युवापुस्ताप्रति राजनीतिक नेतृत्व अनुदार, घट्यो उम्मेदवारी दिनेको संख्या

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । नेपाल विश्व युवा सूचकांकको ७७औँ स्थानमा पर्छ । विकासका विभिन्न मुद्दा र मुलुकको समग्र विकासको लागि युवाको विशेष प्रभाव र भूमिका रहन्छ । साथै, युवाको उपस्थितिले राजनीतिमा पुरातनवादी मनोवृत्ति परिवर्तन गर्न सक्छ । युवालाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ । मुलुकको राजनीतिक दूषित भएको आमनागरिकको गुनासो रहँदै आएको छ । बुढापाका उमेरका नेताहरूको कारण राजनीतिक प्रदूषित भएको अधिकांश नागरिकको ठम्याई छ । राजनीतिमा भएको प्रदूषणलाई सफाइ गर्न राजनीतिमा युवाहरूको सहभागिताको आवाज चौतर्फी उठिरहेको छ ।

राजनीतिमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको आमनागरिकको चाहना गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि प्रतिविम्ब भएको थियो । तर, स्थानीय तहको निर्वाचनको जनअभिमतलाई राजनीतिक दलहरूले आत्मसाथ गर्न नसकेको देखिन्छ । युवाप्रधान मुलुकमा युवालाई नेतृत्वको अवसरबाट वञ्चित गरिँदै आएको विगतको परम्परालाई राजनीतिक दलहरूले यसपटकको निर्वाचनमा पनि निरन्तरता दिएका छन् । जनआकांक्षाअनुसार राजनीति तथा नीतिनिर्माण तहमा युवाहरूको सहभागिता बढाउनुको सट्टा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ राजनीतिक दलहरूले युवा उम्मेदवारको संख्या थप घटाएका छन् ।

अघिल्लो संसदीय निर्वाचनमा ३४.८५ प्रतिशत यसपालि ३०.८२ प्रतिशत
मुलुकका प्रमुख राजनीतिक दलहरूले आकांक्षी युवालाई टिकटमा वञ्चित गर्दा २०७४ को संसदीय र गत स्थानीय निर्वाचनमा भन्दा कम युवाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाको १६५ सिटमा दुई हजार ५३१ र प्रदेशसभाको ३३० सिटमा तीन हजार ४८१ गरी ६ हजार १२ जना उम्मेदवार छन् । जसमध्ये २५ देखि ४० वर्षसम्म उमेर समूहका एक हजार ८५३ जना अर्थात् ३० दशमलव ८२ प्रतिशत मात्रै युवा छन् ।

अघिल्लो संसदीय निर्वाचनमा ३४ दशमलव ८५ प्रतिशत युवा उम्मेदवार थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका पाँच हजार १९० जनामध्ये एक हजार ८०९ अर्थात् ३४ दशमलव ८५ प्रतिशत ४० वर्षमुनिका थिए । पाँच महिनाअघि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ४५ हजार १३ उम्मेदवारमध्ये ५९ हजार ४७२ जना अर्थात् ४१ प्रतिशत युवा उम्मेदवार थिए । स्थानीय तहमा ४० वर्षभन्दा कम उमेरका १४ हजार ४०४ जना निर्वाचित भएका छन् । जुन बहालमध्ये ४० प्रतिशत हो ।

४१ देखि ९९ वर्षका ६९ प्रतिशत
यसपटक प्रतिनिधिसभा सदस्यमा २५ देखि ४० वर्षसम्म उमेर समूहका ७८३ जना उम्मेदवार छन् । २५ वर्षका उम्मेदवार मात्र २० जना छन् । ४१ देखि ९९ वर्ष उमेरसम्मका एक हजार ७४८ जना अर्थात् ६९ प्रतिशत छन् । ८० वर्षदेखि ९९ वर्षसम्मका १० जना उम्मेदवार रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । ९९ वर्षीय टीकादत्त पोखरेलले गोरखा-२ मा नेपाली कांग्रेस बिपीका तर्फबाट उम्मेदवारी दिनुभएको छ । राप्रपाका ८७ वर्षीय युवराम गौतमले तेह्रथुम, ८० वर्षका लोसपाका महन्थ ठाकुरले महोत्तरी-३, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बागलुङ १, स्वतन्त्रबाट हृदयनारायण प्रसाद बरैले पर्सा-१ बाट उम्मेदवारी दिनुभएको छ । यस्तै, माओवादीबाट ८५ वर्षीय महिन्द्रराय यादवले सर्लाही-३, स्वतन्त्रबाट ८५ वर्षकै विष्णुप्रसाद ढकालले काठमाडौं-६ र ८४ वर्षीय पशुपतिनाथ तिमिल्सिनाले स्वतन्त्रबाट कास्की-३ मा उम्मेदवारी दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा ८४ वर्षीय कर्णसिंह रावल र ८१ वर्षका कृष्णराज गिरीले बारा-१ मा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

प्रदेशसभामा २५ देखि ४० वर्षसम्मका एक हजार ७० युवाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्, यो कुल उम्मेदवारीको मात्र ३०.७३ प्रतिशत हो । २५ वर्षका उम्मेदवार जम्मा ३२ जना मात्र छन् । ४० वर्ष माथिका उम्मेदवार दुई हजार ४११ र ८० वर्षभन्दा माथिका चार जना उम्मेदवार छन् । पर्वत १ (२) बाट राप्रपाका ८५ वर्षीय बालकृष्ण पौडेलले उम्मेदवारी दिनुभएको छ । म्याग्दी १ (२) मा ८१ वर्षीय झलकबहादुर बानियाँले राप्रपाबाट उम्मेदवारी दिनुभएको जनाएको छ । ८० वर्षका जयप्रसाद चौलागाईंले झापा-४ (२) मा स्वतन्त्र र दिलबहादुर सोदेम्बाले तेह्रथुम-१ (२) लोसपाबाट उम्मेदवारी दिनुभएको छ । प्रदेशसभाका उम्मेदवारमध्ये सबैभन्दा बढी ४० देखि ४९ वर्ष उमेर समूहका एक हजार ६८ जना छन् । ६० देखि ६९ उमेर समूहका ४०८ जना उम्मेद्वार छन् ।

महिला उम्मेदवार ९.२८ प्रतिशत मात्रै
आसन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महिला उम्मेदवार २३५ जना अर्थात् ९.२८ प्रतिशत मात्रै छन् । कांग्रेसले ६, एमालेले १२, माओवादीले आठ, एकीकृत समाजवादीले एक जना महिलालाई मात्र टिकट दिएको छ । सबैभन्दा बढी उम्मेदवार उठाएको राप्रपाले पनि आठजना महिला मात्र समेटेको छ । स्वतन्त्र उम्मेदवारी दिने महिलाको संख्या ८५ छ । प्रदेशमा तीन हजार १८३ पुरुष र २९७ जना महिला उम्मेदवार छन् । प्रदेशमा ८.५३ प्रतिशत मात्रै महिला उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसले पाँच, एमालेले ११, माओवादीले नौ, एकीकृत समाजवादीले सात, लोसपाले आठ, जसपाले १३, राप्रपाले १८ महिला उम्मेदवार उठाएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिने महिलाको संख्या १०८ जना छ । दुवै सभामा गरी पुरुष उम्मेदवार पाँच हजार ४७९ (९१.१३ प्रतिशत) र महिला ५३२ (८.८४) छन् ।

