अष्ट्रेलियामाथि इंग्ल्याण्डको रोमाञ्चक जित

Read Time = 4 mins

मेलबर्न । इंग्ल्याण्डले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियामाथि ८ रनको रोमाञ्चक जित हात पारेको छ । योसँगै तीन टी-२० को शृंखलामा इंग्ल्याण्डले १-० को अग्रता लिएको छ । जितका लागि २०९ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै दुई सय रन बनायो । अष्ट्रेलियाका ओपनर डेविड वार्नरले ४४ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७३ रन बनाउनुभयो ।

यस्तै, ओपनर क्यामरन ग्रिन १ रनमै आउट हुनुभयो । मिचेल मार्श २६ बलमा ३ चौका र २ छक्कासहित ३६, आरोन फिन्च १२, टिम डेविड डक र म्याथ्यु वेड २१ रनमा आउट हुनुभयो । वेडले १५ बलमा १ चौका र १ छक्का प्रहार गर्नुभयो ।

यस्तै, मार्कस स्टोइनिस १५ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा आउट हुनुभयो । इंग्ल्याण्डका मार्क वुडले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिनुभयो । साम करनले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिनुभयो । रिस टोप्लीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिनुभयो ।
त्यसअघि पर्थ स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । इंग्ल्याण्डका ओपनर एलेक्स हेल्सले ५१ बलमा १२ चौका र ३ छक्कासहित सर्वाधिक ८४ रन बनाउनुभयो ।

कप्तान जस बटलरले ३२ बलमा ८ चौका र ४ छक्कासहित ६८ रनमा आउट हुनुभयो । पहिलो विकेटका लागि हेल्स र बटलरले ११.२ ओभरमा १ सय ३२ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गर्नुभएको थियो ।

तीव्र गतिका बलर नाथन एलिसको बलमा बटलर केन रिचर्ड्सनबाट क्याच हुनुभएको थियो । रिचर्ड्सनले टिम डेविडबाट क्याच गराएपछि हेल्स टी-२० आई करिअरको दोस्रो शतक हान्न १६ रनले चुक्नुभएको थियो । बेन स्टोक्स ९, हृयारी ब्रुक १२, मोइन अली १० र साम करन २ रनमा आउट हुनुभयो । क्रिस बोक्स ५ बलमा १ चौका र १ छक्कासहित १३ र डेविड मलान २ रनमा अविजित रहनुभयो ।

सुरुवाती १० ओभरमा ११८ रन बनाएको इंग्ल्याण्डले अन्तिम १० ओभरमा ६ विकेट गुमाउँदै ९० रनमात्रै जोड्यो । अष्ट्रेलियाका नाथन एलिसले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिनुभयो । केन रिचर्ड्सन, ड्यानिल साम्स र मार्कस स्टोइनिसले एक÷एक विकेट लिनुभयो । दोस्रो खेल बुधबार र तेस्रो खेल आइतबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?