मलाई कसैले पनि हराउन नसक्ने भएपछि षड्यन्त्रपूर्वक टिकट दिइएन : रावल

अध्यक्ष ओलीमाथि आरोपै आरोप, पार्टी नछाड्ने घोषणा

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीले सुनियोजित रूपमा उम्मेदवार बन्न नदिएको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्यायपूर्ण काम गरेको बताउनुभयो । ‘मसँग नसोधी, पार्टीमा योगदान नगरेको व्यक्तिलाई टिकट दिने अध्यक्षको काम स्वेच्छाचारी, अन्यायपूर्ण छ’, रावलले भन्नुभयो, ‘मलाई सुनियोजित रूपमा उम्मेदवार नबन्ने भन्ने प्रचार गरियो । एकल सिफारिस हुँदा पनि मलाई षड्यन्त्रपूर्वक रोक्ने काम भयो ।’

उहाँले आफूलाई हराउन नसकिने भएपछि टिकट नै नदिइएको पनि आरोप लगाउनुभयो । ‘मलाई हराउन नसक्ने भएपछि टिकट नै दिइएन । जुन कुरा जनता र कार्यकर्तालाई मन परेको छैन’, रावलले भन्नुभयो । रावलले पार्टीभित्रै रहेर बेथिति विकृतिविरुद्ध आवाज उठाइरहने घोषणा पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीभित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्छु, असंवैधानिक कदमविरुद्ध लगातार आवाज उठाउँछु’ ।’
नेता रावलले पार्टीभित्र र पार्टीबाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैँ विरोध गरिरहेको बताउनुभयो । पार्टी विभाजन रोक्नका लागि आफूहरूसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाउनुभयो । उहाँले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताउनुभयो ।

रावलले जनता समाजवादी पार्टी नेपालसँगको चुनावी तालमेलबारे आपत्ति जनाउनुभयो । ‘संविधान दिवसलाई कालो दिवस एवं एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने, लोसपाका मानिसहरूलाई बिहान पार्टी प्रवेश गराएर दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताका अनेकौँ कर्म र कुकर्म गरेकाहरूलाई धमाधम उम्मेदवार बनाउने कार्य पार्टीको कुन सिद्धान्त, विधि र अनुशासनभित्र पर्छ ?,’ रावलको प्रश्न छ । उहाँले नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालप्रति पनि आक्रोश व्यक्त गर्नुभयो । ढकाललाई समानुपातिकतर्फ उम्मेदवार बनाएकोमा रावलको आपत्ति छ । ‘युनिफिकेसन चर्चसँग आबद्ध होलिवाइन भनी चिनिनुभएका एकनाथ ढकालको समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य सुनिश्चित गर्ने, निरंकुश व्यवस्थामा नेकपा (एमाले)का नेता र कार्यकर्ता प्रताडित गर्ने व्यक्तिलाई हेटौँडामा उम्मेदवार बनाउने,’ रावलको प्रश्न छ ।

रावलले अहिले ओलीले चुनावी तालमेल गरेका पार्टीका नेताहरूको भन्दा आफ्नो योगदान कम नभएको भन्दै उहाँले आफ्नो योगदानको कदर नभएको गुनासो गर्नुभयो । नयाँलाई अवसर दिएर आफूलाई उम्मेदवार नबनाएको भन्दै ओलीले दिएको जवाफको पनि रावलले खण्डन गर्नुभयो । ‘नयाँलाई अवसर दिने कुरा गर्ने हो भने पार्टी अध्यक्ष र निकट ठानिनेहरूका हकमा लागू भएको खोइ त ? पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसद्मा अत्यन्त संवेदनशील विषयमा समेत सहभागी नहुने,’ रावलको टिप्पणी छ । उहाँले जसपाले एमालेलाई नश्लवादी शक्ति भन्ने गरेको र ओलीले अहिले जसपासँगै तालमेल गरेको रावलको भनाइ छ ।

ओलीको आलोचना गर्दै रावलले बोल्न मन लागेको बेला मात्रै संसद्मा ओली उपस्थित हुने गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री हुँदा आधा समय अस्पतालमा र आधा समय बालुवाटारमा बिताउने ओली उम्मेदवार भएको र आफू उम्मेदवार नभएको भन्दै ओलीप्रति आक्रोश व्यक्त गर्नुभयो । ‘झण्डै दुई तिहाइको प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने तर देश र जनताका हित एवं सरोकारका विषयमा निरन्तर संसद् र संसदीय समितिमा सक्रियताका साथ आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहनेले क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत एकल सिफारिस हुँदा पनि उम्मेदवार हुन नपाउने किन ?,’ रावलको भनाइ छ ।

रावलले नेपाली समाजमा तिरष्कृत व्यक्तिहरू योग्य हुँदा आफू उम्मेदवार नहुनु दुःखद भएको बताउनुभयो । उहाँले नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्रबाट उम्मेदवार भएका एमालेका नेता घनश्याम भुसालको भने बचाउ गर्नुभयो । उहाँले भुसालको कदम स्वाभाविक भएको बताउनुभयो । रावलले कुपात्रहरूलाई एमालेले उम्मेदवार बनाएकोमा आक्रोश व्यक्त गर्नुभयो । ‘पार्टीको अनुशासन, सिद्धान्त र विधिको कुरा गर्ने हो भने पार्टीले प्रतिक्रियावादी भनेका र नेपाली समाजले कुपात्र ठानेका व्यक्तिहरू पार्टीको कुन अनुशासन, विधि र पद्धतिका रक्षक हुन् र ?,’ रावलको प्रश्न छ ।

ओलीले महाधिवेशनका बेलामा पनि आफूलाई सकेसम्म उम्मेदवारै हुन नदिने र चुनावमा पनि भोट नहाल्न भन्दै षड्यन्त्र गरेको आरोप लगाउनुभयो । उहाँले सरकार बनाउँदा पनि षड्यन्त्रकारी शक्तिहरूसँग मिल्ने र चुनावमा त्यस्तै शक्तिसँग मिल्दा पार्टीका लागि मत माग्न नसकिने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?