म्याग्दी । बेनी नगरपालिका-१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ-बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ ।
स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका-१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा-बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरै ठाउँमा पहिरो तथा हिलोका समस्या भएकाले म्याग्दी र मुस्ताङ आवतजावत गर्ने धेरै सवारीसाधनले विकल्पमा बागलुङ-बेनी सडक प्रयोग गर्दै आएका छन् ।
पहिराका कारण सडक दबेर भासिएपछि हिलोमा सवारीसाधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ । एक हप्तायता रइनेडाँडाको पहिराले दैनिकजसो घण्टौँसम्म बेनी-बागलुङ सडक अवरुद्ध हुन थालेको सवारी चालक गोविन्द बानियाँले बताउनुभयो ।
‘ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिराको सडक पार गराए पनि बस, ट्रक, माइक्रोबस हिलो र चिप्लो अनि उकालो सडक उक्लन नसकेर जाम हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘दुर्घटनाको जोखिमका साथै सास्ती भएको छ ।’
सोमबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म सो ठाउँमा सडक अवरुद्ध बनेको थियो । दैनिकजसो यस्तै समस्या हुने गरेको यातायात व्यवसायी र यात्रुले बताएका छन् । यात्रु प्रकाश अधिकारीले यात्रु समयमा गन्तव्यमा पुग्न नसकेर बिचल्लीमा परेका बताउनुभयो ।
‘जंगलको बीचमा घण्टौँ जाममा फस्नुपर्दा खानेकुरा र पानी नपाउने, शौचालयको समस्या छ’, उहाँले भन्नुभयो, ‘बिरामीलाई समयमा अस्पताल पुर्याउन समस्या भएको छ । वृद्धवृद्धा, बालबालिकाको झनै बिचल्ली भएको छ ।’
केही दिनयता रुइनेडाँडाको पहिरो सक्रिय भएर करिब २० मिटर सडक भासिएर ग्रेड नमिलेको र बेनीबाट बागलुङतर्फ जानेक्रममा सवारीसाधन उक्लन नसकेर फस्ने गरेका बेनपा-१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।
‘पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको क्रममा रहेको सडकका ठेकेदार र नगरपालिकाले भाडामा लिएको ब्याकुहोलोडर प्रयोग गरेर फसेका सवारीसाधन निकाल्ने र मर्मत गर्ने गरेका छौँ’, उहाँले भन्नुभयो ‘आज बनायो, भोलि फेरि उस्तै हुन्छ । डोजरलाई यहीँ तयारी अवस्थामा राखेर तत्कालै मर्मतको व्यवस्था मिलाउन पहल गरेका छौँ ।’ कालीगण्डकीको किनारबाट सडकभन्दा माथिसम्म पहिरो छ । यसलाई नियन्त्रणका लागि छुट्टै योजना माग गर्ने वडाध्यक्ष थापाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच