बाँके र बर्दियाबाट १३८ जना चुनावी मैदानमा

हिमालय टाइम्स
Read Time = 3 mins

दीपककुमार शर्मा/हिटा
बर्दिया । मंसीर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके र बर्दियाबाट १३८ जना चुनावी मैदानमा रहेका छन् । तीनवटा प्रतिनिधिसभा क्षेत्र र ६ वटा प्रदेशसभा क्षेत्र रहेको बाँकेमा नौ जनाका लागि ८९ जना चुनावी मैदानमा भिड्ने भएका छन् भने बर्दियामा दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभाका गरी ६ सिटका लागि ४९ जना चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ जनाले उम्मेदवारी फिर्ता लिएपछि ८९ जना चुनावी मैदानमा आएका हुन् । फिर्ता लिनेमा एकजना प्रतिनिधिसभाका र आठजना प्रदेशसभाका उम्मेदवार छन् । क्षेत्र न ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका रविन्दमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको थियो । यो क्षेत्रबाट गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार रहनुभएको छ ।

क्षेत्र न १ का प्रदेशसभा उम्मेदवार उग्रसेन यादव र विक्रम यादव, क्षेत्र नं २ प्रदेशसभातर्फ विनयचन्द्र गुप्ता र राजेन्द्र कँडेल, यसैगरी क्षेत्र नं ३ का प्रदेशसभा सदस्यका लागि उम्मेदवार दिनुभएका जाकिर हुसेन, दीपक जिएम, राजकुमार ढकाल, सन्तबहादुर खत्री र इन्द्र्रबहादुर थापाले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, बर्दियामा प्रतिनिधिसभाका लागि दुई सीटमा १८ जना भिड्ने भएका छन । क्षेत्र नं १ मा १० जना र दुई मा आठ जना चुनावी मैदानमा रहनुभएको छ । प्रदेशसभातर्फ चार सिटका लागि ३१ जनाले निर्वाचन लड्ने भएका छन् । यसअघि बर्दियामा प्रदेशसभातर्फका तीनजनाले मात्रै उम्मेदवारी फिर्ता लिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?