लक्ष्मण थारु, प्रेमप्रकाश वली र रेशम चौधरीको उम्मेदवारी खारेज

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण चौधरी (थारू)को उम्मेदवारी खारेज गरेको छ । उच्च अदालत दिपायलले जन्म कैदको फैसला सुनाएका थारूको उम्मेदवारी आयोगले मंगलबार बदर गरेको हो ।

स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय हुने फैसला सुनाएका थारूको उम्मेदवारी खारेज गर्न माग गर्दै हालेको निवेदनमाथि सुनवाइ गर्दै मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले उम्मेदवारी बदर हुने निर्णय सुनाउनुभएको हो । थारूले वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

थारूलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकेकाले उम्मेदवारी बदर हुने निर्णय गरिएको अर्यालले बताउनुभयो ।

नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारूलाई उच्च अदालत दिपायलले २ पुस २०७७ मा जन्मकैदको फैसला सुनाएको थियो । त्यसअघि जिल्ला अदालत कैलालीले थारूलाई तीन वर्ष कैद सजाय तोकेको थियो ।

उनी पुर्पक्षमै तीन वर्षभन्दा बढी बसेर छुटेका थिए । यस्तै, रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश वलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भएर सजाय पाएका वलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । माओवादी केन्द्रका प्रदेशका उम्मेदवार राजकुमार शर्माको तर्फबाट दाबी विरोधको उजुरी परेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार वलीको उम्मेदवारी खारेज गरेको हो । कांग्रेस नेता वलीलाई बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको थियो । तर, उनले सजाय भुक्तान नगरेकाले अयोग्य रहेको दाबी गरिएको थियो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मनोनयन भने कायमै राख्ने आयोगले निर्णय गरेको छ । देउवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै आयोगले उम्मेदवारी कायमै राख्ने निर्णय भएको हो ।

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक फरक जन्ममिति रहेको भन्दै परेको उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेको बताउनुभयो ।

डडेल्धुराबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता परिचय पत्रमा जन्ममिति फरक रहेको भन्दै प्रतिस्पर्धी उम्मेदवार कर्ण मल्लेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो ।

यस्तै टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरीको उम्मेदवारी खारेज हुने निर्णय भएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिनुभयो ।

चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको उहाँले बताउनुभयो ।

‘उहाँ २०७४ फागुन १४ देखि निरन्तर कैदमा रहेको भनी डिल्लीबजार कारागारले हामीलाई पत्र दिएको छ, उच्च अदालत डोटीबाट पनि उहाँ दोषी ठहर भएको पत्र दिएको छ’ उहाँले भन्नुभयो, ‘उहाँ प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवार हुन अयोग्य हुनुभयो ।’

ऐनको उक्त व्यवस्था अनुसार कैदमा बसेको व्यक्ति कैदमा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुन्छन् ।

चौधरीले २३ असोजमा आफ्ना प्रतिनिधि झकुप्रसाद चौधरीमार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर उनको उम्मेदवारी विरुद्ध नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु समुदायको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको मृत्यु भएको थियो । सो घटनामा संलग्नताको आरोप लागेका चौधरीले फरार रहेकै अवस्थामा २०७४ सालको प्रतिनिधसभा निर्वाचनमा निर्वाचित भएका थिए ।

निर्वाचित भएपछि अदालतसमक्ष आत्मसमर्पण गरेका उनलाई कैलाली जिल्ला अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेको थियो । जिल्ला अदालतको फैसलालाई उच्च अदालत डोटीले पनि सदर गरेको थियो । अदालतको फैसला अनुसार कारागारमा रहेका उनले डिल्लीबजार कारागारबाटै संसद सचिवालमा आई प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?