काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएकाहरूको विवरण सार्वजनिक गरेको छ । आयोगले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा गरी कुल तीन हजार ४५१ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभातर्फ दुई हजार ५३१ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभातर्फ तीन हजार ४८१ जनाको विवरण आयोगले सार्वजनिक गरेको हो । आयोगले विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट आागामी निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेवारदले आज (बुधबार) नाम फिर्ता लिन सक्नेछन् । बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने आयोगले जनाएको छ । उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि आयोगले अपराह्न १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
तीनजनाको उम्मेदवारी खारेज
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण चौधरी (थारू)को उम्मेदवारी खारेज गरेको छ । उच्च अदालत दिपायलले जन्म कैदको फैसला सुनाएका थारूको उम्मेदवारी आयोगले मंगलबार बदर गरेको हो । स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय हुने फैसला सुनाएका थारूको उम्मेदवारी खारेज गर्न माग गर्दै हालेको निवेदनमाथि सुनवाइ गर्दै मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले उम्मेदवारी बदर हुने निर्णय सुनाउनुभएको हो । थारूले वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए । थारूलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकेकाले उम्मेदवारी बदर हुने निर्णय गरिएको अर्यालले बताउनुभयो । नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारूलाई उच्च अदालत दिपायलले २ पुस २०७७ मा जन्मकैदको फैसला सुनाएको थियो । त्यसअघि जिल्ला अदालत कैलालीले थारूलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनी पुर्पक्षमै तीन वर्षभन्दा बढी बसेर छुटेका थिए । यस्तै, रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश वलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भएर सजाय पाएका वलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । माओवादी केन्द्रका प्रदेशका उम्मेदवार राजकुमार शर्माको तर्फबाट दाबी विरोधको उजुरी परेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार वलीको उम्मेदवारी खारेज गरेको हो । कांग्रेस नेता वलीलाई बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको थियो । तर, उनले सजाय भुक्तान नगरेकाले अयोग्य रहेको दाबी गरिएको थियो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मनोनयन भने कायमै राख्ने आयोगले निर्णय गरेको छ । देउवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै आयोगले उम्मेदवारी कायमै राख्ने निर्णय भएको हो । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक फरक जन्ममिति रहेको भन्दै परेको उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेको बताउनुभयो । डडेल्धुराबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता परिचय पत्रमा जन्ममिति फरक रहेको भन्दै प्रतिस्पर्धी उम्मेदवार कर्ण मल्लेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो ।
यस्तै टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।
नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरीको उम्मेदवारी खारेज हुने निर्णय भएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिनुभयो । चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको उहाँले बताउनुभयो ।
‘उहाँ २०७४ फागुन १४ देखि निरन्तर कैदमा रहेको भनी डिल्लीबजार कारागारले हामीलाई पत्र दिएको छ, उच्च अदालत डोटीबाट पनि उहाँ दोषी ठहर भएको पत्र दिएको छ’ उहाँले भन्नुभयो, ‘उहाँ प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवार हुन अयोग्य हुनुभयो ।’ऐनको उक्त व्यवस्था अनुसार कैदमा बसेको व्यक्ति कैदमा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुन्छन् ।
चौधरीले २३ असोजमा आफ्ना प्रतिनिधि झकुप्रसाद चौधरीमार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर उनको उम्मेदवारी विरुद्ध नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु समुदायको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको मृत्यु भएको थियो । सो घटनामा संलग्नताको आरोप लागेका चौधरीले फरार रहेकै अवस्थामा २०७४ सालको प्रतिनिधसभा निर्वाचनमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि अदालतसमक्ष आत्मसमर्पण गरेका उनलाई कैलाली जिल्ला अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेको थियो । जिल्ला अदालतको फैसलालाई उच्च अदालत डोटीले पनि सदर गरेको थियो । अदालतको फैसला अनुसार कारागारमा रहेका उनले डिल्लीबजार कारागारबाटै संसद सचिवालमा आई प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।
सरकारी कर्मचारी र शिक्षकले उम्मेदवारसँगको फोटो सामाजिक सञ्जालमा राखे कारबाही हुने, पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारबाही सुरु गरेको छ । प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाका प्रचार सामग्री सेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएको भन्दै आयोगले आवश्यक कारबाही प्रारम्भ गरेको जनाएको हो ।
आचारसंहिताको प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको आयोगले जनाएको छ । आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा सेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ । ‘उक्त व्यवस्था उल्लंघन गर्नेलाई निर्वाचन आयोग, ऐन २०७३ को दफा २३ बमोजिम स्पष्टीकरण सोधी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको’ आयोगले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका