नेपालको राजनीतिमा पाको उमेरकै नेताहरूको हालीमुहाली, तीन दशकदेखि निरन्तर उम्मेदवारी

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता भएसँगै राजनीतिक चहलपहल तीव्र हुन थालेको छ । राजनीतिक दलहरूले आसन्न निर्वाचनको लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गरेसँगै टिकट निश्चित भएका उम्मेदवारहरू मतदाताको बीचमा जान थालेका छन् । निर्वाचनको महत्वपूर्ण पाटो उम्मेदवारी दर्ता सम्पन्न भएपछि आम-मतदातासमेत जितहारको अड्कलबाजी गर्न थालेका छन् । मुलुकको राजनीतिमा पछिल्लो समय राजनीतिमा पुस्तान्तर र हस्तान्तरको चर्को बहस भइरहँदा उम्मेदवारी मनोनयन दर्ताको क्रममा राजनीतिक दलका नेता तथा कार्यकर्तामा मिश्रित प्रतिक्रिया देखिएको छ । राजनीतिक दलहरू आंशिक रूपमा युवापुस्तालाई समेट्न केही हदसम्म बाध्य भए पनि आसन्न निर्वाचनपछि पनि ज्येष्ठ नागरिक उमेरका नेताहरूको नै हालीमुहाली हुने देखिएको छ ।

युवा उम्मेदवारलाई ठाउँ नदिएर आफैँ लालायित
मुलुकको राजनीतिमा फेरि पाका राजनीतिककर्मीकै हालीमुहाली हुने देखिएको छ । ठूला पार्टीका वृद्ध उमेरका प्रशस्त नेताहरू आसन्न चुनावी मैदानमा होमिनुभएको छ । तत्कालीन प्रतिनिधिसभाका सदस्यमध्ये ६० सदस्य उमेरले ६५ माथि नाघिसकेका थिए । यसपटक पनि उनीहरूको उम्मेदवारी परेको छ । उनीहरू दलका आफ्ना युवा उम्मेदवारलाई ठाउँ दिनुभन्दा पनि आफैँ उम्मेदवार बन्न लालायित देखिएका छन् । उमेरका हिसाबले सबैभन्दा पाका राजनीतिकर्मी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर ८० वर्ष पुगिसक्नु भएको छ । ठाकुर यसपालि पनि चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ । ठाकुरले सत्ता गठबन्धनबाट महोत्तरी–३ मा उम्मेद्वारी दिनुभएको छ । यसपालि पनि विजयी भएमा सम्भवतः ठाकुर ज्येष्ठ सदस्यको हैसियत प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालन र सांसदहरूलाई शपथ खुवाउनु हुनेछ ।

सोही उमेरको हाराहारीमा रहनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि बाग्लुङ १ बाट उम्मेदवारी दिनुभएको छ । ठाकुर र केसी मात्र होइन ठूला पार्टीका वृद्ध उमेरका प्रशस्त नेताहरू आसन्न चुनावी मैदानमा होमिनुभएको छ । ७६ वर्षीय नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो गृहजल्ला डडेल्धुराबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

२०४८ सालदेखि डडेल्धुराबाट विजयी हुँदै आउनुभएका देउवाले संसदीय चुनावी प्रतिस्पर्धामा पराजयको सामना गर्नुपरेको छैन । गोरखा–२ बाट उम्मेदवारी दिनुभएका ६७ वर्षीय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी नेतृत्व वृत्तमा निरन्तर रहनुभएको छ । ७१ वर्षीय एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । ७० वर्षीय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट १ बाट उम्मेदवारी दर्ता गराउँदा सोही पार्टीका सम्मानित नेता ७६ वर्षीय झलनाथ खनालले इलाम १ बाट उम्मेदवारी दिनुभएको छ ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ६९ वर्षीय ईश्वर पोखरेलले काठमाडौं ५ बाट उम्मेदवारी दिँदा अर्का उपाध्यक्ष ७० वर्षीय सुवास नेम्वाङले इलाम २ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । ७६ वर्षीय लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्णले पर्सा १ बाट उम्मेदवारी दिनुभएको छ । भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचराधीन रहेकै अवस्थामा ६९ वर्षीय कांग्रेस नेता विजयकुमार गच्छदारले सुनसरी-३ बाट उम्मेदवारी दिनुभएको छ । ६८ वर्षीय कांग्रेस नेतृ सुजाता कोइरालाले मोरङ–२ बाट उम्मेदवारी दिनुभएको छ । यस्तै, पाको उमेरका नेताहरू रामचन्द्र पौडेल, डा.नारायण खड्कालगायत धेरै ज्येष्ठ नेताहरू आसन्न निर्वाचनको मैदानमा उत्रिनुभएको छ ।

