विद्रोही उम्मेदवार फकाउँदै कांग्रेस, उम्मेदवारी निष्क्रिय पारे कारबाही फुकुवा गर्ने

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको निर्णयविपरीत विद्रोही उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ । पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध विद्रोह गरी उम्मेदवारी दिएकाहरूको उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको हो । टिकट वितरणप्रति असन्तुष्ट नेता तथा कार्यकर्ताले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध ठाउँठाउँमा बागी उम्मेदवारी दिएका छन् । असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न कांग्रेसले आग्रह गरेको हो । यसअघि मंगलबार पनि कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो ।

३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाहीसमेत फुकुवा हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धतासहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याइ फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ,’ मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई कांग्रेसले बुधबार पाँच वर्ष निष्कासन गर्ने निर्णय गरेको थियो । औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिने समय भने सकिएको छ । आयोगले बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो ।

प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन, माओवादीले उम्मेदवारी निष्क्रिय पार्ने
सत्ता गठबन्धनले नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रभु साहलाई समर्थन गर्ने भएको छ । रौतहट–३ मा साहलाई समर्थन गर्ने निर्णय भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता असोज २३ गते भएको थियो । सोही दिन एमालेको टिकट त्यागेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँका अनुसार सोहीअनुसार माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बन्नुभएका रवीन्द्र पटेलको उम्मेदवारी निष्क्रिय पार्ने तयारी छ । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो । प्रभु साहको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूको सन्दर्भमा भने गठबन्धन मौन देखिएको छ । साह माओवादी पृष्ठभूमिकै नेता हुनुहुन्छ ।

बागी उम्मेदवारी दिएकाहरू एमालेबाट स्वतः निष्कासित
पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरू नेकपा एमालेबाट स्वतः निष्कासित भएका छन् । पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थक बस्नेहरू स्वतः निष्कासित भएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय कमिटी सदस्यहरूको हकमा केन्द्रीय कार्यालयबाटै उनीहरूको विवरण पार्टीको अभिलेखबाट हटाइनेछ । अन्यको हकमा सम्बन्धित कमिटीबाट हटाइने उहाँले बताउनुभयो ।

एमालेमा स्थायी कमिटी सदस्य घनश्याम भुसाल, प्रभु साह र केन्द्रीय सदस्य कुन्दन कुशवाह र गंगा चौधरीले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छ । उनीहरू स्वतः अब एमालेको केन्द्रीय कमिटीलगायत साधारण सदस्यबाट निष्कासनमा परेका हुन् । भुसालले रुपन्देही–१, साहले रौतहटमा–३, कुशवाहले प्रदेशसभातर्फ रौतहट-३ र गंगा थारूले दाङ–१ मा बागी उम्मेदवारी दिएका छन् । त्यस्तै, रामवीर मानन्धरले काठमाडौं–७ मा बागी उम्मेदवारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?