जित्ने नेताहरू, हार्ने देश र जनता

Read Time = 19 mins

✍️ देवीभक्त ढकाल

हाम्रा सबै पार्टीका नेताहरूले आगामी निर्वाचन मेरो पार्टीले मात्रै जित्छ र सरकार बनाउँछौँ भन्न थालेको वर्ष दिन पनि नाघ्यो होला । ठूला भनिएकादेखि झिनामसिनासम्मका पार्टीका नेता भनिनेहरू पनि अब हाम्रो पार्टी निर्वचनपछि सबैभन्दा ठूलो पार्टी हुन्छ भन्न पटक्कै लजाउँदैनन् । राजनीतिक दलहरूका नेताहरूको पहिलोबाहेक दोस्रो नहुने अविश्वसनीय अभिव्यक्ति लोकतान्त्रिक मर्यादा र चरित्रको चीरहरण हो । निर्वाचन जनताको फैसला हो । हामीलाई विश्वास छ जनताले हाम्रो पार्टीलाई कामको जिम्मेवारी दिन्छन् भन्नेजस्ता प्रजातान्त्रिक शब्द र भाषा नेताहरू प्रयोग नै गर्दैनन् ।

निर्वाचनको परिणामले पहिलो को हुन्छ अहिले नै भन्न सकिँदैन तर एउटा कुरा ठोकेर भन्न सकिन्छ निर्वाचनमा जुन दल पहिलो हुन्छ ऊ भ्रष्टाचारमा, ढुकुटी दुरुपयोगमा पनि पहिलो हुन्छ । दलीय व्यवस्थामा दल र नेता देशका लागि आवश्यक हुन्छ तर सबै खराब प्रमाणित हुनु देश र जनताको दुर्भाग्य हो । किनकि राजनीति गर्नेहरूले लाज जति सबै पैँचो दिएर त्यसको क्षतिपूर्ति धनबाट गरेका छन् । धनले साथ दिने बित्तिकै मानिस निर्घिणी र निर्लज्ज हुन कुनै अप्ठ्यारो मान्दो रहेनछ । पैसा वा धनसँगको निकटतम सम्बन्धले इमानदारी र सहकर्मीहरूसँग सजिलै सम्बन्ध विच्छेद गर्ने शक्ति दिने रहेछ । परिणामस्वरूप नेताले जित्ने जनताले हार्ने हुँदोरहेछ ।

अहिले जनतासँग के एजेण्डामा भोट माग्ने भन्ने विषय एमालेलेका लागि फलामको चिउरा हुनुपर्ने हो तर गठबन्धन सरकारलाई ठगबन्धनको र परमादेशी फलाक्दै आएको पुरानु फर्मुलालाई फलाक्दैमा उनीहरूको अक्षमता लुक्दैन भन्ने सामान्य ज्ञानको खडेरी अर्को आश्चर्य भन्नुपर्छ ।

सबै पार्टीका नेताहरू बहुमत ल्याउँछौँ भन्छन् । विगतको निर्वाचनमा बहुमत ल्याउने एमाले पार्टीले के भनेर जनतासँग भोट माग्ला ? यो कौतुहलताको विषय स्वाभाविकै भन्नुपर्छ । तर दलहरूका नेताहरूमा स्वाभाविकभन्दा अस्वाभाविकपनको चर्को प्रभाव छ । नेतृत्वमा देखिने अस्वाभाविकताले पार्टीको अस्तित्व नै संकटग्रस्त भएको अनुभूति जनताले गरेका बेलामा त्यहीँ पार्टीका नेताहरू अहिले जबर्जस्त शक्तिशाली भएको नक्कली कुरा गर्न कत्ति पनि हिच्किचाउँदैनन् । यसको प्रमाणको रूपमा अहिले एमाले र त्यसबाट विभाजित नेताहरूको अभिव्यक्तिलाई लिन सकिन्छ ।

