काँग्रेस नेता भण्डारी : जसको प्रत्येक दशैं माझी बस्तीमा

Read Time = 8 mins

गुल्मी । नेपालीहरुको महान चाड बडा दशैंमा मान्यजन, जेष्ठ नागरिक तथा उच्च पदस्थ व्यक्तिबाट टिका र आर्शीवाद लिने चलन छ । शक्ति पिठ तथा शक्ति केन्द्रको दर्शन गरी आर्शिवाद लिने परम्परा छ । आर्थिक रुपमा सम्पन्न तथा हुनेखानेहरुले दशैं पर्व विशेष रुपमा मनाउँछन् । तर, विपन्न बर्ग तथा हुँदा खानेका लागि दशैं पर्व आउनु र नआउनुको खासै अर्थ रहँदैन । विपन्नलाई आर्थिक बोझ थप्ने भएकाले गरिब परिवारले दशैलाई दशाको संज्ञा दिने गरेको पनि सुनिन्छ ।

तर, चाडपर्वको महत्व र गरिबीको बाध्यता बुझ्ने मन कसैमा भयो भने गरिब र विपन्न परिवारमा समेत दशंै लगायतका चाडपर्व उल्लासमय बन्दो रहेछ । विगतमा दशैं कस्तो हुन्छ भनेर अनूभूत गर्न नपाएका गुल्मीका विपन्न माझी समुदायले पछिल्लो समय दशैं पर्व विशेष रुपमा मनाउन थालेका छन् । नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् संविधान सभा सदस्य डा। चन्द्र भण्डारीले दशैं पर्व विपन्न माझी बस्तीमा पुगेर मनाउन थालेपछि सो समुदायमा दशैं सम्पन्न परिवारको जस्तै उल्लासमय बन्न थालेको छ । उहाँले विगत एक दशक देखि प्रत्येक वर्ष विपन्न माझी परिवारमा दशैं पर्व मनाउने र खुसी साटासाट गर्न थालेपछि आफ्नो समुदायमा समेत दशैको खुसीयाली छाउन थालेको माझी परिवार बताउँछन् ।

दशैं मनाउन काँग्रेस नेता भण्डारीले गुल्मीको गुल्मीदरबार गाउँपालिका–१, बलिथुमस्थित माझी बस्तीमा पुग्दा सयौं माझी परिवारमा खुसीको माहोल देखिन्थ्यो । स्थानीय होमबहादुर माझी विपन्न समुदायमा केन्द्रीय नेता सहित दशैं मनाउन थालेपछि चाडपर्वको फरक अनुभुती गर्न पाएको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएको आफ्नो समुदायमा भण्डारी नआउनुभएको समयमा दशैं पर्व कस्तो हुन्छ भन्ने अनुभूतसमेत गर्न नपाएको बताउनुभयो ।

उहाँले खोलमा माछा मारेर जीविकोपार्जन गर्ने आफ्नो समुदायमा चाडपर्वको मनाउने चलन नभएको बताउँदै भन्नुभयो “दशैं लगायत चाडपर्व धनी तथा हुने खानेका लागि मात्र हो भन्ने थियो । तर, काँग्रेस नेता डा।चन्द्र भण्डारीले हामी जस्तो विपन्न समुदायमा दशैं मनाउन थालेपछि बल्ल हामीले दशैं पर्वको अनुभव गर्न पाएका छौँ ।” नेता भण्डारी आफ्नो बस्तीमा आएर दशैं जस्तो विशेष पर्व मनाउन थालेपछि आफ्नो समुदाय अत्यन्तै खुसी र हर्षित भएको उहाँले प्रतिक्रिया दिनुभयो । गुल्मी जिल्लाका अत्यन्तै विपन्न समुदाय माझी बस्तीको शैक्षिक, आर्थिक तथा सामाजिक विकासको दृष्टीले पछाडि परेको छ ।

नेता भण्डारीले उक्त विपन्न परिवारको अवस्था सुधार गर्ने उद्देश्ले चाडपर्व विशेष कार्यक्रम सोही समुदायमा मनाउन थालेको भण्डारीका स्वकीय सचिव माधव न्यौपानेले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण दैनिक जीविकोपार्जन गर्न समेत कठिन माझी समुदायमा नेता भण्डारीले दशै पर्वको खुसी साटासाटको साथै सामाजिक तथा शैक्षिक सुधारका लागि झण्डै एक दशक पहिले देखि विशेष अभियाननै सूरु गर्नुभएको थियो ।

स्थानीय होम बहादुर माझीका अनुसार नेता भण्डारीले बलिथुमको माझी बस्तीमा मात्र ५० वटा पक्की घर निर्माण गरी माझी परिवारलाई हस्तान्तरण गर्नुभएको छ । शैक्षिक अवस्था अत्यन्तै कमजोर भएको सो बस्तीमा नेता भण्डारीको पहलमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण पनि गरिएको छ । माझी परिवारमा बालबालिकालाई विद्यालय पठाउने चलन अत्यन्तै कम थियो । गाउँमा विद्यालय स्थापना भएपछि माझी परिवारले आफ्ना सबै बालबालिका विद्यालय पठाउन थालेका छन् । ती बालबालिकाका लागि नेता भण्डारीले शैक्षिक सामाग्री तथा उनका अभिभावकलाई आर्थिक सहयोग समेत उपलब्ध गराउन थालेपछि माझी बस्तीको दैनिकी नै फेरिएको छ । दशैं पर्व मनाउन नेता भण्डारी प्रत्येक बर्ष माझी बस्ती पुग्दा उनीहरुले आफ्नो अभिभावक आएको अनुभूत गर्ने गरेको स्थानीय लक्ष्मण भण्डारीले बताउनुहुन्छ ।

नेता भण्डारीकै पहलमा गुल्मीको कालीगण्डकी गाउँपालिका–५, स्थित माझी बस्तीमा झण्डै १०० वटा पक्की भवन निर्माण गरी समुदायमा हस्तान्तरण गरिएको छ । त्यसैगरी छत्रकोट गाउँपालिका–१ बोटेगाउँ माझी बस्तीका बालबालिकालाई समेत नेता भण्डारीको विशेष पहलमा बालबालिकालाई शैक्षिक समाग्री तथा अभिभावकलाई सहयोग सूरु भएसँगै समुदायको अवस्थामा परिवर्तन आएको छ । दक्षिण एसियाकै नमुनाको रुपमा देखिने गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने झोलुङ्गे पुल निर्माणको लागि नेता भण्डारीको विशेष पहल रहेको छ ।

काँग्रेस नेता भण्डारी आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि गुल्मीको निर्वाचन क्षेत्र नं– १ बाट सत्तारुढ गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएको छ । जिल्लालाई विकास निर्माणमा नमूना बनाउन आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो । आफु संविधान सभा सदस्यमा निर्वाचित हुँदा भएका विकास निर्माणका कामलाई पुरा गर्न र हरेक दृष्टिकोणले गुल्मी जिल्लालाई समुन्नती जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको उहाँले उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?