पहिरो जोखिममा पाल्पाका ३४ घर

हिमालय टाइम्स
Read Time = 4 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । एक सातादेखि परेको अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा परेका छन् । जिल्लाका विभिन्न स्थानमा पहिरोसँगै घरहरू चर्किएर जोखिममा परेका हुन् । यहाँको रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र तिनाउ गाउँपालिकाका ३४ घरहरू जोखिममा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रिब्दीकोटका सात घर, निस्दीका २५ घर, बगनासकालीका र तिनाउ गाउँपालिकाका एक/एक घर जोखिमका रहेका छन् । जोखिममा रहेका घरका परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमा रहेका सम्पूर्ण सामानहरू समेत सारिएको छ । तत्काललाई वर्षाबाट जोखिम कम गर्नका लागि केही स्थानमा प्लाष्टिकले पानी तर्काउने काम गरिएको छ ।

निस्दी गाउँपालिका-३ च्यामु्रङस्थित भित्री कच्ची सडक खण्डमा माथिबाट पहिरो खस्दा काउली-ढुङ्गनाबेसी सडकखण्ड अवरुद्ध बन्नुको साथै यहाँका २५ घरहरू जोखिममा रहेका छन् । च्यामु्रङ सामुदायिक भवन, लक्ष्मी देवी माविको भवनसमेत पहिरोका कारण जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुुभयो । जोखिममा रहेका घरमध्ये केही कच्ची र केही पक्की छन् । यस्तै, रिब्दीकोट गाउँपालिका-३ हार्थोकमा पाँच घर जोखिममा छन् । हार्थोकका नारायण कार्कीको दुई तले दुईवटा पक्की घर, सोही ठाउँका विष्णु पोखरेल, इन्द्र पाण्डे, र सुरज नेपालीको पक्की घर पहिरोका कारण जोखिममा रहेको प्रहरीले जनाएको छ ।

रिब्दीकोट-४ सिलाङथोकका ७३ वर्षीय गगनबहादुर खाम्चाको दुई तले घरको पछाडिबाट गाह्रो भत्किन जाँदा घर जोखिममा रहेको छ । यस्तै, वडा नं. ४ कै गायकटोलका राजकुमार सुनारको घरको गाह्रोसमेत भत्किन गई जोखिममा रहेको छ । बगनासकाली गाउँपालिका-७ दैलातुङका बलबहादुर साठीघरेको दुई तले घरको गाह्रो भत्किएको छ । यहाँ मानिस र पशुचौपायालाई अन्यत्र सारिएको छ ।

यस्तै, तिनाउ गाउँपालिका–६, मस्यामस्थित चिदीसमा पहिरोले घर पुरिएको छ । गोविन्दकुमारी सारुको दुई तले घरमा माथिबाट पहिरो खसेर घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर भत्किँदा दुईजना घाइतेसमेत भएका छन् । घरलाई पहिरोले च्याप्दा २१ वर्षीया विष्णुमाया सारु र डेढ वर्षकी आरुषी खासु घाइते भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले सारुको घर पुरेको हो । घरमा सबै सुतिरहेको अवस्थामा पहिरो जाँदा दुईजना घाइते भएका हुन् । जिल्लाको प्रहरी टोली पहिरो गएको र जोखिम रहेका घरहरूमा पुगेको र तत्काल राहतका लागि पहल गरेको बताएको छ । यहाँका स्थानीय सरकारले जोखिममा रहेका घर र पहिरो व्यवस्थापनमा विशेष योजना बनाएर काम गर्ने बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?