एमालेले गत निर्वाचनमा प्राप्त गरेको प्रचण्ड बहुमतलाई अन्तर द्वन्द्वले तहसनहस बनायो । जनताको मतको दुरुपयोग ग¥यो । यसलाई जनताले नजिकबाट समीक्षा गरेका छन् । हिजोको जनमतलाई किन दुरुपयोग गर्‍यौँ भन्ने प्रश्नको उत्तर नैतिकता अलिकति हुने नेताका लागि त अवश्य कठिन हुनुपर्ने होइन र ? नैतिकतालाई सापटी दिएकाहरूका लागि त अप्ठ्यारो भन्ने शब्द नै उनीहरूको शब्दकोषमै हुँदोरहेनछ ।

अहिले जनतासँग के एजेण्डामा भोट माग्ने भन्ने विषय एमालेलेका लागि फलामको चिउरा हुनुपर्ने हो तर गठबन्धन सरकारलाई ठगबन्धनको र परमादेशी फलाक्दै आएको पुरानु फर्मुलालाई फलाक्दैमा उनीहरूको अक्षमता लुक्दैन भन्ने सामान्य ज्ञानको खडेरी अर्को आश्चर्य भन्नुपर्छ । गत निर्वाचनपूर्व जारी गरेको एमालेको घोषणापत्र पल्टाएर जनताले एक एक बुँदामा प्रश्न गरे भने कुन नेताले आफूलाई निर्दोष प्रमाणित गर्नसक्छ ? रेल, पानीजहाज, घरघरमा ग्यास र अन्य सामान्य भौतिक संरचनाका विषयमा कामको सुरुवात के-के भयो ?

यस्ता संगीन प्रश्नको हेक्कासम्म नहुने नेताहरूको बरबराहटले राजनीति गर्नेहरू कुनै पनि पार्टीमा जिम्मेवार छैनन् भन्ने निष्कर्ष निस्कन्छ । राजनीतिमा आश्वासन र त्यसलाई पूरा गर्ने सीमाको सम्बन्ध बारे बेखबर राजनीति र राजनेता मुख्य दुर्भाग्य हुन् । कामले होइन अर्को पार्टीका नेताहरूको आलोचनाले आफ्नो जनमत बनाउँछु भन्ने सबै पार्टीका नेताहरूको दृष्टिकोण गलत छ । आँखा चिम्लेर र कान तथा विवेकलाई बन्द गरेर पछि लाग्ने कार्यकर्ता नामका युवाहरू वास्तवमा देशको र जनताको परिवर्तनका बाधकमात्रै होइनन् यिनीहरू नै प्रजातान्त्रिक पद्धतिका मुख्य शत्रु हुन् भन्ने कुरामा जनता स्पष्ट हुन जरुरी छ । त्यो चेतनाको विकास नहुँदासम्म हुने निर्वाचन र त्यसको परिणाम कुशासन हो । अहिलेको अवस्थामा हुने निर्वाचन पनि कुशासन गर्ने हकलाई नवीकरण गर्ने सूत्र हो । यस पुस्ताका नेताहरूमात्रै भ्रष्टाचारी नभएर दोस्रो पुस्ताका नेताहरूसमेत भ्रष्टाचार गर्ने सपना बुनेर बसेका छन् । त्यसैले पुस्तान्तरण मात्रै समस्याको समाधान होइन । नेपालको राजनीतिक भविष्य आगामी दिनमा अझ अन्यौल र अन्धकारमा छ । यसबारे बुद्धिजीवीले जनतालाई सचेत बनाउनुपर्छ तर बुद्धिजीवी पनि देशका छैनन् । पार्टीका बुद्धिजीवी छन् । यिनीहरू पनि निष्पक्ष र स्वतन्त्र विचार प्रवाह गर्ने क्षमता र योग्यता राख्दैनन् । बुद्धिजीवीसमेत इमानदार नहुँदा नेपाली राजनीति दुर्घटनाको संघारमा छ भन्दा कत्ति पनि अत्युक्ति हुँदैन ।

गठबन्धन गरेर कांग्रेस र गठबन्धनका दलहरूले सत्ता हत्याएर देश र जनतालाई के उपलब्धि भयो ? सत्तामा रहेर देश र जनताको हितमा के काम गरे ? यसको उत्तर दिने नैतिकता उनीहरूसँग पनि नहुनु हाम्रो राजनीतिको अर्को दुर्भाग्य हो । सबै पार्टीका नेताहरूले सबै पार्टीलाई आफ्नो स्वार्थपूर्तिको साधन बनाएका छन् । परिवारको हितमा अहोरात्र खट्ने व्यक्तिवादी र भ्रष्टहरूले नेतृत्व गर्ने पार्टीहरूबाट लछारपाटो लाग्दैन भनेर काठमाडौंको स्थानीय निर्वाचनमा नेवार बाहुल्य समाजले मधेसी मूलको स्वतन्त्र उम्मेदवारलाई भोट किन दिए ?

आफ्नी छोरी मेयरमा जितिनन् भने आकाश नै खस्छ भन्ने स्वघोषित समानतावादी नेता र आफ्नी स्वास्नीले चुनाव हार्दा सर्वस्वहरण भएको अनुभव गरेर समानुपातिकको एक नम्बरमा राख्ने गठबन्धनका पार्टीहरूका नेताहरू र आफ्नालाई राजदूत, वाणिज्य दूत र आफू इसाईको दूत बन्ने नेतृत्वले के आधारमा मत माग्ने ? यस्ता प्रश्नबाट कसरी उम्कन्छन् गठबन्धनका नेता भनिनेहरू ? आधार नै नभएका पार्टीका नेताहरू दिनदिनै हाम्रै पार्टीले जित्छ भनेर कुर्लेको देख्दा फोहोर गर्नेलाई भन्दा हेर्नेलाई लाज भएको अनुभूति गर्न मतदाता विवश छन् । संविधानमा नो भोटको प्राबधानलाई अस्वीकार्य गर्ने खेलले राजनीतिलाई प्रदुषित बनायो । परिस्थितिले नो भोटको व्यवस्था अनिवार्य देखियो ।

नेपाली राजनीतिमा अनैतिकताको, भ्रष्टाचारको, नातावादको, भाइभतिजावाद, श्रीमतीवादलाई निमिट्यान्न गर्ने क्षमताको, योग्यताको, नैतिकताको साहसिक नेता यो राष्ट्रले कहिले पाउने ? नेता बनाउने कारखाना पार्टीहरू नै हुन् । तिनका कारिगर नै खराब भएकाले अहिले भएका पार्टीरूपी कारखानाबाट स्वच्छ, निष्पक्ष, नैतिक, सदाचारी नेतृत्व उत्पादन हुने सम्भावना छैन । वैकल्पिक उपाय के ? बुद्धिजीवीले वैकल्पिक उपायको खोजी गर्नुपर्ने विषयलाई किन प्राथमिकता दिदैनन् ? यो परिस्थितिलाई एकदिन पनि लम्ब्याउन नहुने अवस्थालाई किन कसैले बुझ्दैन ? राजनीति प्रदुषित हुनेबित्तिकै कुनै पनि क्षेत्र प्रदुषणमुक्त हुँदैन ।

समग्र देशलाई प्रदुषणमुक्त बनाउने क्षेत्र राजनीतिलाई प्रदुषणमुक्त नबनाइकन हाम्रो वरपरको वातावरणमा शुद्धीकरण आउँदैन । विकास र समृद्धि राजनीतिलाई यथास्थितिमा राखेर किमार्थ हुँदैन । विकास र समृद्धिका चर्का भाषण गर्ने सर्वप्रथम सुध्रनुपर्छ । त्यसपछिमात्रै परिस्थिति सुध्रन सुरु गर्छ । बिग्रेका, सडेगलेका, भ्रष्ट, दूराचारी, हिंसात्मक र ध्वंसात्मक चरित्र र प्रवृत्ति हुनेहरूले विकास र समृद्धिको उच्चारण गर्नुपूर्व आफ्नो चरित्रको, व्यवहारशैलीको, कार्यशैलीको, जीवनशैलीको राम्रोसँग ऐना हेर । आफ्ना कमजोरी देख्ने विवेकको विकास गर । त्यसपछि कमजोरी सच्याउने साँचो संकल्प र प्रतिबद्धता गर । अनि विकास र समृद्धि स्वतःस्फूर्तरूपमा आउँछ । जनताको आँखामा छारो हाल्ने र विकास र समृद्धिको नाममा भ्रष्टाचार गरेर आफू र आफ्ना धनी हुने रणनीति सबै अब म्याद नाघेका औषधि हौँ भन्ने बुझ । औषधिको म्याद सकिएपछि के गरिन्छ ? यो निर्वाचनमा दलका भालेलाई म्याद सकिएको औषधिको व्यवहार जनताले गरेनन् भने जनताले बुझे हुन्छ उनीहरूले आफैँले आफ्नै खुट्टामा बञ्चरो हाने ? अहिले जनमत परिवर्तनका लागि फेरि जुरमुराएको छ । जनता जुरमुराए भने नेताहरूका प्रधानमन्त्री बनेर भ्रष्टाचार गर्ने र विलासी जीवनका कल्पनाहरू सोम शर्माको सातुको हालत हुन्छन् ।

अहिले नेताले नसोचे नेता संकटमा र जनताले नसोचे देश संकटमा हुन्छ । यो खबरदारी र सचेतना दुवै मिसिएको अभिव्यक्ति हो । यसमा आग्रह छ तर पूर्वाग्रह पक्कै छैन । अहिले दबाबमा र चिन्तामा कोही छ भने सबै पार्टीहरूमा इमानदार कार्यकर्ता छन् । तनावमा रहेका कार्यकर्ता आफ्नै पार्टीका सहकर्मीसँग तनाबलाई बाँड्चुँड् र व्यवस्थापन गर्ने, एक हुने मनस्थितिमा छैनन् । परिस्थितिले अन्य पार्टीका असन्तुष्ट कार्यकर्ताहरू समेतलाई समेटेर वर्तमान नेतृत्वलाई खुला चुनौती दिने योजनाको खाकामा घोत्लिनुपर्ने परिस्थितिलाई सबै पार्टीका असन्तुष्टले आत्मसात गर्नुपर्ने संगीन अवस्था छ । दलभित्रका तानाशाहको व्यवहार र कार्यशैलीले यो अत्यावश्यक भयो । सैद्धान्तिक भिन्नता, चिन्त नशैली, कार्यशैली, गन्तव्यशैलीमा नितान्त भिन्न शेरबहादुर, पुष्पकमल, माधव नेपाल र ओलीलगायत नेतृत्व तहमा हुनेहरू आफ्नो राजनीतिक र आर्थिक लाभका लागि भएको गठजोडले कार्यकर्ता तहमा असन्तुष्टि चरमोत्कर्षमा छ । सबै पार्टीहरूमा आफ्नै पार्टीका नेताहरूको कार्यशैली, व्यवहार, आचरण र जीवनशैलीसँग धेरै कार्यकर्ता अत्यन्तै असन्तुष्ट छन् ।

असन्तुष्ट कार्यकर्ताले नेताहरूको आर्थिक, राजनीतिक अपराधलाई सधैँ टुलुटुलु हेर्ने कि तिनीहरूको हातबाट सत्ता खोस्ने ? यी दुई विकल्पमध्ये एक रोज्नुपर्ने अवस्था छ । त्यसका लागि सबै पार्टीका असन्तुष्टबीचको एकता नै यिनीहरूलाई सत्ताच्युत गर्ने आधार हो । त्यसैले सबै पार्टीका कार्यकर्ताले पार्टीगत पूर्वाग्रहलाई थाती राखेर एकता र मेलमिलापको मार्गचित्र कोर्नुपर्ने राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्नुपर्ने हुन्छ । अब ती सबै पार्टीहरूका असन्तुष्ट कार्यकर्तालाई ऐक्यबद्धता गर्ने नेतृत्व अहिले देशको राजनीतिले खोजेको छ ।

