युक्रेनलाई आवश्यक परेजति सहयोग गर्छौँ : जी-७

Read Time = 2 mins

एजेन्सी/धनी देशहरूको समूह जी-७ का नेताहरूले रुससँगको युद्धमा आवश्यक परेजति र अन्तिमसम्म नै युक्रेनलाई सहयोग गर्ने बताएका छन् । रुसले सोमबार युक्रेनको राजधानी किएभसहित प्रमुख शहरका मुख्य क्षेत्रलाई निशाना बनाएर मिसाइल आक्रमण गरेपछिको अवस्थामा जी-७ का नेताहरूले सहयोग–साथको प्रतिबद्धता दोहोर्‍याएका हुन् ।

भच्र्युअल रूपमा आकश्मिक बैठक गरेका जी-७ का नेताहरूले युक्रेनलाई सैन्य तथा मानवीय सहायता निरन्तर प्रदान गरिरहने उल्लेख गरेका हुन् । यस्तै, पश्चिमा देशहरूको सैन्य गठबन्धन नेटोले पनि आवश्यक परेसम्म युक्रेनको साथमा उभिने उल्लेख गरेको छ ।

युक्रेनको राजधानीको मध्य क्षेत्रसहितका स्थानमा रुसले गरेको मिसाइल आक्रमणमा परेर कम्तीमा १९ जनाको मृत्यु भएको तथा अरू धेरै गम्भीर घाइते भएको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमियालाई रुससँग जोड्ने रणनीतिक महत्वको पुलमा भएको विष्फोटको जवाफमा मिसाइल आक्रमण गरिएको बताउनुभएको छ ।

रुसले गत २४ फ्रेब्रुवरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । त्यसयता लगातार रुसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गरिरहेको छ । युक्रेनका केही क्षेत्र टुक्राएर जनमत संग्रह गर्दै आफूमा गाभिएको रुसको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?