आजदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक शुभारम्भ हुँदै

उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज (शुक्रबार) देखि औपचारिक शुभारम्भ हुँदै छ । यसको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुँदै छ । आज ४ बजे पोखरा रंगशालामा प्रतियोगिताको एक भव्य कार्यक्रमबीच उद्घाटन गरिदै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भए पनि अस्वस्थताका कारण उहाँ उपस्थित हुन नसकेपछि उपराष्ट्रपति पुनले उद्घाटन गर्न लाग्नुभएको हो । यस अघि २०७६ सालमा नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदको उद्घद्घाटन राष्ट्रपति भण्डारीले नै गर्नुभएको थियो ।

गण्डकी प्रदेशका आठै जिल्लामा आज (शुक्रबार)देखि राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक शुभारम्भ हुँदैछ । प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । शुभारम्भका लागि पोखरा रंगशालामा भव्य तयारी गरिएको प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी गराउनुभयो ।

उद्घाटन सत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी, विद्यार्थी लगायतले विभिन्न डेमो प्रदर्शन गर्ने छन् । उद्घाटन कार्यक्रममा नेपाली सेनाको टोलीले मार्च पाससहित सलामी अर्पण गर्ने कार्यक्रम छ । उद्घाटनकै वेलामा कलाकारले सांगीतिक प्रस्तुति दिने र विद्यार्थीले सामूहिक नृत्य गर्ने तयारी पनि भइरहेको छ । उद्घाटन कार्यक्रम झण्डै दुई घण्टा चल्ने छ ।

राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता छ । प्रतियोगितामा सात हजार ७९९ खेलाडी सहभागी हुनेछन् । महिला तीन हजार ६८५ र पुरुष चार हजार ११४ सहभागी छन् । प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० कास्यपदक वितरण गरिनेछ । प्रतियोगिताका लागि आएका खेलाडीको चहलपहलले यतिखेर पर्यटकीय नगरी पोखरा खेलमय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?