानिसलाई घरपरिवार, समाज र राज्यको सहारा, सहयोग र संरक्षणको पनि आवश्यकता पर्न थाल्दछ ।
जीवनको ऊर्जाशील समयमा त्यही घरपरिवार, समाज र राज्यको प्रगति र समृद्धिका लागि अहोरात्र खट्ने मानिस जीवनको उत्तरार्धमा पुगेपछि अथवा वृद्धावस्थामा पुगेपछि भने त्यही घरपरिवार, समाज र राज्यको सहारा, सहयोग र संरक्षणको आवश्यकता पर्ने हुँदा कर्तव्यनिर्वाह र दायित्व निर्वाहको दृष्टिकोणले ज्येष्ठ नागरिकका लागि त्यस्तो सहारा, सहयोग र संरक्षण प्रदान गर्नु अपरिहार्य देखिन्छ । तर, वर्तमानमा देखिएको प्रवृत्तिगत यथार्थलाई विश्लेषण गर्दा जुन बेलामा ज्येष्ठ नागरिकहरूलाई घरपरिवार, समाज र राज्यको सहारा, सहयोग र संरक्षणको आवश्यकता पर्दछ, त्यही बेलामा उनीहरूले यी सबैबाट उपेक्षित हुनुपर्ने वा भइरहेको यथार्थ हाम्रो सामु छ ।
सासुबुहारीको खटपट र लोग्नेस्वास्नीबीचको सामान्य असमझदारीको विषयलाई घरेलु हिंसाको संज्ञा दिएर आन्दोलन गर्ने नारीवादीहरू र काठमाडौं शहरमा फोहोरमा प्लाष्टिक टिप्ने दुई-चारजना बालबालिकालाई जम्मा पारेर बालअधिकारको आवाज उठाउने गैरसरकारी संघसंस्थाहरू थुप्रै छन् ।
अहिलेको विश्वपरिप्रेक्ष्यलाई मध्यनजर गर्दा शिक्षा आर्जन, व्यक्तित्व विकास र आय आर्जनका लागि घरपरिवारका तन्नेरी पुस्ता अति व्यस्त हुने अथवा घरपरिवारबाट टाढा हुने परिपाटीले गर्दा पेशागत जीवनबाट निवृत्त भइसकेका अथवा अवकाशप्राप्त अथवा क्रियाशील जीवनबाट अलग भइसकेका ज्येष्ठ नागरिकहरूले एक्लोपनको सामना गर्नुपर्ने परिस्थिति दिन प्रतिदिन बढ्दै गइरहेको छ । हरेक क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गइरहेको वर्तमान समयमा आफूलाई प्रतिस्पर्धी क्षमतायुक्त बनाउन नसक्दा अवसरहरूबाट वञ्चित हुनुपर्ने भयले हरेक नयाँ पुस्ता त्यो प्रतिस्पर्धी क्षमता हासिल गर्नका लागि आफूलाई शिक्षा आर्जन, व्यक्तित्व विकास र आयआर्जनमा पनि प्रतिस्पर्धी क्षमतायुक्त बनाउन लालायित देखिन्छन् ।
यसका लागि उनीहरू घरपरिवारका आफूभन्दा अघिल्लो पुस्ताप्रति आफूले निर्वाह गर्नुपर्ने दायित्वलाई दोस्रो प्राथमिकतामा राखेरै भए पनि पहिलो प्राथमिकता भने आफ्नो भविष्यको सुनिश्चिततालाई दिन बाध्य भएका छन् । अवसरको प्राप्तिमा मात्रै होइन, शिक्षा आर्जन, व्यक्तित्व विकास र आय आर्जनमा पनि प्रतिस्पर्धा बढेको हुँदा कुनै परिवारका सदस्यको एकल आयले मात्रै जीवननिर्वाह कठिन बन्दैगएको सन्दर्भमा घरपरिवारका ज्येष्ठ नागरिकहरू आर्थिक दृष्टिकोणले निस्क्रिय रहने हुँदा उनीहरूलाई अनुत्पादक वर्ग र आर्थिक बोझको रूपमा हेर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । यतिमात्रै होइन, कहीँकतै यस्ता ज्येष्ठ नागरिकहरूलाई अपमान र दुव्र्यवहारसमेत गर्ने गरिएका दृष्टान्तहरू यत्रतत्र देख्न पाइन्छन् । पेशागत सफलता हासिल गरेका व्यस्त व्यक्तिहरूले नै आफ्ना अशक्त बाबुआमालाई वृद्धाश्रमसम्म पुर्याउने गरेका घटनाहरूले यी तथ्यहरूलाई पुष्टि गर्दै आएका छन् ।
