निर्वाचनको दासत्वमा मतदाता

Read Time = 22 mins

✍️ भूपेन्द्र थापा (माधव)

लोकतन्त्र र निर्वाचन एक अर्काका परिपूरक हुन् तर सफल लोकतन्त्रका लागि लोकतान्त्रिक मूल्यमान्यतसहित विधि, पद्धतिमा आमसरोकारवाला सबैको संस्कार पनि लोकतान्त्रिक हुनु अपरिहार्य छ । मुख्यतः लोकतान्त्रिक व्यवस्थामा नागरिकको मताधिकारको वास्तविक सम्मान र आवधिक निर्वाचनको सुनिश्चितता स्थापित भएमात्र लोकतन्त्र र निर्वाचनको सार्थकता मजबुत हुन्छ । लोकतान्त्रिक शासन प्रणालीका लागि नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा कठिनभन्दा कठिन संघर्षहरू गरेको इतिहास नेपाली समाजमा प्रष्टै छ । २००७ सालको क्रान्तिदेखि १० वर्षे सशस्त्र युद्ध हुँदै २०६२/०६३ सालको जनआन्दोलन–२ को सफलतासम्म आइपुग्दा आफ्नो संविधान आफैँ निर्माण गर्ने आमजनचाहना परिपूर्तिका लागि २०६४ सालमा संविधानसभाको निर्वाचन पनि सफलतापूर्वक रूपमा सम्पन्न भयो ।

तर, विडम्बना पहिलो संविधानसभाले संविधान जारी गर्न नसकी आफ्नो कार्यकाल पूरा गर्‍यो । पुनः २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनबाट गठित संविधानसभाले २०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान जारी भयो । नयाँ संविधान जारीसँगै मुलुक नयाँ राजनीतिक आर्थिक र सामाजिक व्यवस्थामा प्रवेश गर्‍यो भन्ने आमजनतामा पर्न गयो । जसले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसहित धर्मनिरपेक्षता, समानुपातिक समावेशीताको राज्यव्यवस्थामा प्रवेश ग¥यो भन्ने आमजनतामा पर्न गयो । जसले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसहित धर्मनिरपेक्षता, समानुपातिक, समावेशीताको राज्यव्यवस्थामा प्रवेश गर्‍यो ।

तीन दशकभन्दा लामो दलीय राजनीतिले जनतालाई दिएको उपहार भनेको महँगी, कालोबजारी, घुसखोरी, बेरोजगारी, असुरक्षा, बेथिति, सबै निकायमा बिचौलियाको दबदबा राज्यका सबै निकायमा व्यापारीकरण शिक्षा र स्वास्थ्यजस्तो सम्वेदनशील संस्थामा माफियाकरण सेवामूलक निकायहरूमा भ्रष्टव्यापारीको हालिमुहाली नै हो ।

यसले गर्दा देश बहुजातीय, बहुभाषिक र बुहसांस्कृतिक राष्ट्रको रूपमा परिभाषित हुनपुग्यो । साँचो अर्थमा भन्ने हो भने नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भएको महसुस भयो । नेपाली जनताले गरेका २००७ सालदेखि २०६२/०६३ सम्मका संघर्षको गौरवपूर्ण इतिहासले सार्थकता प्राप्त गर्‍यो भन्ने लाग्नथाल्यो । २०१५ सालदेखि २०४८ साल, २०५१ साल, २०५६ साल, २०६४ साल, २०७० साल र २०७४ सालसम्मको निर्वाचनसम्म आइपुग्दा ६ दशक चुनावी इतिहासबाट राष्ट्र र जनताको अवस्थामा कति परिवर्तन भयो ? त्यो आमजनता सामु दिनको घाम भैmँ छर्लंगै छ । नेताको अवस्था हिजो २०४६ सालभन्दा अगाडि के थियो ? र आज तिनको आर्थिक अवस्था के छ ? यी र यस्ता अनगिन्ती प्रश्नको जवाफ हाम्रा सामु जताततै प्रष्ट रूपमा देखिन्छन् ।

