प्रत्यक्ष उम्मेदवारीमा महिलालाई नपत्याएको चितवन

हिमालय टाइम्स
Read Time = 9 mins

- प्रतिमा सिलवाल

चितवन । आउँदो मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न योग्य चितवनका मतदाताको संख्या ३ लाख ९७ हजार ६ सय ८५ जना छन्। तीमध्ये ५१ दशमलव ४६ प्रतिशत अर्थात्, दुई लाख चार हजार ६६६ जना महिला मतदाता छन्।

वैदेशिक रोजगारीका कारणले देशबाहिर रहेका जनसंख्या हिसाब गर्ने हो भने यहाँको तीनमध्ये जुन क्षेत्रबाट उठे पनि महिला मतदाताकै मत हरेक उम्मेदवारको जितको लागि निर्णायक हुन्छ।

तर, यहाँका महिला मतदाताले सिधै महिला उम्मेदवारलाई मतदान गर्ने अवसरबाट भने दलहरूले लगभग बञ्चित गराएका छन्। यहाँका तीन निर्वाचन क्षेत्रमध्ये तीन वटैमा दलका उम्मेदवार नै बलिया देखिन्छन्। केही स्वतन्त्र व्यक्तिहरू उम्मेदवार बनेपनि यसअघिको निर्वाचन र यहाँका राजनीतिक दलमा विभाजित मतदाताको मनोविज्ञानले पनि उनीहरूले स्वतन्त्रलाई खुला मतदान गरेर विजयी गराउने अवस्था देखिँदैन।

त्यसैले पनि मतदाताहरू बाध्य भएर नै दलहरूका उम्मेदवारलाई नै मतदान गर्नुपर्ने अवस्थामा छन्। तर, अहिलेका मुख्य दल काँग्रेस माओवादीसहितका गठबन्धन र नेकपा एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारमा कोही महिलालाई उठाएनन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा छोरी रेनु दाहाललाई उम्मेदवार बनाउने बेला आफ्नो पार्टी महिलाको हकमा निकै उदार रहेको जिकिर धेरै पटक गर्नु भएको थियो।

यसपटक उहाँ चितवन ३, छाडेर गोरखा जानुभयो। उहाँको दलले प्रतिनिधिसभा प्रत्यक्षतर्फ महिला उम्मेदवार नबनाए पनि आफ्नो भागमा परेको प्रदेशतर्फ पनि महिला उम्मेदवार दिएन।

चितवनको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ २० जनाको उम्मेदवारीमा १ जना मात्रै महिला छन्। नेकपा एमालेले पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाएको छ। नेकपा एमालेका उपाध्यक्ष पाण्डे २०७४ सालमा पनि सोही क्षेत्रका निर्वाचित उम्मेदवार हुनुहुन्थ्यो। एमालेले क्षेत्र २ र ३ मा पनि पुरुष उम्मेदवार नै बनाएको छ। क्षेत्र नम्बर २ मा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको हो। उहाँ यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो। क्षेत्र नम्बर ३ मा भने नेकपा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ।

त्यसैले नेकपा एमाले समर्थित मतदाताले यसअघि प्रतिनिधिसभातर्फ एमालेका कुनै महिला उम्मेदवार पाउने छैनन्। २०७४ सालको संघीय निर्वाचनमा पनि नेकपा एमालेको ९तत्कालीन वाम गठबन्धन० बाट चितवनमा प्रत्यक्षतर्फ महिला उम्मेदवार थिएनन्।

त्यसैगरी गठबन्धन गरी सत्ता चलाएका काँग्रेस, माओवादी, समाजवादी लगायतका राजनीतिक दलबाट पनि चितवनमा प्रतिनिधिसभातर्फ एकजना पनि महिला उम्मेदवार छैनन्। तीन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा राष्ट्रिय योजना आयोगका बहालवाला उपाध्यक्ष विश्वप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ। उहाँ नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका साझा उम्मेदवार बनेपनि कांग्रेसकै यसअघि पराजित उम्मेदवार राजेन्द्र बुर्लाकोटीले पनि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ।

त्यस्तै क्षेत्र नम्बर २ मा पनि गठबन्धनका तर्फबाट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उम्मेदवारी दिनुभएको छ। स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उम्मेदवारी दर्ता गराउनुभएको छ।

क्षेत्र नम्बर ३ मा गठबन्धनको भागबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार डाक्टर भोजराज अधिकारी हुनुहुन्छ। उहाँ भरतपुर अस्पतालका अध्यक्ष तथा फिजिसियन हुनुहुन्छ।

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला र यसअघि भुँइकटहर चिन्ह लिएर भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवार बन्नुभएका जगन्नाथ पौडेलले पनि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि केही प्रभाव रहेको छ। उक्त पार्टीबाट धेरै वर्षदेखि लगातार उम्मेदवार बन्दै आएका बिक्रम पाण्डे नै यसपालि पनि उम्मेदवार हुनुहुन्छ।

साना दल र स्वतन्त्र रूपमा भने केही महिलाले उम्मेदवारी दिएका छन्। मङ्गोल नेशनल अर्गनाइजेशनबाट कुमारी थिङ्ग क्षेत्र नम्बर १, स्वतन्त्रबाट देविका कुँवर र जनसमाजवादी पार्टी नेपालबाट प्रभा त्रिपाठी क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएको छन्। क्षेत्र नं. २ मा कुल १८ जना प्रतिनिधिसभा उम्मेदवार छन्।

३ नम्बर क्षेत्रबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बराल र स्वतन्त्रबाट सुमित्रा राई बरालले उम्मेदवारी दिनु भएको छ। उहाँहरू दुबै मतदातामाझ पकड भएका र परिचित नाम भने होइनन्।

प्रदेशसभामा पनि नगन्य महिला

प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारीमा नपत्याइए पनि प्रदेशसभामा भने दलहरूले महिलालाई बढी उम्मेदवारी गराउनेमा महिला राजनीतिकर्मीहरू आशावादी थिए।

तर, यहाँका राजनीतिक दलहरू प्रदेशसभामा पनि प्रत्यक्षतर्फ महिला उम्मेदवार बनाउन उदार देखिएनन्। ३ वटा क्षेत्रमध्ये हरेक क्षेत्रमा दई/दुई जना गरि ६ जना प्रदेशसभा उम्मेदवार प्रत्यक्षतर्फ निर्वाचित हुन्छन्।

तर, दलहरू उदार नहुँदा फेरि पनि महिला मतदाताले प्रत्यक्षमा महिलाहरूलाई मतदान गर्नबाट वञ्चित हुने स्थिती आएको छ। नेकपा एमालेले क्षेत्र नम्बर ३ (ख) मा एकजना र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि क्षेत्र नम्बर ३ (ख) बाटै एकजना बाहेक अरु दलहरूले प्रदेशसभामा महिला उम्मेदवार बनाएनन्।

एमालेले पार्टीको बागमती प्रदेश कमिटी सदस्य सरस्वती विष्ट र राप्रपाले पार्टीको केन्द्रीय सहमहामन्त्री रीना गुरुङलाई प्रदेश सभामा उम्मेदवार बनाएका हुन्। गठबन्धनले तीनवटै निर्वाचन क्षेत्रका ६ वटै स्थानबाट पुरुषमात्रै उम्मेदवार बनाएको छ।

क्षेत्र नम्बर १ को दुई वटा क्षेत्रमध्ये क र ख मा क्रमशः ११ र ९, क्षेत्र नम्बर २ को क र ख मा क्रमशः ८ र १४ र क्षेत्रनम्बर ३ को क र ख मा क्रमशः ८ र ९ उम्मेदवार रहेका छन्। तीमध्ये १४ जना महिला उम्मेदवार छन्।

 

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?