निर्वाचन राजनीतिक दलहरू र राजनीतिकर्मीहरूका निमित्त ठूलो पर्व हो । मंसिर चारको निर्वाचन जति नजिक आउँदै छ, राजनीतिक दलहरू र केही स्वतन्त्र उम्मेदवारहरू त्यति नै सक्रिय हुनथालेका छन् । दशैँ आउँदा जसरी धन भएकाहरू रमाउँदै उत्साहका साथ चाड मनाइरहेका हुन्छन्, यो निर्वाचन नजिकिँदै जाँदा टिकट पाएका नेताहरू त्यसैगरी नै हौसिएका छन् । ठूला पर्वका बेला धन नभएका कारण हर्षोल्लासका साथ चाड मनाउन नपाउनेहरूलाई जुन पिरलो परेको हुन्छ, पार्टीले टिकट नदिएर अन्यायमा परेकाहरूलाई अहिले त्यस्तै चिन्ताले सताएको छ ।
आमनिर्वाचन जनताका निमित्त पनि भविष्य बनाउने कि आफ्नो खुट्टामा आफै बञ्चरो हान्ने भनी निर्णय गर्ने अवसरसमेत हो । मतदाताले गरेको सही निर्णयले पाँच वर्षका लागि ढुक्क भएर सुनौला समयहरू हेरेर बिताउने अवसर प्राप्त हुन्छ भने भावनामा बगेर मतदान गर्दा एकमात्र गल्ती गरियो भने पलपलमा आफंैलाई धिक्कार्दै बस्न बाध्य हुनुपर्दछ । यो त मेरो पहिलेदेखि नै समर्थन गरेको पार्टीको उम्मेदवार, यो त मेरो नातेदार, यो त मेरो छिमेकी, यो त मेरो चिनजानको मान्छे जस्ता कुराहरूमा लागियो भने पछुताउनु सिवाय केही हात लाग्दैन । त्यसैले भ्रष्टाचारीमा आफ्नो मत नजाओस्, नातावादका कारण टिकट पाएकालाई जित्ने सुविधा प्राप्त नहोस्, धनका बलले राजनीतिमा आएकालाई आफ्नो समर्थन नहोस्, आजै पार्टी प्रवेश गरेर आजै टिकट लिएका अवसरवादीलाई सांसद हुने अवसर प्राप्त नहोस् जस्ता कुराहरूमा जनता सम्वेदनशील हुने बेला यही नै हो ।
एउटै नेतालाई बारम्बार टिकट दिने, गनाएको छ कि जनताका माझमा प्रिय छ वास्ता नगर्ने, देश र जनताका लागि आवश्यक हो कि विगतदेखि धोका दिँदै आएको छ । मतलब नगर्ने गरेको अनुभूति भएको छ । गुट, उपगुटहरूका बीचको समन्वयलाई मात्रै ख्याल गर्ने बानी दलहरूलाई पर्दै गएको छ ।
जबजब चुनाव आउँछ, राजनीतिक पर्यवेक्षकहरू राजनीतिक दलहरूले विगतमा के गरे र के गरेनन् भन्ने विमर्श गर्न थाल्दछन् । जनताहरू पनि असल को हो र खराब को हो भन्ने छलफलमा जुट्दछन् । नेपालीहरूको बानी चाहिँ के देखिएको छ भने जतिसुकै अन्तक्र्रिया भए पनि नानीदेखि लागेको बानी भनेर आफ्नो पुरानो लगावलाई छाड्न सक्दैनन् । रेष्टुरेण्टमा गएर सबै मेनु पढे पनि कि त चाउमिन या मम मगाए जस्तै अधिकांश मतदाताको रोजाइ कि त नेपाली कांग्रेस या नेकपा एमाले नै हुने गरेको छ । ममले जतिसुकै ग्याष्ट्रिक बढाओस् या चाउमिनले जतिसुकै कोलेष्ट्रोल चढाओस्, जिब्रोमा परेको स्वादका कारण यिनै दलहरू नै चयनमा पर्ने गरेका छन् । कोही कोहीले क्यान्सर लाग्छ भन्ने जान्दाजान्दै सेकुवा अर्डर गरे झैँ माओवादीलगायतका दलहरू पनि छान्ने गरेका छन् ।
