रुपन्देही क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत हटाउन गठबन्धनको माग

Read Time = 4 mins

चन्द्रकान्त खनाल
रुपन्देही । सत्ता गठबन्धनमा आबद्ध दलहरुले रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतलाई परिवर्तन गरी उनको ठाउँमा अन्य अधिकृत खटाउन माग गरेका छन् । क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदवीर नेपालीका कतिपय निर्णय राजनीतिक पूर्वाग्रही रहेको पाइएको भन्दै गठबन्धनमा आबद्ध दलहरुले नेपालीलाई हटाउन माग गरेका हुन् ।

बुधबार रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालामार्फत् निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउँदै सत्ता गठबन्धनमा आबद्ध दलहरु नेपाली काँग्रेका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पर्शुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द केसी, नेकपा एकीकृत समाजवादीका नेता चीनबहादुर गुरुङ, जनमोर्चा नेपालका पदम श्रेष्ठ र नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य हरि घर्तीमगरले नेपालीलाई तत्काल हटाउन माग गर्नुभएको हो ।

उहाहरुले अदालतमा मुद्दा विचारधीन रहेको पत्र अदालतले निर्वाचन आयोगलाई पठाउँदासमेत त्यसको बेवास्ता गरि क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी रद्ध गरिएको जनाउनु भएको छ । यस्तै, दलहरुले हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) ले पुरस्कार पाए वापत भनेर उम्मेदवारी रद्ध गरिएकाले त्यो पनि गैरकानूनी भएको जनाएका छन् ।

दलहरुले बुझाएको ज्ञापन पत्रमा बृद्धाभत्ता, एकल महिला भत्ता, पेन्सन नपाउने र बेरोजगारले मात्र चुनाव लड्ने हो र ? मुद्दाले दोषी ठहर नगरी अदालतको मानहानी गर्ने, जनताको मौलिक अधिकारप्रति अंकुश लगाउने काम गर्न निर्वाचन आयोगलाई मिल्छ र ? भन्ने प्रश्न समेत गरेका छन् ।

दलहरुले क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत नेपाली राष्ट्रिय सभा अध्यक्षका निजी सचिवालयबाट आएकाले उनले गराउने निर्वाचन निष्पक्ष हुनेमा शंका गरेका छन् । ज्ञापन पत्रमा भनिएको छ, ‘उहाँको निष्पक्षतामा विश्वास गर्न सकिँदैन, त्यसैले नेपालीलाई हटाई उहाँको स्थानमा अरु पठाउने र क्षेत्र नम्बर २ को निर्णय सच्याउन निवेदन गर्दछौं ।’

ज्ञापन पत्र बुझ्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कोइरालाले दलहरुले बुझाएको ज्ञापनपत्र निर्वाचन आयोगमा पठाउने र समास्या समाधानमा आफ्नातर्फबाट सहजीकरण हुने जनाए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?