जीवनको ऊर्जाशील समयमा घरपरिवार, समाज र राज्यको उन्नति, प्रगति र समृद्धिका लागि यथेष्ट योगदान गरिसकेका ज्येष्ठ नागरिकलाई यी सबै तह र तप्काले उचित कदर र सम्मान गर्नसक्नुपर्ने हो । तर, विडम्बना नै भन्नुपर्छ, त्यस्ता ज्येष्ठ नागरिकलाई घरपरिवार, समाज र राज्यले पनि उनीहरूका लागि अपरिहार्य सेवा र सुविधा उपलब्ध गराउन कन्जुस्याइँ गर्दै आएका छन् । जीवनको ऊर्जाशील समयमा जत्तिकै नभए पनि घरपरिवार र समाजको संरचनाभित्र ज्येष्ठ नागरिकहरूले यथोचित योगदान भने गरि नै रहेका हुन्छन् तर त्यो योगदानको पनि उचित मूल्यांकन र कदर हुन सकेको छैन । घर कुर्ने वा बच्चाबच्ची हेरिदिएर कामकाजी छोराबुहारीलाई ढुक्कले काममा जाने अवसर जुटाइदिनु पनि कम मूल्यवान कार्य होइन तर यस्तो कार्यको मूल्यांकन अझैसम्म हुन सकेको छैन ।
घरपरिवार, समाज र मुलुकमा आएका सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनले मुलुकको संस्कृति र सामाजिक मूल्यमान्यतामा पनि परिवर्तन हुने गरेको छ र यसको प्रत्यक्ष प्रभाव ज्येष्ठ नागरिकमाथि पर्ने गरेको छ । भौतिक दृष्टिकोणले मात्रै होइन, भावनात्मक दृष्टिकोणले पनि घरपरिवार अन्य सदस्य र ज्येष्ठ नागरिकबीचको सम्बन्धको दूरी बढ्दै गएको छ । यसो हुँदा ज्येष्ठ नागरिक बढी नै पीडित हुनेगरेका छन् भने सरकारले पनि ज्येष्ठ नागरिकको विषयलाई गम्भीरतापूर्वक लिने गरेको छैन । नागरिकले सधैँ सडकमा उत्रिएर आन्दोलन गरेपछि अथवा चक्काजाम र नेपालबन्दजस्ता कार्यक्रम गरेपछि मात्रै आँखा खोल्ने अथवा ध्यान दिने सरकारको प्रवृत्तिले गर्दा यस्तो गर्न नसक्ने ज्येष्ठ नागरिकहरूप्रति सरकार कहिल्यै संवेदनशील भएको पाइएन ।
सासुबुहारीको खटपट र लोग्नेस्वास्नीबीचको सामान्य असमझदारीको विषयलाई घरेलु हिंसाको संज्ञा दिएर आन्दोलन गर्ने नारीवादीहरू र काठमाडौं शहरमा फोहोरमा प्लाष्टिक टिप्ने दुईचारजना बालबालिकालाई जम्मा पारेर बालअधिकारको आवाज उठाउने गैरसरकारी संघसंस्था पनि थुप्रै छन् । तर, आफ्नै घरपरिवारमा आफ्नै छोराबुहारी र नातिनातिनीहरूको उपेक्षा सहेर रोई रोई बाँच्न विवस ज्येष्ठ नागरिकहरूका हक, अधिकार र उनीहरूको सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि आवाज उठाउने र कार्यक्षेत्रमा समर्पित भएर लाग्ने गैरसरकारी संघसंस्थाको हस्तक्षेपकारी उपस्थिति हुन नसक्नु भने विडम्बना नै भएको छ ।
नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेका र ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ ले व्यवस्था गरेका सेवा तथा सुविधा पनि मुलुकका ज्येष्ठ नागरिकहरूले सुलभ र सहजरूपमा प्राप्त गर्न सकेका छैनन् । यस्तो सेवा तथा सुविधा प्रदान गर्नमा स्वयं राज्य नै उदासिन रहँदै आएको छ । यसो हुँदा आन्दोलन गरेपछिमात्रै सरकारले चासो लिने प्रवृत्तिलाई पछ्याउँदै मुलुकका झण्डै २५ लाख ज्येष्ठ नागरिकहरूको प्रतिनिधित्व गर्दै काठमाडौंमा बसोबास गर्ने केही ज्येष्ठ नागरिकहरूले २०६९ साल फागुन २३ गतेदेखि झण्डै १६ महिनासम्म आन्दोलन गरेका थिए ।
जनताको सेवा गर्छु भन्ने जनप्रतिनिधि र राज्यको समेत उपेक्षामा परेका ज्येष्ठ नागरिकहरूले लौरो टेकेर सडक आन्दोलनमा उत्रिएर आफ्ना हक, अधिकार र सेवासुविधाको माग गर्नुपर्ने परिस्थिति सिर्जना हुनु लाजमर्दो कुरा हो भने यो अवस्था लोककल्याणकारी अवधारणा अनुसार चल्ने भनिएका कुनै पनि सरकारका लागि कठोर व्यंग्य हो । अतः मुलुकमा गणतन्त्र स्थापना भइसकेको र लोक्तान्त्रिक शासनपद्धपति कायम रहेको भनिएको अवस्थामा संविधानप्रदत्त हक, अधिकार र ऐनले प्रत्याभूत गरेका सेवा तथा सुविधा मुलुकका हरेक नागरिकलाई प्रदान गर्न राज्य सक्षम हुनुपर्दछ । ज्येष्ठ नागरिकका सम्बन्धमा त राज्य झनै गम्भीर हुनुपर्छ ।
मुलुकका ज्येष्ठ नागरिकहरूले उठाएका मागहरू नाजायज थिएनन् र राज्यले त्यसलाई सम्बोधन गर्न नसक्ने अवस्था पनि छैन । सार्वजनिक सवारीसाधनमा भाडा छुट, सिट आरक्षण, अस्पतालमा छुट्टै ज्येष्ठ नागरिक वार्डको व्यवस्था, निःशुल्क उपचार, ज्येष्ठ नागरिक स्वास्थ्य उपचार कोषको परिचालन, ज्येष्ठ नागरिक भत्तामा वृद्धि, सार्वजनिक सेवाका लागि कुर्न नपर्ने व्यवस्था, वृद्धावस्थासम्बन्धी राष्ट्रिय सर्वेक्षण, परिचयपत्रको व्यवस्था र ज्येष्ठ नागरिक आयोग गठन गर्नुपर्ने जस्ता माग नाजायज थिएनन् र ती मागहरूलाई सम्बोधन गर्न असम्भव पनि थिएन । राज्य सबै नागरिकहरूप्रति उत्तिकै संवेदनशील छ भने ज्येष्ठ नागरिकप्रति गम्भीर हुनैपर्छ ।
ज्येष्ठ नागरिकप्रतिको कर्तव्य र जिम्मेवारी पूरा नगर्ने सन्तानप्रति उजुरीदेखि कडा कारबाहीसम्मको व्यवस्था ऐनमा गरिएको छ । यद्यपि आफूलाई जन्म दिने बाबुआमालाई हेरविचार गर्न पनि कानुन नै चाहिने परिस्थिति सिर्जना हुनु विडम्बना नै हो ।
पछिल्लो समय ज्येष्ठ नागरिकको जीवनयापनलाई सुरक्षित र मर्यादित बनाउन राज्यले कानुनी रूपमै बलियो व्यवस्था गरेको छ । यद्यपि यसको कार्यान्वयन पक्षमा भने चुनौती देखिन्छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गरेर ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन २०७९’ लाई प्रमाणीकरण गरी गत भदौ ५ गतेको राजपत्रमा प्रकाशित गरेको छ । यो ऐनले साबिकका व्यवस्थालाई संशोधन गरी ज्येष्ठ नागरिकप्रति सन्तानदेखि सरकारसम्मलाई थप जिम्मेवार बनाएको छ ।
ज्येष्ठ नागरिकप्रतिको कर्तव्य र जिम्मेवारी पूरा नगर्ने सन्तानप्रति उजुरीदेखि कडा कारबाहीसम्मको व्यवस्था ऐनमा गरिएको छ । यद्यपि आफूलाई जन्म दिने बाबुआमालाई हेरविचार गर्न पनि कानुन नै चाहिने परिस्थिति सिर्जना हुनु विडम्बना नै हो । ज्येष्ठ नागरिकको सुरक्षित र मर्यादित जीवनयापन तथा उनीहरूको सम्मानमा परिवार, समाज र राज्य सधैँ तत्पर रहनुपर्छ । किनभने ज्येष्ठ नागरिक भनेका परिवार, समाज र देशका आदर्श हुन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका