जाहेरवाला नाबालिग नभएको सन्दीपको दाबी

सात दिन हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्बिर

यज्ञराज पाण्डे
Read Time = 9 mins

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व-कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी सात दिनका लागि म्याद थप गर्ने अनुमति दिएको हो ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि सन्दीपलाई गत बिहीबार प्रहरीले विमानस्थलबाट पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराएको थियो । दशैँ बिदाका कारण अदालत बन्द रहेकाले उनलाई सोमबार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई सात दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको हो ।

जाहेरवालीको उमेर विवादमा अदालतमै उठ्यो प्रश्न, वकिल भने अनभिज्ञ
प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् । प्रहरीले लामिछानेलाई म्याद थपका लागि सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने क्रममा न्यायाधीश दयाराम ढकालले सन्दीपलाई घटनाबारे सोध्नुभएको थियो । त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका थिए ।

सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको उनका वकिलले दाबी गरेका हुन् । सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालतबाहिर पत्रकारसँग कुरा गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गर्नुभएको हो । ‘उहाँले दुईवटा जन्मदर्ता बनाएको देखिएको छ । सिलसिलाबद्ध रूपमा उहाँ (सन्दीप) लाई फसाउन खोजिएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘उहाँले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ । त्यो प्रमाण पेस गर्छौं । उहाँ (सन्दीप) निर्दोष हुनुहुन्छ ।’

सन्दीप लामिछानेले इजलासमा पनि न्यायाधीश ढकालसमक्ष आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको अर्का वकिल सरोजकृष्ण घिमिरेले बताउनुभयो । पीडितका कागजातबारे भने आफू अनभिज्ञ रहेको उहाँको भनाइ छ । ‘उमेरको विषयमा म अझै अनभिज्ञ छु । मसँग कागजातहरू भएन । मैले अर्को वकिलसँग बुझ्न पनि पाएको छैन,’ उहाँले भन्नुभयो, ‘सन्दीपले श्रीमान्समक्ष बाटोमा कुराकानी हुँदा पीडितले आफू चाहिँ १९ वर्षकी हुँ भनेर तीनचोटिसम्म भनेको भनेर भन्नुभएको छ ।’

त्यस्तै, यस मुद्दालाई चाँडो टुंगोमा पु¥याउन पनि वकिलहरूले माग गरेका छन् । ‘सन्दीप एक व्यक्ति मात्रै नभएर संस्थासमेत भएकाले हामीले यस मुद्दालाई फास्ट ट्र्याकमा लग्नुपर्छ भनेर माग गरेका थियौँ । एकतर्फको अनुसन्धान सकिसकेको छ । अब सन्दीपको बयान लिन धेरै समय लाग्दैन,’ घिमिरेले भन्नुभयो, ‘प्रहरीले पक्राउ परेको दिनदेखि १० दिन हिरासतमा राख्न अनुमति माग्नुभएको थियो । त्यसमा अब्जेक्सन गरेका थियौँ । पक्राउ परेको दिनदेखि भनेको हुँदा हामीले केही भनेनौँ । सात दिनको म्याद दिनुभयो ।’

किशोरीकै आग्रहमा भेट्न गएको सन्दीपको भनाइ, गोपनीयता हनन भएको भन्दै आपत्ति
राष्ट्रिय क्रिकेट टिमका पूर्व-कप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो । लामिछानेले इजलासमा त्यसको प्रतिकारसमेत गरेका छन् । आफैँले बोलाएर नभई पीडित भनिएकी युवतीले नै बोलाएपछि गएको सन्दीपले बयान दिएको वकिल घिमिरेले बताउनुभयो ।

‘मैले चाहिँ क्याम्पमा जान ढिलो भइसक्यो । बिहानै जानुपर्ने, हुँदैन बरु दरबारमार्गमा गएर कफी खाऔँ भन्दा पनि अत्ति जिद्दी गरेपछि फ्यानको हिसाबले ठिकै छ खाजा मात्रै खाएर फर्किने सर्तमा हामी गयौँ,’ सन्दीपको भनाइ उद्धृत गर्दै घिमिरेले भन्नुभयो, ‘त्यहाँ जाने बेलामा पनि मेरो होस्टेल जतिबेला पनि खुला हुन्छ भन्नुभयो । तर, फर्किनेबेलामा यतिबेला बन्द हुन्छ । जान मिल्दैन भन्नुभयो ।’ सन्दीपले साथीहरूसँगकै सल्लाहमा भेटेको र युवतीकै जिद्दीका कारण नगरकोट पुगेको अदालतमा बताएका छन् । त्यसक्रममा आफूले पटक-पटक उमेर सोधेको पनि सन्दीपले बताए । ‘सन्दीपजीले आफूले बारम्बार उमेरको बारेमा सोधेको बताउनुभएको छ । पीडितले विशेष कारणले नागरिकतामा कम उमेर भएको तर आफू १९ वर्ष भएको बताएकी रहिछन्,’ अधिवक्ता घिमिरेले भन्नुभयो ।

लामिछानेले आफ्नो गोपनीयताको हनन भएको भन्दै त्यसमा समेत आपत्ति जनाएका छन् । अधिवक्ता घिमिरेका अनुसार इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए । जवाफमा न्यायाधीश ढकालले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाउनुभएको छ ।

के थियो घटना ?
भदौ ५ गते १७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा लामिछानेले पटक-पटक बलात्कार गरेको आरोप लागेको छ । भदौ ६ गते बिहान होटलबाट निस्केका लामिछाने सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए । उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए । उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरुद्ध जाहेरी परेको थियो । ती किशोरीले साउन २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । उजुरी परेपछि उनी त्यहाँबाट क्यारेबीयन लिग नखेली फर्किएका थिए । लामो समयसम्म सन्दीप नेपाल नआएपछि प्रहरीले डिफ्युजन नोटिस जारी गरेको थियो । प्रहरीले उनलाई गत बिहीबार (असोज २० गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उक्त कसुर पुष्टि भएमा १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ । अब लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?