रोनाल्डोको ७०० औं गोल

Read Time = 2 mins

लण्डन । क्रिस्टियानो रोनाल्डोले क्लब करिअरमा कीर्तिमानी सात सय गोल पूरा गरेको खेलमा म्यानचेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ । युनाइटेडले एभर्टनमाथि २-१ को पुनरागमन जित निकालेको हो । एक गोल एन्टोनीको नाममा रहृयो । एभर्टनका एलेक्स इओवीको गोल सान्त्वना बन्यो ।

आइतबार राती भएको खेलको पाँँचौं मिनेटमा इओवीले गोल गर्दै एभर्टनलाई अग्रता दिलाउनुभएको थियो । १५औं मिनेटमा एन्टोनीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । उहाँले एन्थोनी मार्सियालको पासमा गोल गर्न सफल हुनुभयो ।

४४औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २-१ ले अघि बढाउनुभयो । यो सिजनमा रोनाल्डोको यो पहिलो गोल हो । यस सिजन प्रिमियर लिगमा पहिलो रोजाइमा विरलै अवसर पाउनुभएका ३७ वर्षे रोनाल्डोले सातौं खेलमा आएर क्यासमिरोको पासमा गोल गर्नुभएको हो । यससँगै उहाँले व्यावसायिक खेल करिअरमा सात सय गोलको आँकडा पूरा गर्नुभएको छ । उहाँले ९४५ खेलमा ७०० गोलको आँकडा पार गर्नुभएको हो ।

रोनाल्डोले स्पोर्टिङ सिपीबाट ३१ खेलमा ५ गोल, म्यानचेस्टर युनाइटेडबाट २९२ खेलमा ११८ गोल, रियल म्याड्रिडबाट ४३८ खेलमा ४५० गोल र युभेन्ट्सबाट १३४ खेलमा १०१ गोल गर्नुभएको छ । गत सिजन युनाइटेड फर्किनुभएका रोनाल्डोले यस सिजनसहित ४८ खेलमा २६ गोल गर्नुभएको छ ।

यस जितसँगै युनाइटेड आठ खेलबाट १५ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन १० अंक जोडेर १२औं स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?