यही कारणले होला राजनीतिक दलहरूले टिकट वितरण गर्दा सम्वेदनशील भएको देखिँदैन । विशेषगरी नेपाली कांग्रेस, एमाले र माओवादीले आफूले जसलाई टिकट दिए पनि हुन्छ र त्यसलाई जनताले साथ दिनै पर्दछ भन्ने मान्यता राखेको पाइन्छ । एउटै नेतालाई बारम्बार टिकट दिने, गनाएको छ कि जनताका माझमा प्रिय छ वास्ता नगर्ने, देश र जनताका लागि आवश्यक हो कि विगतदेखि धोका दिँदै आएको छ । मतलब नगर्ने गरेको अनुभूति भएको छ । गुट, उपगुटहरूका बीचको समन्वयलाई मात्रै ख्याल गर्ने बानी दलहरूलाई पर्दै गएको छ । गुटको समन्वयमा पनि आफ्ना कोटरीका, नातागोताका र हुक्के बैठकेहरूले प्राथमिकता पाएको देखिन्छ । नेपाली कांग्रेसकै कुरा गर्ने हो भने गुरुराज घिमिरे जस्ता नेताहरूले टिकट नपाएर डेंगुको संक्रमण भई घरमा बस्नुपर्ने बाध्यता आउनु भनेको विडम्बना नै मान्नुपर्दछ । बाग्लुङका किरण पौडेलले अपमान भएको महसुस गर्दै ४५ वर्ष बिताएको पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिँदै असंलग्न बस्नुलाई सहज रूपमा स्वीकार्न जो कसैलाई सजिलो हुँदैन होला । पार्टीको टिकट वितरणप्रति असन्तुष्ट हुँदै लोकतान्त्रिक भनिएको नेपाली कांग्रेस परित्याग गर्दै सयौँँ कार्यकर्ता नेपाली कांग्रेस बीपीमा प्रवेश गर्नु पनि कसैका लागि निश्चय नै हर्षको सन्दर्भ होइन । आफ्ना समकालीनहरू ठूलाठूला पदमा पुगिसक्दा पनि आजसम्म कुनै पनि तहको सम्मान नपाएर आँसु पिउँदै कांग्रेसमै रहेको घोषणा गर्ने बाग्लुङकै टेकराज पौडेलहरूका कथाले नपिरोल्ने पनि कोही नहोला ।
सबैलाई टिकट दिन निश्चय नै सम्भव छैन । अझ पाँच पार्टीको गठबन्धन भएपछि सबै क्षेत्रमा सबै वरिष्ठहरूले अवसर पाउने सम्भावना पक्कै रहँदैन । लामो समयसम्म पार्टीमा काम गरेका यति नबुझ्ने कोही पनि नेपाली कांग्रेसमा शायदै कोही होला । आफूभन्दा केही मात्रै वरिष्ठ भए पनि उसलाई सहजरूपमा सम्मान गर्नेहरूको जमात नै नेपाली कांग्रेस हो तर कुनै पनि तबरले आफूमाथि अन्याय भएको अनुभव भयो भने त्यसको विरोध गर्ने लोकतन्त्रवादीहरूको आधारभूत चरित्र नै हो । यसैकारणले अहिले नेपाली कांग्रेसका कतिपयले विद्रोह गरेको देखिएको छ । कोही धन भएका कारण आज पार्टी प्रवेश गर्ने र टिकट लिने, कोही डन भएका कारण चुनाव लड्ने अवसर पाउने र कोही पार्टी परिवर्तन गरेका कारण एक हातमा पार्टी सदस्यता र अर्को हातमा टिकट लिएर चुनावी मैदानमा होमिन पाउने अवसर नेपाली कांग्रेसमा मात्रै होइन, अरू दलमा समेत प्राप्त भएको छ । पार्टी संगठनका लागि वर्षौं मिहिनेत गरेकाहरू भने लोकतन्त्र, पार्टी र जनताका नाममा त्याग गर्न भन्दै दिइएको आदेशलाई शिरोपर गरेर नवप्रवेशीहरूको चुनाव प्रचारमा पछिपछि कुद्न बाध्य पारिएको छ ।
नेकपा एमालेले भने आफ्नो सिद्धान्त अनुरूप शतप्रतिशत सही काम गरेको छ । जनवादी केन्द्रीयता उनीहरूको आदर्श नै हो । पार्टीको अध्यक्षका विपरीत कोही कसैले सानो आवाजमात्रै उठाउँछ भने पनि उसमाथि कारबाही गर्नु भनेको कम्युनिष्ट पार्टीको सामान्य मान्यता नै हो । त्यसैले जसले केपीबा भन्दैन उसलाई सखाप पारिएको छ र जसले त्वमेव माता च पिता त्वमेव भनेको छ उसलाई आवश्यकता भन्दा बढी अवसर दिइएको छ । योगेश, गोकर्णहरूले आफूलाई र आफ्ना मान्यतालाई तिलाञ्जलि दिँदै यो मत्र्यलोकको सत्य एकमात्र केपीबा हुन् भने टिकट पाए, घनश्याम र भीम रावलहरूले म पनि केही हुँ भने पाएनन् । तर कांग्रेसको राजनीतिक मर्म त्यस्तो थिएन । चुनाव लडेर आफू प्रधानमन्त्री हुने भएपछि विश्वेश्वरप्रसाद कोइरालाले मजदुर आन्दोलन हाँकेका आफ्ना भाइ गिरिजाप्रसाद कोइरालालाई विसं. २०१५ को टिकट दिएका थिएनन् । एउटै परिवारबाट सबै सांसद् हुन हुँदैन भन्ने मान्यता राखेका थिए । आफ्ना आलोचकहरू र टिप्पणीकर्ता भएका कारण चुनाव लड्ने अवसरबाट वञ्चित पनि गरेका थिएनन् । अहिलेको कांग्रेसमा भने त्यो प्रवृत्ति नदेखिँदा आमलोकतन्त्रवादीहरूको चिन्ताको पारो बढ्दै गएको देखिन्छ ।
कम्युनिष्टमा जस्तो कांग्रेसमा हुन कदापि हुन्थेन । विचारको मन्थन र गलत कदमको विरोध लोकतान्त्रिक पार्टीमा अति आवश्यक तत्व हुन् तर मानिएन । कम्युनिष्ट शैली नै कांग्रेसमा अपनाइयो भन्ने व्यापक जनगुनासो सुनियो । देउवा बा, शेखर दा, गगन दा, विश्वप्रकाश दा, सिटौला बा जस्ता सम्मान दिएर दैनिक दैलो धाउनेले मात्र अवसर पाउने काम नेपाली कांग्रेसमा हुन हुन्थेन भन्ने सर्वत्र टिप्पणी गरिएको छ तर कांग्रेसमा त्यही भयो । यस्ता कामहरूले नेपाली कांग्रेसलाई मात्रै कमजोर बनाउने काम गरेन कि मुलकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै असफल तुल्याउँदै गएको छ ।
समानुपातिकको वर्तमान प्रणालीले अझ बढी विकृति भित्र्याएको चर्चा गरिँदैछ । पार्टीको संगठनलाई तीसौँ वर्ष लगाएर ध्वस्त पार्ने र पटक-पटक मन्त्री भएकाहरू समानुपातिकमा बस्ने गर्नाले दलहरूप्रतिका जनताको आस्था घट्दै गएको छ । त्यसमाथि आफू मन्त्री हुने र आफ्ना परिवारका सदस्यलाई समानुपातिकबाट सांसद् बनाउने गरी टिकट वितरण गर्नाले पार्टीहरूका कार्यकर्तामा निराशाको ज्वरो बढ्दै गएको छ । समानुपातिक प्रणालीको उद्देश्यभन्दा ठीकविपरीत बाटो दलहरूले समाउँदा पछिल्ला दिनहरूमा स्वतन्त्र उम्मेदवारहरूको लोकप्रियता बढ्दै गएको पाइएको छ ।
चुनाव लडेर आफू प्रधानमन्त्री हुने भएपछि विश्वेश्वरप्रसाद कोइरालाले मजदुर आन्दोलन हाँकेका आफ्ना भाइ गिरिजाप्रसाद कोइरालालाई विसं २०१५ को टिकट दिएका थिएनन् । एउटै परिवारबाट सबै सांसद् हुन हुँदैन भन्ने मान्यता राखेका थिए । आफ्ना आलोचकहरू र टिप्पणीकर्ता भएका कारण चुनाव लड्ने अवसरबाट वञ्चित पनि गरेका थिएनन् ।
संविधान नै यस्तो बनेको छ कि जनताले कुनै न कुनै राजनीतिक दल नै चयन गर्न बाध्य हुनुपर्दछ । संविधानले सार्वभौम अधिकार जनतामा निहित गरेको छ र त्यो अधिकार जनताले संसद्मा प्रतिस्थापित गरी संसद्मार्फत आफूमाथि आफैंले शासन गर्ने परिकल्पना गरिएको छ । संसद्मा पुगेका नेताहरूको मुहारमै आफ्नो छवि देख्नुपर्ने बाध्यता जनतामा छ । सांसद् र मन्त्री, प्रधानमन्त्रीहरू भ्रष्ट भए भने आफैं भ्रष्ट भएको, उनीहरू नालायक भए जनता नै नालायक भएको र उनीहरू सक्षम भए जनता सबल भएको अनुभूति गर्ने अहिलेको लोकतान्त्रिक संघीय गणतन्त्र हो । स्वतन्त्र व्यक्ति संसद्मा पुगे पनि ऊ प्रधानमन्त्री, मन्त्री हुने र देशको मुहार फेर्ने भन्ने असम्भवप्रायः छ । वर्तमान संसद् प्रत्यक्ष निर्वाचित र समानुपातिक तबरले निर्वाचितहरूको संयुक्त थलो हो । प्रत्यक्ष निर्वाचनमा त राजनीतिक दलहरूका प्रतिनिधिहरूलाई हराएर दलहरूले मुलुक र जनतालाई थिचोमिचो गरेको स्वाद फेर्न सकिन्छ । समानुपातिक निर्वाचनमा भने स्वतन्त्र व्यक्तिहरू उम्मेदवार भएर जित्ने अवस्थाको व्यवस्था नै छैन । त्यसैले दलहरूका उम्मेदवारहरू मध्येमा सर्वोत्कृष्ट जो छ, उसैलाई चयन गर्नु नै उत्तम हुने देखिन्छ ।
राजनीतिक दलहरूको विश्वास जनताले नगरेका भने होइनन् । दलहरूले जतिपटक भने त्यति नै पटक जनआन्दोलन तथा संघर्षहरूमा जनताले साथ दिएकै हुन् । दलहरूले पनि जनतामाथि आफ्नो प्रभाव पार्न असफल भएका होइनन् । देश र जनताको मुहार राजनीतिक दलहरूले नै फेर्न सक्दछन् भनेर जनताले ज्यानको बाजी थापेर पटकपटक व्यवस्था परिवर्तन गराएकै हुन् तर पनि मुलुक जनताले चाहे जसरी अघि नबढ्नु या नेता र दलहरूले बढाउन नखोज्दा नै सारा नेपालीका निमित्त संकटको बादलले घेरे जस्तै हुनपुगेको छ । अबका दिनमा सबै राजनीतिक दलहरू जनताप्रति उत्तरदायी हुँदै स्वतन्त्रहरूलाई चुनावमा निम्तो दिने काम नगरुन् भन्ने नै आमनेपालीको चाहना छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच