तिहार नजिकिएसँगै कुमाले समुदायलाई पाला बनाउने चटारो

रासस
Read Time = 5 mins

भक्तपुर । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याई भएको छ । ‘तिहार आउन अझै दुई साता बाँकी छ ।

मागअनुसारको पाला एक हप्ताभित्र पठाउनुपर्छ’, भक्तपुर तालाक्बका गंगालक्ष्मी प्रजापतिले भन्नुभयो ।
तिहार नजिकिएसँगै तालक्वका कुमाले समुदायको दिनचर्या नै पाला तयार गर्नेमै बित्ने गरेको गंगालक्ष्मी बताउनुहुन्छ । तिहारमा पालाको माग अत्यधिक मात्रामा उच्च हुने भएकाले यो समय कुमालेले अन्य भाँडा बनाउने कामलाई थाँती राखेका छन् । तिहारमा लक्ष्मी पूजाका लागि बाहिरी जिल्लाबाट माग आउने भएकाले अन्य भाँडा बनाउने कामलाई थाती राखेको गङ्गालक्ष्मीले बताउनुभयो । ‘बिहान ५ बजेदेखि अघिल्लो दिन नै तयार गरी राखेको माटोले पाला बनाउने, सुकाउने, रातो माटोको रङ लगाउने र सुकिसकेको पालालाई पोलेर तयार गरी मागअनुसार बजार पठाउने काममा दिन बित्छ । अहिले अन्य भाँडाकुँडा बनाउने समय छैन’, गंगालक्ष्मीले भन्नुभयो ।

अहिले भक्तपुरका तालक्वका प्रजापति मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह, सूर्यविनायक र चुनदेवीका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् । तिहारमा धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा पालामा दियो बाल्ने परम्परा रहेको छ । तिहारको लक्ष्मी पूजाको दिन दीपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डा लगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ ।

पछिल्लो समय तिहारमा पालासँगै बत्ती बाल्न विद्युतीय बत्तीको मागसमेत उच्च छ । तिहारमा बिजुलीका रंगीचंगी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्य रूपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा बर्सेनि पालाको माग बढ्ने गरेको अर्का व्यवसायी रामप्रसाद प्रजापति बताउनुहुन्छ । उहाँले केही वर्ष पहिले मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि पालाको माग बढेको जानकारी दिनुभयो । ‘विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षाको दृष्टिकोणले पालालाई अत्यन्तै राम्रो र उत्तम मानिने भएकाले बजारमा यसको माग बढेको हो’, रामप्रसादले भन्नुभयो ।

कुमाले टोलमा तयार गरिएका पाला होलसेल व्यापारीलाई बिक्री गरिन्छ । होलसेल व्यापारीले पालाको साइजअनुसार ठूलो सानो हेरी मूल्य निर्धारण गरेर त्यसमा केही मुनाफा खाएर काठमाडौं उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्तामाझ पु¥याउने गरेको रामप्रसादले बताउनुभयो ।

भक्तपुरको कुमाले टोलमा तयार गरेको पाला काभ्रेको बनेपा, धुलिखेल, पनौती, नुवाकोटको त्रिशूलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीले पनि लिन आउने गरेको रामप्रसादले बताउनुभयो । रासस ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?