असन्तुष्ट कार्यकर्ताले नेताहरूको आर्थिक, राजनीतिक अपराधलाई सधैँ टुलुटुलु हेर्ने कि तिनीहरूको हातबाट सत्ता खोस्ने ? यी दुई विकल्पमध्ये एक रोज्नुपर्ने अवस्था छ । त्यसका लागि सबै पार्टीका असन्तुष्टबीचको एकता नै यिनीहरूलाई सत्ताच्युत गर्ने आधार हो ।

समयको आवश्यकता र जनताको चाहनालाई आत्मसात गर्दै देशभरका सबै पार्टीमा रहेका असन्तुष्ट शक्तिलाई ऐक्यबद्धताको योजना बनाउन सक्ने र त्यसलाई निष्पक्षता र इमानदारीपूर्वक कार्यान्वयन गर्ने इच्छाशक्ति भएको र प्रदुषित राजनीतिलाई शुद्धीकरण गर्ने योजनाका साथ नेतृत्व गर्ने क्षमता भएको हिम्मतिलो व्यक्ति नेपालको राजनीतिले खोजेको छ । हिजो हिंसात्मक कोतपर्वले जंगबहादुर जन्माए जस्तै आज प्रजातान्त्रिक पद्धतिलाई सुव्यवस्थित गर्न र जनताको भावनाको प्रतिनिधित्व गर्दै देशका वर्तमान ज्वलन्त समस्याहरूको निकास प्रजातान्त्रिक शैलीमा खोज्न सक्ने अर्को अहिंसावादी जंगबहादुर देशले खोजेको छ । त्यस्तो व्यक्ति आन्दोलनले दिनसक्यो भने प्रजातान्त्रिक संस्कार र पद्धतिबाट विचलित राजनीतिले सही बाटो अख्तियार गर्छ ।

त्यो प्रमाणित गर्न सबै पार्टीहरूका असन्तुष्ट कार्यकर्ता एकजुट हुने अभियानले राजनीतिमा सकारात्मक परिवर्तन हुन्छ । सबै पार्टीहरूका असन्तुष्ट कार्यकर्ताबीचको ऐक्यबद्धता नै समस्या समाधानको एकमात्र सूत्र हो । आशा गरौँ देशले धेरै राजनीतिक कोर्स परिवर्तन गरिसकेको छ भने यस परिवर्तनको लागि इमानदार पहल गर्ने नेतृत्व पनि नेपाली राजनीतिले पक्कै जन्माउनेछ । यसमा नेतृत्व गर्ने व्यक्ति असफल भयो भने वर्तमान भ्रष्ट राजनीतिमा हालिमुहाली गर्ने नै सफल हुन्छन् । यस्तोमा नेताले जित्ने र जनताले हार्ने अवस्था आउँछ । त्यसैले त्यसअगावै असन्तुष्टहरूको ऐक्यबद्धताका माध्यमले समाधान खोज्नुपर्छ । त्यसपछिको निर्वाचनका माध्यमले लोकप्रिय र प्रजातन्त्रवादी नेताले देशको नेतृत्व गर्छ । यो परिस्थितिमा मात्र भ्रष्ट नेताहरूको हार र जनताको जित अवश्यम्भावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 Comment
  1. लेख गहन छ।मनन योग्य छ।भाव र मर्म
    बुझेर कर्म गर्ने नेतृत्व आवश्यकता छ।

  2. अत्यन्तै मननीय समसामयिक लेख । अहिंसावादी जङ्गबहादर चाहियो । सही कुरा ।

  3. यश सन्दर्भमा म श्री भीमार्जुन आचार्यको भनाइमा पुर्ण सहमति राख्दछु।फटाहाहरुलाई तहलगाउन प्रतक्ष कार्यकारी राष्ट्रपति जुनसुकै पद्धति बाट आए पनि मान्य हुन चाहयो।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?