पर्वतमा सुन्तला उत्पादन बढ्ने

फाइल तस्बिर

रासस
Read Time = 3 mins

कुस्मा । व्यावसायिक सुन्तला खेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङाङका कृषकले यस वर्ष सुन्तला उत्पादन बढ्ने बताएका छन् । यस वर्ष कम वर्षा भएको तथा रोग, किरा र असिनाको प्रकोपसमेत नभएकाले सुन्तला उत्पादन बढ्ने अपेक्षा गरिएको श्रीनगर सुन्तला उत्पादक सहकारीका अध्यक्ष तारालाल कुँवरले बताउनुभयो । गत वर्ष सहकारीमार्फत् ८० लाखका सुन्तला बेचेका यहाँका कृषकले यस वर्ष कम्तीमा डेढ करोड भिœयाउन सफल हुने उहाँको भनाइ छ ।

‘मौसमी अनुकूलताले उत्पादन दोब्बर हुने अपेक्षा छ,’ अध्यक्ष कुँवरले भन्नुभयो, ‘कतिपय कृषकले पाँच लाखभन्दा बढीका सुन्तला बेच्नुहुनेछ । अर्का कृषक तोयराज कुँवर भन्नुहुन्छ, ‘यो वर्ष राम्रो फल दिएको छ, अब असोजको झरीले असर नगरेमा उत्पादन राम्रो लिन सक्ने आशमा छु ।’

परम्परागत तरिकाले मकै र कोदो लगाउने बारीमा सुन्तलाखेती सुरु गरेपछि यहाँका दुई सयभन्दा बढी परिवार खुसी छन् । उपल्लो श्रीकाङ, सात्ले, सुलिकोटमात्रै होइन छिमेकी कुर्घाको ठूलास्वाँरा, नुवाखर्कलगायतका क्षेत्रलाई समेटेर सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्न थालिएको छ । हरेक वर्ष खेती विस्तारको काम भइरहेको छ । सुन्तलाबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न थालेपछि उनीहरूको जीवनस्तरमा समेत परिवर्तन आउन थालेको छ । गाउँमा उत्पादित सुन्तलालाई श्रीनगर सुन्तला उत्पादक सहकारीमार्फत् बेचबिखन गर्न थालेपछि देशका मुख्य-मुख्य शहरमा समेत बजार पाउन थालेको छ । उत्पादित सुन्तला पोखरा, काठमाडौं, बुटवल, विराटनगरलगायतका व्यापारीले गाउँमै आएर खरिद गर्न थालेको अध्यक्ष कुँवरले बताउनुभयो ।

फलेबास क्षेत्रमा कोल्डस्टोर बनाउने र पर्वतका सबै गाउँको उत्पादन राखेर बेमौसममा बिक्री गर्न सकेमा कृषकलाई धेरै राहत पुग्ने अध्यक्ष कुँवरको भनाइ छ । सुन्तला फल्ने गाउँसम्म नै पक्की सडक हुन सके ढुवानीका लागि अझै सहज हुने उहाँको भनाइ छ ।

कृषि ज्ञानकेन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले गत वर्षभन्दा राम्रो फल लागेकाले यस वर्ष उत्पादनमा केही वृद्धि हुने जानकारी दिनुभयो । रासस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?