प्रधानमन्त्रीद्वारा जसपाका चार मन्त्री बर्खास्त

अब देउवाको जिम्मामा पाँच मन्त्रालय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी, नेपाल जसपाका मन्त्रीहरूलाई हटाउनुभएको छ । मन्त्रिपरिषद्बाट जसपाका चारजना मन्त्रीलाई हटाइएको हो । देउवाले मन्त्रीहरूलाई पदमुक्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ अनुसार उक्त मन्त्रालयहरूको जिम्मेवारी देउवालाई तोक्नुभएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, कृषि मन्त्री मृगेन्द्र सिंह, भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई र वन मन्त्री प्रदीप यादवलाई देउवाले पदमुक्त गर्नुभएको हो । जसपा सत्ता गठबन्धनबाट बाहिरिएपछि गठबन्धनले मन्त्रीहरूलाई हटाउनुपर्ने निचोड निकालेको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनलाई छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गर्नुभएको छ । जसपाले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभातर्फ १७ सिट पाएको छ ।

यसअघि गैरसांसद पनि मन्त्री हुने कानुनी व्यवस्थाअनुसार कानुनमन्त्री बन्नुभएका गोविन्द बन्दीको पनि कार्यकाल सकिएको थियो । अब देउवा सरकारमा ६ मन्त्रालय खाली भएका छन् । रक्षामन्त्री यसअघि कांग्रेस नेता मीनेन्द्र रिजालले राजीनामा दिएदेखि नै खाली रहेको छ । देउवाले रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफँै सम्हाल्दै आउनुभएको छ । कानुन मन्त्रालयको जिम्मा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले पाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?