भनिरहनै पर्दैन हालका दिनहरूमा नेपालमा राजनीतिको व्यस्त समय छ भनेर । सामाजिक र सांस्कृतिक चाडपर्व वर्ष-वर्षमा आउँछन् तर आवधिक निर्वाचन भनेको पाँच वर्षमा एकपटक आउने हो । यही पाँच वर्षको पालो पर्खिएर बसेका राजनीतिज्ञहरूले एकपटक मात्र पालो नपाउनासाथ अर्को पाँच वर्षपछि पर्नुपर्ने हुन्छ । त्यसैले आकाशे खेती गरिने खेतबारीमा वर्षाको पानी पर्नासाथ भल छोपेर रोपाइँ गर्नु परेजस्तै राजनीतिक खेती पनि एक प्रकारले भन्ने हो भने भल छोपाइको खेती हो । त्यसमा जो पहिलो भयो त्यसैले अवसर पाउँछ । यस्तो अवसरका लागि नेताहरूको कृपादृष्टि पर्नुपर्दछ । अरू पछाडि धकेलिन्छन् ।
पार्टीका समर्पित नेताहरूले टिकट नपाउँदा पनि संयमतापूर्वक सामाजिक सञ्जालमा स्टाटस लेखेको पाइएको छ भने आफैँ बनेको होइन कसैले पार्टीको सदस्य बनाएर उभ्याएको तर भित्रैदेखि पार्टीप्रति आस्था र सम्मानभाव नभएको स्वार्थले मात्रै कुनै पार्टीको सदस्य भइटोपलेका व्यक्ति भने आपूmले टिकट नपाउनासाथै कोकोहोलो गरेर सामाजिक सञ्जालमा पार्टी परित्याग गर्नेदेखि स्वतन्त्र उम्मेदवारी दिनेसम्मका आलापहरू सार्वजनिक गरिरहेका छन् । हुन त राजनीतिमै लागेर आफ्नो जीवन र धनसमेत समाप्त पारिरहेका नेताहरूले राजनीतिबाहेका अर्को व्यवस्था तथा पेशाजस्ता विकल्प नहुनासाथ राजनीतिमा केही प्राप्तिको अपेक्षा राख्नु अन्यथा होइन । नत्र भने राजनीतिलाई व्यवसायभन्दा समाजसेवाको रूपमा लिएर काम गरिरहेका नेताहरूको संख्या कति छ भनेर हेर्ने हो भने त्यस प्रकारका नेता थोरैमात्रै पाइएलान् ।
थोरैमात्र होइन त्यस खालका नेता पाइयो भने त्यो अपवादमात्र मानिन थालेको छ । आख्यान साहित्यमा अप्रतिनिधिपात्र भनेर पढिने खालको पात्र बन्न जान्छ त्यस प्रकारको राजनेता । प्रनातन्त्र पुनःप्राप्तिपछिको पहिलो, दोस्रो र केही संख्यामा तेस्रो आमनिर्वाचनसम्म त्यस्ता नेताहरू पाइन्थे तर हाल पाउनै नसकिने भएको छ । यो दुःखको कुरा हो । अब त झन् दिनप्रतिदिन त्यस्तो सम्भावना समाप्त बन्दै गइरहेको छ । वर्तमान समयको राजनीतिमा संलग्न व्यक्तिहरू र राजनीतिलाई नियालिरहेका शुभचिन्तकलाई प्रष्ट रूपमा थाहा छ, भनिरहनै पर्दैन । खेती किसानी गर्दा विभिन्न प्रकारको प्राकृतिक प्रकोपका कारण उब्जनी घट्यो भने पनि पोहोरको भन्दा कम भयो भन्नेमात्र हो, हातलागी शून्यको अवस्था आइपर्दैन र त्यस्तो दूरावस्था भोग्नु पर्दैन ।
राजनीति भने यसको अपवाद हो । कुनै एउटा पदमा एकजनाले टिकट पाउनासाथ लाममा भएका अरू सबै पाखा लाग्नैपर्छ । त्यस्ता पदमा एकजना उम्मेदवार विजयी भयो भने अरू सबै पराजित बन्नैपर्छ । यो राजनीतिको विशेषता हो । त्यसैले सबैजना मरिमेटेर टिकटका लागि टाउको फोराफोर गरेका हुन् भन्ने देखिँदै आएको छ । राजनीतिको यो महासमरमा दशैँ ओझेलमा प¥यो । यसैगरी दीपावली, नेपाल सम्वत् अनुसारको नयाँ वर्ष, छटलगायत चाडपर्वसमेत ओझेलमा पर्ने निश्चित छ । नेताहरू आगामी मंसिर चार गतेसम्म हाम्रा घरदैलोमै भेटिनुहुन्छ । त्यसपछि हारे वा जिते जे गरे पनि उहाँहरूलाई यसरी भेट्न अर्को निर्वाचन कुनुपर्छ । राजनीतिलाई व्यापार होइन समाजसेवाका रूपमा हेर्ने गरिएको थियो भने यस्तो अवस्था आउने थिएन ।
यस पटकको मनसुन अझै निख्रिएको छैन । दशैँबीच भारी वर्षा हुनाले देशभर धनजनको क्षति हुन पुग्यो । केही मानिसलाई घरबारविहीन बनाएको छ । उनीहरू सरकारसँग राहतको पर्खाइमा छन् । राजनीति गर्नेहरूले, राजनीति गरेर सरकारमा बसेकाले र भविष्यमा आफू राजनीतिमै सक्रिय रहिरहन्छु भन्नेहरूले त्यसतर्फ दृष्टि राखिदिए महाकवि लक्ष्मीप्रसाद देवकोटोले भनेजस्तो आर्तहरूको चहराइरहेको घाउमा मलम लाग्ने काम हुनसक्थ्यो । यसो भयो भने निश्चय उम्मेदवारहरूका भोट घट्ने थिएनन् बरू बढ्थे । सरकारी तथा गैरसरकारी संघसंस्थाको सक्रिय भूमिका यस्तै बेला बढी अपेक्षित हुने थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच