नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा छ प्रदेश सहभागी

Read Time = 3 mins

दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको दमौलीमा सञ्चालन हुने महिला बास्केटबलमा छ प्रदेश सहभागी हुने भएका छन् । शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडी आज दमौली आइपुगेका छन् ।

महिला बास्केटबल प्रतियोगिताअन्तर्गत दुई विधामा खेल सञ्चालन हुनेछ । छ जना खेल्ने खेलमा छवटा प्रदेश र तीन जना खेल्ने खेलमा छ प्रदेशसहित आठ वटा टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । तीन जना खेल्ने खेलमा छ वटा प्रदेशका अतिरिक्त सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टिम सहभागी हुँदैछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताका लागि बजार क्षेत्रमा स्वागतगेट, व्यानर टाँसिएको छ । शुक्रबार बिहान ११ बजे सम्पूर्ण जातजाति, विभिन्न क्लब, सङ्घसंस्था, खेलाडीको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ । झाँकी निर्मल मावि प्राङ्गणमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ । तनहुँले पहिचानसहितको कार्यक्रम गर्ने बताउँदै अध्यक्ष पाण्डेले भन्नुभयो, “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्छौं ।”

खेल सञ्चालनका लागि खेलमैदान तयार भइसकेको छ । खेलमैदानमा रङरोगन, सरसफाइ गरिएको छ भने मैदान सम्याउनका लागि ढलान गर्ने कार्य गरिएको छ । यहाँ रहेको दुई वटा मैदानमा खेल सञ्चालन हुनेछ ।

“खेलमैदान तयार भइसकेको छ, खेलाडी राख्नका लागि होटलको व्यवस्थापन सकिएको छ”, पाण्डेले भन्नुभयो, “स्थानीय सरकार, टोलवासी, दमौलीवासी खेललाई भव्यरुपमा सम्पन्न गराउन आतुर छन् ।” खेलमैदान नजिक चेञ्जिङ रुम र शौचालय तयार गरिएको छ ।

असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने खेलका लागि खेलाडी, अफिसियल सहित एक सय ५६ जना दमौली आइपुगेका छन् । आवासको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्ले गरिसकेको छ ।

खेलकुदलाई सुरक्षितरुपमा सम्पन्न गराउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग बैठक बसिएको छ । “शान्ति सुरक्षालाई चुस्त बनाउन जिल्लास्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखबाट सहयोगको प्रतिबद्धता व्यक्त भएको छ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?