यी हुन् निरन्तर उम्मेदवार बन्दै आएका नेता
विक्रम संवत् २०१५ सालको पहिलो संसदीय निर्वाचनबाट राजनीतिक दलहरूले सामान्य अभ्यास गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले आफ्नो हातमा शासन लिनुभयो । त्यसबाट मुक्ति पाउन नेपाली जनता र राजनीतिक दलहरूले ३० वर्ष लामो संघर्ष गर्नुप¥यो । २०४६ को जनआन्दोलनसँगै मुलुकमा प्रजातन्त्र पुनःस्थापना भयो । प्रजातन्त्रको पुनःस्थापनापछि २०४८ सालमा संसदीय निर्वाचन भयो । त्यसयता निरन्तर चुनावी प्रतिस्पर्धा गर्ने कांग्रेस र एमालेसहित विभिन्न राजनीतिक दलका नेताहरूको संख्या उल्लेख्य छ । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार, नेता अर्जुननरसिंह केसी, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरू २०४८ पछिका सबै संसदीय निर्वाचनमा निरन्तर उम्मेदवार बन्दै आउनुभएको छ । तीमध्ये सभापति देउवा र नेता गच्छदार २०४८ को संसदीय निर्वाचनयताका सबै चुनाव जित्दै आउनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता लालबाबु पण्डित ०४८ सालमै निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेसका नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, बालकृष्ण खाँण, पूर्णबहादुर खड्का, दिलेन्द्रप्रसाद बडू पनि २०४८ को निर्वाचनमै निर्वाचित हुनुभएको थियो । कतिपय नेताहरूले राजनीतिक दल र निर्वाचन क्षेत्र फेरे पनि उनीहरूले तीन दशकदेखि निरन्तर उम्मेदवारी दिँदै आएका छन् । नेकपा एमालेबाट चोइटिएर अहिले नेकपा एसमा रहनुभएका झलनाथ खनाल, राजेन्द्रप्रसाद पाण्डे, विरोध खतिवडा सहितका नेताहरू पनि निरन्तर उम्मेदवार बन्ने नेताको सूचीमा पर्छन् । ०४८ को संसदीय निर्वाचनमा एमालेबाट चुनाव जित्नुभएका अशोक राई अहिले जसपाबाट उम्मेदवार बन्नुभएको छ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पनि २०४८ सालयता लगातार चुनाव लडिरहनु भएको छ । यो अवधिमा त्रिपाठीले पटकपटक पार्टी परिवर्तन गरे पनि चुनाव लड्न भने छोड्नुभएको छैन ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर पनि २०४८ सालयता सबै चुनावमा लगातार उम्मेदवारी दिँदै आउनुभएको छ । २०४८, २०५१ र २०५६ सालसम्म कांग्रेसबाट चुनाव लड्नुभएका ठाकुरले २०६४ मा आफ्नै अध्यक्षतामा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेर २०६४ र २०७० को संविधानसभा चुनाव लड्नुभयो । २०७४ सालको संसदीय निर्वाचन आफ्नै अध्यक्षताको राष्ट्रिय जनता पार्टीबाट लड्नुभएका ठाकुर आसन्न निर्वाचन भने आफ्नै नेतृत्वमा रहेको लोसपाबाट उम्मेदवारी दिनुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि २०४८ सालदेखि चुनाव लडेको अनुभव छ । २०४८ सालमा नेकपा एमालेबाट सुनसरी–२ मा उम्मेदवारी दिनुभएका यादवले त्यसपछि २०४८, २०५१ र २०५६ मा उम्मेदवारी दिनुभएन । तर, २०६४ यताका निर्वाचनमा अध्यक्ष यादव निरन्तर उम्मेदवारी दिँदै आउनुभएको छ ।

