रुपन्देहीका ५ प्रतिनिधिसभा सदस्यतर्फ ८६ र प्रदेशमा १० क्षेत्रमा ११२ जनाको उम्मेदवारी

हिमालय टाइम्स
Read Time = 5 mins

-चन्द्रकान्त खनाल

रुपन्देही । रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै १० क्षेत्रमा प्रदेशसभातर्फ ११२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाण, एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल बिक, कांग्रेस नेता भरत शाह, प्रमोद यादव, राप्रपाका दीपक बोहोरा, लोसपाका सर्वेन्द्रनाथ शुक्लालगायत रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका छन् ।

एमाले छाडेका घनश्याम भुसाल, डा. निकोलस भुसाल, प्रख्यात बन्जाडेलगायतले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या राजभण्डारीका अनुसार क्षेत्र १ मा प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ २३ जनाको उम्मेदवारी परेको छ । प्रदेश (क) मा १० र (ख) मा १३ जनाले उम्मेदवारी दिएका छन् ।

२०७४ मा यो क्षेत्रबाट एमाले लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जित्नुभएकाे थियाे । यसपटक पनि एमालेबाट छविलालले उम्मेदवारी दर्ता गराउनु भएकाे छ । यहाँ यसपटक एमाले परित्याग गरेका घनश्याम भुसाल सत्ता गठबन्धनको साथमा स्वतन्त्र रुपमा मैदानमा आउनु भएकाे छ ।

रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ १६ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ २१ जनाले उम्मेदवारी दिएका छन् । (क) प्रदेशमा ११ र (ख) प्रदेशमा १० जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा लगातार तेस्रो पटक एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जित्नुभएकाे छ ।

क्षेत्र नम्बर ३ मा संघमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गृहमन्त्री बालकृष्ण खाणदेखि एमालेको समर्थनमा राप्रपाका नेता दीपक बोहरासम्मको उम्मेदवारी परेको हो । यहाँ प्रदेशसभातर्फ २४ जनाको उम्मेदवारी परेको छ ।

प्रदेशसभा (क) र (ख) मा १२/१२ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ १३ जना र प्रदेशसभातर्फ १८ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा कांग्रेसका प्रमोद यादव, लोसपाका सर्वेन्द्रनाथ शुक्ला, जनमत पार्टीका सचिव भूपेन्द्र यादवको उम्मेदवारी परेको छ । यस्तै प्रदेशसभा (क) मा ६ र (ख) मा १२ गरी १८ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै रुपन्देही क्षेत्र ५ मा प्रतिनिधिसभातर्फ १५ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभातर्फ (क) र (ख) मा १३/१३ जनाको उम्मेदवारी परेको छ । यहाँ लगातार कांग्रेसका भरत शाहले जित्नभएकाे छ । अहिले पनि शाहसँगै एमालेबाट दुई जनाको उम्मेदवारी परेपछि यो क्षेत्रले थप चर्चा पाएको छ । एमालेका खिमलाल भट्टराई र वासुदेव घिमिरेको उम्मेदवारी परेपछि निर्वाचन आयोगले छानबिन गर्ने जनाएको छ ।

रुपन्देही ५ मा माओवादी र कांग्रेसको गठबन्धन भए पनि प्रदेश (क) माओवादीको भागमा नेता विनोद पहाडीका विरुद्ध कांग्रेसका विष्णु पोखरेलले उम्मेदारी दर्ता गरेपछि माओवादीले पनि भरत शाहको ठाउँमा नेता दीपिका शर्मा लम्सालको उम्मेदारी दर्ता गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?