लमजुङमा दुई गुरुङबीच रोमाञ्चक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

हिमालय टाइम्स
Read Time = 7 mins

लमजुङ । कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङको चुनावी प्रतिस्पर्धामा छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धनबाट मा‌ओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने हुनु भएको छ ।

देव गुरुङले मनाङ, कास्की १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै रोज्नुभयो । ०७४ को निर्वाचनमा उहाँ यहीँबाट विजयी हुनु भएको छ। त्यतिबेला एमाले(माओवादी गठबन्धनको साझा उमेदवारको रूपमा प्रतिस्पर्धा गरेका उहाँले सानदार मतले चुनाव जित्नुभएको थियो । जन्मथलो मनाङ भएर पनि उहाँले कर्मथलोको रूपमा लमजुङलाई रोज्नुभएको छ ।

०७४ को प्रदेश सभा निर्वाचनमा लमजुङ ख बाट विजयी भई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री बन्ने सौभाग्य पाउनु भएका उहाँले पूरा कार्यकाल काम गर्न पाउनु भएन । साढे तीन वर्ष नबित्दै उहाँले पद गुमाउनु भयो । यसपालि पुनः लमजुङ प्रदेश ख बाट चुनाव जितेर मुख्यमन्त्री बन्ने उहाँको सपना थियो । उहाँले प्रचार प्रसार पनि थालिसक्नुभयो ।

लमजुङमा आयोजना हुने विभिन्न कार्यक्रममा उहाँले भन्ने गर्नुभएको छ, “मैले सुरू गरेको थुप्रै काम अहिले अधुरा र अलपत्र छन्, ती अधुरा अपूरा काम पूरा गर्न र गण्डकीलाई समृद्ध प्रदेश बनाउन म पुनः प्रदेश सभाको निर्वाचन लड्छु, मुख्यमन्त्री बन्छु ।”

सोचेजस्तो सधैं कहाँ हुन्छ र ? पृथ्वीसुब्बाको हकमा पनि त्यस्तै भयो । फिटिक्कै चाहना नहुँदा पनि उहाँलाई प्रतिनिधिसभाको उम्मेदवार बनायो पार्टीले । पछिल्लो समय गुरूङभन्दा पनि ओलीको नजिक बनेका खगराज अधिकारीले गण्डकीको मुख्यमन्त्री बन्ने तयारीका साथ कास्कीबाट प्रदेश सभाको टिकट पाएपछि पृथ्वीसुब्बा प्रतिनिधिसभाको उमेदवार बन्न पुग्नुभएको छ ।

एमाले नेताहरूमध्ये गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी एक अर्काका प्रतिस्पर्धी हुनु हो । केपी ओलीको कोपभाजनमा परेका गुरुङ अहिले देव गुरूङसँग प्रतिस्पर्धामा हुनु हुन्छ लमजुङ प्रदेश ख पृथ्वीसुब्बाका लागि सहज थियो, तर प्रतिनिधिसभाको निर्वाचन उहाँका लागि फलामको च्युरा चपाउनुसरह मानिएको छ ।

प्रदेश सभा ख उहाँको आफ्नै क्षेत्र हो, क्व्होंलासोंथार उहाँको गृह गाउँपालिका हो, जहाँ उहाँको पार्टीले गत स्थानीय निर्वाचनमा क्लिन स्विप पारेको छ । यसबाहेक मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका उहाँको प्रभाव क्षेत्र हुन् । बरू उहाँलाईभन्दा जमिन्द्रमान घलेलाई प्रतिनिधिसभाको निर्वाचन लड्न सहज थियो । उहाँको चाहना पनि त्यही थियो, तर घलेले प्रदेश सभा क को टिकट पाउनु भएको छ ।

देव गुरुङलाई पनि कांग्रेसको भर हो । कांग्रेसका मतदाताले उहाँलाई कतिको साथ दिन्छन्, त्यो हेर्न चुनावसम्मै कुर्नुपर्छ । यद्यपि पछिल्लो समय गठबन्धनप्रति कांग्रेस कार्यकर्ताहरू इमान्दार नै देखिन्छन्, गएको स्थानीय निर्वाचनले पनि यही संकेत गरेको छ । यसको फाइदा उहाँलाई हुने सम्भावना छ ।

देव गुरुङ योसमेत गरी तेस्रोपटक संसदीय निर्वाचन लड्दै हुनुहुन्छ । पहिलो संविधानसभाको निर्वाचनमा माओवादी
उम्मेदवारको रूपमा कास्की र मनाङबाट निर्वाचित हुनु भएको थियो । २०७४ को चुनावमा वाम गठबन्धनको साझा उम्मेदवारको रूपमा उहाँ लमजुङबाट निर्वाचित हुनु भएको थियो ।

पृथ्वीसुब्बा गुरुङको यो सातौं निर्वाचन हो । २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव लड्नुभएको उहाँ त्यसपछि भएका हरेक निर्वाचनमा उम्मेदवार हुँदै आउनु भएको थियो । २०४८, २०५१, २०५६ को निर्वाचनमा पराजय भोगेका उहाँले ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा चुनाव जित्नुभयो। ०६३ को जनआन्दोलनपछि बनेको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका बेला उहाँलाई चुनाव जित्न पनि सहज भयो । त्यसपछि दोस्रो संविधानसभा निर्वाचनमा फेरि पराजित भएका उहाँ ०७४ को प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट लमजुङ ख बाट चुनाव जितेर गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने सौभाग्य पाउनु भयो ।

लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि एक मात्र सीट छ । प्रदेश सभाका लागि दुई सिट र आठवटा स्थानीय निकाय छन् । यीमध्ये एक नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको छ । तीन नगरपालिका र एक गाउँपालिका सत्ता गठबन्धनले जितेको छ । स्थानीय निर्वाचनको नतिजा हेर्दा गठबन्धन अगाडि देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?