उम्मेदवारी घट्नु राम्रो संकेत होइन
आमनिर्वाचनमा युवाहरूको सहभागिता घट्नु दलका बुढा पुस्ताका नेताहरूको सोचमा अझै परिवर्तन आउन नसकेको पुष्टि हुने अधिकांश राजनीतिक दलका युवा नेताहरूको टिप्पणी छ । नेपाली कांग्रेसका युवा नेता जयराम दाहालले राजनीतिक नेतृत्वको गलत नियतका कारण युवाहरूको सहभागिता घटेको जिकिर गर्नुभयो । राजनीतिमा जेलिएको विकृति र विसंगतिको परिणाम युवाको सहभागिता घटेको टिप्पणी गर्दै दाहालले भन्नुभयो, ‘राजनीतिक नेतृत्वको नियत गलत छ । पार्टी र संगठनमा गरेको योगदानभन्दा पनि आफूनिकट, आफ्नो गुटको त्यसमा पनि धनवाद र डनवादलाई प्राथमिकता दिने, अवसर दिने प्रवृत्ति पुनः देखियो । राजनीतिक नेतृत्वले पार्टीमा निरन्तरता, योगदान, जनाधार र निष्ठाभन्दा पैसा, पावर हेरेर टिकट दिएका कारण युवाहरूको सहभागिता घट्यो । नेपाली कांग्रेसकै कुरा गर्ने हो भने टिकट वितरण गर्ने तहमा बसेका नेताहरूबाट योगदान र जनाधारभन्दा आफूनिकट, आफ्नो गुट र पैसा भएको व्यक्तिलाई टिकट दिने आधार बन्यो । पार्टीका भ्रातृ संगठन डामाडोल पारेर गठबन्धन र पैसाको बलमा चुनाव जित्न सकिन्छ भन्ने सोच हाबी भयो । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आमनागरिकको जुन आशा र विश्वास थियो, कांग्रेससहित राजनीतिक दलको नेतृत्वमा रहेको गलत नियतले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि बढ्दै गएको छ । स्वतन्त्रका नाममा दल खोल्ने र स्वतन्त्रको नाममा विभिन्न प्रवृत्तिका व्यक्ति उम्मेदवार बन्ने कारण राजनीतिक नेतृत्वकै गलत नियत प्रवृत्तिको उपज हो ।’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारीणी सदस्य एवं युवा नेता केशव झाले आसन्न निर्वाचनमा युवाहरूको उम्मेदवारी घट्नु मुलुकको राजनीतिको लागि शुभसंकेत नभएको जिकिर गर्दै भन्नुभयो, ‘यो मुलुकको राजनीतिको लागि शुभसंकेत होइन । यसले राजनीतिलाई गतिशील बनाउँदैन । राजनीतिप्रति आमनागरिकमा थप निराशा छाउँछ, जुन राजनीतिक दल र वर्तमान राजनीतिक व्यवस्थाको लागि पनि राम्रो संकेत होइन ।’

आमनिर्वाचनमा युवा उम्मेदवारको संख्या विगतमा भन्दा कम भए पनि राजनीतिप्रति सचेतना र जागरण बढेको कतिपय युवा नेताहरूको जिकिर छ । पुरानो पुस्ताका राजनीतिक नेतृत्वको सोचमा अझै परिवर्तन आउन नसके पनि दलहरूमा युवापुस्ताले हस्तक्षेपकारी भूमिका देखिन थालेको उनीहरूको जिकिर छ ।

कानुनमा युवा कति प्रतिशत हुने भन्ने यकिन भने छैन । कानुनमा युवाको सहभागिताबारे यकिन नभएसम्म यो प्रवृत्ति दोहोरिँदै जाने युवाहरूको भनाइ छ । राजनीतिक दलहरूले युवालाई मार्गप्रशस्त नगरेकै कारण स्वतन्त्र उम्मेदवारी पर्नेक्रम बढ्दै गएको उनीहरूको तर्क छ । राजनीतिक दलहरू युवा, दलित, जनजाति र अल्पसंख्यकका अधिकारका विषयमा चर्का भाषण गरेर थाक्दैनन् । तर, व्यवहारमा भने सबै सधैँ अनुदार देखिने गरेका छन् । संविधानले नै सुनिश्चत गरेको समावेशी प्रतिनिधित्वलाई समेत नेतृत्वले बेवास्ता गर्दा संसद्देखि दलहरूमा प्रतिनिधित्व न्यून हुँदै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?