अर्थशास्त्रको नोबेल पुरस्कार तीन अमेरिकीलाई

Read Time = 3 mins

स्टकहोम । अर्थशास्त्रको नोबेल पुरस्कार तीन अमेरिकीलाई दिने घोषणा गरिएको छ । वित्तीय संकटसँग जुध्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका फेडरल रिजर्भका पूर्वप्रमुख बेन बर्नान्कीसहित तीन अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको हो ।

डग्लस डायमण्ड र फिलिप डिबभिगसँगै बर्नान्कीलाई ‘विशेषगरी वित्तीय संकटको समयमा अर्थतन्त्रमा बैंकहरूको भूमिकाका साथै वित्तीय बजारलाई कसरी नियमन गर्ने भन्ने आम बुझाइमा उल्लेखनीय सुधार गरेकोमा’ सम्मान गरिएको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार निर्णायक समितिले बताएको छ । पुरस्कार राशि करोड स्वीडिश क्रोनर (करिब आठ लाख ८० अमेरिकी डलर) रहेको छ र यो तीन पुरस्कार विजेताबीच समान रूपमा साझेदारी गरिनेछ ।

सन् २००८ को मन्दीपछि सुधारलाई गति दिने श्रेय ६८ वर्षीय बर्नान्कीलाई दिइन्छ । आलोचकहरूले यसलाई रोक्न केही नगरेको र लगानी बैंक लेहमन ब्रदर्सलाई धराशायी हुन दिएको भन्दै आलोचना गरेका थिए । सन् १९३० को दशकमा आधुनिक इतिहासकै सबैभन्दा खराब आर्थिक संकटमहामन्दीबारे सन् १९८० को दशकको सुरुमा गरिएको विश्लेषणका लागि उहाँले यो पुरस्कार प्राप्त गर्नुभएको हो ।

सन् २००८-२००९ को वित्तीय संकटको समयमा बर्नान्कीले केन्द्रीय बैंकको प्रमुखको भूमिकामा अनुसन्धानबाट प्राप्त ज्ञानलाई नीतिमा उतार्न सफल भएको नोबेल समितिले जनाएको छ ।

ब्याजदर घटाउने र वित्तीय प्रणालीमा तरलताको बाढी ल्याउने फेडको अपरम्परागत प्रतिक्रियाका लागि बर्नान्कीको प्रशंसा गरिएको छ ।

सन् १९५३ मा जन्मिनुभएका युनिभर्सिटी अफ शिकागोका प्राध्यापक डायमण्ड र सेन्ट लुइसस्थित वासिंटन युनिभर्सिटीका प्राध्यापक ६७ वर्षीय डाइबभिगलाई मध्यस्थकर्ताको भूमिका निर्वाह गरेर बचतलाई लगानीका लागि कसरी ‘उत्तम समाधान प्रदान गर्छ’ भनेर देखाएकोमा सम्मान गरिएको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?