लोसपाका नेता शरतसिंह भण्डारी पनि २०४८ सालयता निरन्तर उम्मेदवारी दिँदै आउनुभएको छ । २०४८ र २०५१ मा कांग्रेसबाट उम्मेद्वार हुनुभएका भण्डारी २०५६ को निर्वाचनमा स्वतन्त्रबाट चुनाव लड्नुभयो । त्यसपछि २०६४, २०७० र २०७४ मा भएको निर्वाचनमा पनि उम्मेदवार बन्नुभएका भण्डारी आसन्न निर्वाचनमा लोसपाबाट उम्मेदवार बन्नुभएको छ । लोसपाका अर्का नेता लक्षमणलाल कर्णसँग पनि २०४८ मा चुनाव लडेको अनुभव छ । २०४८, २०५१ र २०५६ मा नेपाल सद्भावना पार्टीबाट उम्मेदवार बन्नुभएका कर्ण २०७० को निर्वाचनमा समानुपातिकतर्फ सांसद हुनुभयो । आसन्न निर्वाचनमा पनि उहाँले पर्सा १ बाट उम्मेदवारी दिनुभएको छ । लोसपाका नेताद्वय राजेन्द्र महतो र अनिल झा पनि २०५१ सालको निर्वाचनदेखि हालसम्म निरन्तर चुनाव लड्दै आउनुभएको छ । ०४८ मा कांग्रेसबाट निर्वाचन जित्नुभएका गोविन्दराज जोशीले आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी नौ प्रतिशत मात्र
आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारीमा महिलाको संख्या न्यून देखिएको छ । संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर, प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि आइतबार मनोनयन गराएका उम्मेदवारमध्ये नौ प्रतिशत हाराहारी मात्रै महिला छन् । उम्मेदवार चयनको प्रक्रिया सुरु नहुँदै महिला नेताले सडकदेखि सदनसम्म प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने सवाल उठाउँदै आए पनि राजनीतिक दलहरूले प्रत्यक्ष उम्मेदवारीमा कन्जुस्याइँ गरेका छन् । निर्वाचन आयोगले पनि दलहरूलाई एकतिहाइ सिटमा महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको थियो । तर, दलहरूले सार्वजनिक बहस र आयोगको निर्देशन समेतलाई लत्याउँदै उम्मेदवार चयनमा पुरानै प्रवृत्ति दोहो¥याएका छन् । संसद्मा महिलाको हिस्सा एकतिहाइ पु¥याउन दलहरूले फेरि पनि समानुपातिक उम्मेदवारबाटै बढी प्रतिनिधित्व गराउनुपर्ने भएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ सिटमा देशभरबाट दुई हजार ४५२ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये महिला उम्मेदवारको संख्या २२९ मात्रै छ । प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटमा तीन हजार ३२६ जनाको उम्मेदवारी परेकामा महिला २८६ जना मात्रै छन् । कुल उम्मेदवारमध्ये महिलाको संख्या प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९.३३ प्रतिशत र प्रदेशसभामा ८.५९ प्रतिशत मात्रै छ । नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबाट २५ जना महिलाले मात्र प्रत्यक्षतर्फ चुनाव लड्ने मौका पाएका छन् । प्रतिनिधिसभातर्फ एमालेले ११, माओवादी केन्द्रले सात, कांग्रेसले पाँच, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक/एकजना महिलालाई उम्मेदवार बनाएका छन् । दलहरूले एउटै निर्वाचन क्षेत्रमा महिला-महिलाबीच प्रतिस्पर्धा हुने गरी उम्मेदवारी दिएका छैनन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले मकवानपुर-१ र केन्द्रीय सदस्य सीता गुरुङले तेह्रथुम, पूर्व-उपसभामुख पुष्पा भुसालले अर्घाखाँची, पूर्व-उपप्रधानमन्त्री सुजाता कोइरालाले मोरङ-२ र पूर्व-कोषाध्यक्ष चित्रलेखा यादवले सिरहा-२ बाट उम्मेदवारी दिनुभएको छ ।
नेकपा एमालेबाट भगवती चौधरीले सुनसरी-३, पद्माकुमारी अर्यालले स्याङ्जा-२, विद्या भट्टराईले कास्की-२, शान्ता चौधरीले दाङ-१, कोमल वलीले दाङ-३, नीरुदेवी पालले कञ्चनपुर-३, मञ्जु शर्मा चालिसे बागलुङ-२, जुलीकुमारी महतो धनुषा-३, ज्वालाकुमारी साह बारा-३ र गौरी वलीले डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।
यस्तै, माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर-३, पूर्व-सभामुख ओनसरी घर्तीले काठमाडौं-२, मानुषी यमी भट्टराईले काठमाडौं-७ र पोलिटब्युरो सदस्य कल्पना धमलाले काठमाडौं-९, बिना मगरले कञ्चनपुर-१, रेखा शर्माले दाङ-२ र गोमा कुँवरले जुम्लाबाट उम्मेदवारी दिनुभएको छ ।

नेकपा एकीकृत समाजवादीकी सचिव पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी-२ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्युठानबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ महिलालाई उम्मेदवार बनाएको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापाले मोरङ-३ बाट उम्मेदवारी दिनुभएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । ०७४ मा काठमाडौं महानगरपालिका प्रमुखको निर्वाचनमा लोकप्रिय मत प्राप्त गर्नुभएकी रञ्जु दर्शनाले यसपटक काठमाडौं-५ मा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?