विश्व अर्थतन्त्र चुनौतीपूर्ण : आइएमएफ

Read Time = 3 mins

काठमाडौं । विश्व्यापी मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र अन्योलतातर्फ धकेलिएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ । रुस-युक्रेन युद्ध लम्बिँदै जानु, चीनमा शून्य कोरोना नीति लागू गर्नु र मुद्रास्फीतिका कारण खाद्यान्न तथा इन्धनको मूल्य बढ्दै जानुले विश्वव्यापी अर्थतन्त्रमा चुनौती थपिएको आइएमएफको भनाइ छ । उल्लेखित चुनौतीबीच सन् २०२२ को विश्वव्यापी आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहने आइएमएफले जनाएको छ ।

मुद्रास्फीति नियन्त्रणमा नआउनु, रुस-युक्रेन युद्धले भयावह रूप लिँदै जानु र चीनमा कोरोना फैलिरहँदा चीनले अवलम्बन गरेको शून्य कोभिड नीतिका कारण सन् २०२३ अझै कष्टकर रहने आइएमएफद्वारा सार्वजनिक सन् २०२२ को अक्टोबर महिनाको वल्र्ड इकोनोमिक आउटलेट प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार २०२३ मा आर्थिक वृद्धिदर अझै घटेर २.७ प्रतिशत रहने अनुमान गरेको छ । मुदास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउँदा डलर हालसम्मकै उच्च हुन पुगेको छ भने अन्य मुलुकका मुद्रा कमजोर बन्दै गएका छन् ।

त्यस्तै, रुस-युक्रेन युद्धका कारण युरोप र बेलायतमा इन्धन तथा प्राकृतिक ग्याँसको आपूर्ति रोकिदिँदा मूल्यवृद्धि आकासिएको छ भने केन्द्रीय बैंकहरूले औसत ब्याजदर बढाउँदा सन् २०२३ मा आर्थिक मन्दी हुने सम्भावना बढेको छ । सन् २०२४ सम्ममा मुद्रास्फीतिदर ४.१ प्रतिशत हुने आइएमएफको प्रक्षेपण छ । सन् २०२२ मा विकसित अर्थतन्त्रको आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने र सन् २०२३ मा खुम्चिएर १.१ प्रतिशत रहने बताइएको छ ।

विकासोन्मुख मुलुकको आर्थिक वृद्धिदर सन् २०२२ मा ३.७ प्रतिशत र सन् २०२३ मा पनि वृद्धिदर ३.७ प्रतिशत नै कायम रहने बताइएको छ । विकासोन्मुख एसियाली मुलुकको आर्थिक वृद्धिदर सन् २०२२ मा ४.४ प्रतिशत र सन् २०२३ मा ४.९ प्रतिशत र भारतको आर्थिक वृद्धिदर सन् २०२२ मा ६.८ प्रतिशत र सन् २०२३ मा ६.१ प्रतिशत रहने आइएमएफको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?