तीन दशकभन्दा लामो दलीय राजनीतिले जनतालाई दिएको उपहार भनेको महँगी, कालोबजारी, घुसखोरी, बेरोजगारी, असुरक्षा, बेथिति, सबै निकायमा बिचौलियाको दबदवा राज्यका सबै निकायहरूमा व्यापारीकरण शिक्षा र स्वास्थ्य जस्तो सम्वेदनशील संस्थामा माफियाकरण सेवामूलक निकायहरूमा भ्रष्टव्यापारीकरणले मुलुक आक्रान्त हुँदा नेतृत्वको निहित स्वार्थ, व्यक्तिगत लाभ र शक्ति आर्जनका लागि राजनीतिमा निरन्तर चलिरहेको रस्साकस्सीले समाजमा राजनीतिको अर्थ नै गलत लाग्ने अवस्था निर्माण भइरहेको छ । यही गलत अभ्यासका बाछिटा समग्र प्रणालीमा देखापरेका छन् । देश बेथिति र भ्रष्टाचारले जकडिएको महसुस हुन्छ । यो बेथिति निम्तिनुमा हाम्रो पनि त्यति नै दोष छ, दोष पनि छौं ।

कमजोरी नगर्ने असल नागरिक भेटिन कठिन छ । हामी आश्वासनका आधारमा सपनाका महलहरू खडा गर्छाैं । नेता र पार्टीलाई त्यसकै आधारमा भोट हाल्छौँ । आश्वासनलाई यथार्थतामा खोज्दैनौँ । एकपछि अर्को चुनावमा नयाँ-नयाँ गुलिया आश्वासनका पछिपछि दर्गुछौँ । देशको नीतिगत र संरचनागत व्यवस्था परिवर्तन गर्न योगदान गर्ने सही राजनीतिक सिद्धान्तको पक्षपोषण गर्नेलाई भन्दा कालो धन खर्चिएर डनगुण्डा अघिपछि लगाएर हिँड्नेहरूलाई आफ्नो विधाता मान्छौँ । पहिलो त हामी बदलिन जरुरी छ । एउटा जनताले नै जमिनबाट उठाएको सामान्य हैसियत भएको नेता शक्तिमा पुग्ना साथ करौडौं सम्पत्तिको मालिक भएको देख्दादेख्दै उसको सम्पत्तिका स्रोत के हो भनेर खोजीनीति गर्दैनौँ ।

उल्टै आलोचनात्मक चेतलाई लुकाएर चाप्लुसी चेत प्रदर्शन गर्ने गर्दछौँ । फेरि पनि आगामी २०७९ मंसिर ४ मा निर्वाचन हुँदैछ । हाम्रा सचेत आँखाहरूमा अचेत कसिंगर छर्केर उही पात्र, उही प्रवृत्ति र उही परिणाम हत्याउन नयाँ-नयाँ आश्वासनका पोकापतरा बोकेर नयाँ पुराना राजनीतिक व्यक्तिहरू प्रवेश गर्न सक्दछन् । लोकतन्त्रमा निर्वाचनमात्र मुख्य हुन सक्दैन । हिजोका समीक्षा गर्ने र सोको आधारमा अर्थात्ः पाँच वर्ष जनतालाई लगाएका गुणको आधारमा पुरस्कृत गर्ने र दोषको आधारमा दण्डदिने राजनीतिक प्रणाली र पार्टीहरूको सुधारात्मक विधिसहितको समीक्षात्मक प्रक्रिया पनि हो ।

नेपालका संसदीय निर्वाचन २०४८ सालदेखि यता आजसम्म आइपुग्दा हाम्रो राजनीतिक संस्कार र व्यवहारलाई निहालेर हेर्दा हाम्रा राजनीतिक नेतृत्वहरू संवैधानिक राजनीतिक व्यवस्था सञ्चालन र सार्वजनिक जीवनको सदाचारीतामा पूर्णअसफल भएको मानिन्छ । विशेषतः संविधानको उलंघन गर्ने राजनीतिक अस्थिरता निम्त्याइराख्ने, लेनदेनको अप्राकृतिक फोहर/जालो बुनिरहने व्यवहारका कारण आज राजनीतिक पार्टीका नेतृत्वहरू औचित्य र उपयोगिताविहीन बदनाम, पत्रु पात्र झैँ भएका छन् । तसर्थ २०४८ सालदेखि निर्वाचनमा एकलौटी कब्जा जमाएका अनुहारहरू सबै यसपटक एकमुष्ट पाखा लाग्ने सम्भावना बढेर गएको देखिन्छ ।

२०६४ साल र त्यसभन्दा अगाडिदेखि पटकपटक मन्त्री वा प्रधानमन्त्री भएर राज्यको दोहन गर्न पल्केका मुलुकलाई सधैँ असफलताको बाटोमा अल्मलाई राख्ने अनैतिक र अनियमितताको भ्रष्टाचारी भारी बोकेकाहरूलाई आममतदाताले आउँदो निर्वाचनमा पाखा लगाउन कम्मर कसेर लाग्नुपर्दछ । २०४६ सालदेखि यता परिवर्तन पक्षधर नेपाली जनताले दिएको अपार सद्भावसहितको विश्वास र राजनीतिक सदाचारितालाई राजनीतिक नेतृत्वले आत्मसाथ गर्न नसक्दा लामो राजनीतिक विरासत बोकेका जेल, नेल, यातना भोगेका नेतृत्व आज सीमित साँधुरो घेराभित्र चलखेलको राजनीतिमा खुम्चिन बाध्य भएको छ ।

आफैँप्रति विश्वासका पर्खालहरू उठ्दा झस्किन थालेका छन् । आफैँले निर्माण गरेको संविधानको अभ्यास गर्न बाघको काँधमा चढेर हिँडेको महसुस हुन थालेको छ । चुनावप्रति शंका र जनताप्रति अविश्वासको त्रासले शीर्ष नेताका पगरीहरू अतालिएर जमिनमा पछारिएका छन् । आगामी चुनावी माहोलले सिंगो नेपालको राजनीति तरंगित बनिरहेको छ । आज जताततै विभिन्न कोणबाट चुनाव केन्द्रित आमबहस भइरहेका छन् । यी बहसहरूमा परम्परागत पार्टीका शीर्षस्त नेताहरूलाई हराउने र चुनावी गठबन्धन मिलेर जित्ने र बाँडेर खाने अपवित्र ‘काले काले मिलेर खाऊँ भाले’ उखानसँग मिलेको भन्ने विषयले सबैखाले बहसका चियाचौतारी ओगटेको पाइन्छ ।

अर्कोतर्फ नेपालमा वैकल्पिक राजनीतिको विकास कछुवाको गति झैँ देखिन्छ । खासै वैकल्पिक शक्ति निर्माणमा उत्साहजनक परिणाम देखापरेको पाइँदैन । छिमेकी मुलुक भारतमा आमआदमी पार्टीको उदय र उसको सफलता हेर्र्दै गर्दा नेपालका स्वघोषित वैकल्पिक राजनीतिक संस्कार र राजनीति गर्नेहरूको वैचारिक आक्रमणसँगै अधिकांश पात्रका प्रवृत्ति र व्यवहार परम्परागत पार्टीहरूको भन्दा कम संकुचित देखिँदैन । बाबुराम भट्टराई र रवीन्द्र मिश्रको राजनीतिले पनि वैकल्पिक राजनीतिको आधारभूत लिकसमेत पक्रन नसकेको यथार्थ नेपाली राजनीतिक रंगमञ्चमा प्रष्टै छ । नयाँ शक्ति निर्माणमा जुटेका रवि लामिछानेले नेतृत्व गरेको पार्टीको मूल्यांकन आम मतदाताले आउँदो निर्वाचनमा गर्ने नै छन् ।

त्यसभन्दा अगाडि उसको मूल्यांकन गर्न हतारमात्र हुनेछ । पुराना योगदान गरेर आएका पार्टी र त्यसका नेतत्वहरूले अस्तित्वको दाबीमात्र गर्ने तर हदैसम्म जवाफदेहीविहीनताको शून्यतामा रुमलिएकै कारण नयाँ पार्टीहरू जन्मनुको विकल्प नरहेको मान्न सकिन्छ । साथै यो जनताको लागि विकल्प रोज्ने सुन्दर सुखद् पक्ष पनि हो । यसलाई लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य पनि मान्ने गरिन्छ । वैकल्पिक पार्टी निर्माणको उभार र स्वतन्त्र युवाहरूको राजनीतिमा बढेको चासोले नेपालको उज्यालो भविष्यको संकेतका रूपमा यसलाई हेर्न सकिन्छ । सक्षम, कुशल र इमानदार व्यक्तिहरूको राजनीतिक हस्तक्षेपले मात्र नेपालका राजनीतिक पार्टी र त्यसका नेतृत्वलाई सही बाटोमा डोहो¥याउने सम्भावना बढेर जाने निश्चित छ ।

कांग्रेस, एमाले र माओवादी पार्टीमा सक्षम, अध्ययनशील, नैतिक र जिम्मेवार नेता कार्यकर्ता नभएका भने पक्कै होइनन् त्यस्ता व्यक्तिलाई अगाडि बढ्न रोक लगाउने विषयमा मुख्य नेतृत्व नै दोषी देखिन्छन् । पार्टीभित्र नेताको वरिपरि परिक्रमा गरिरहने गणेश प्रवृत्ति हावी हुँदा इमानदार सुमेरु पर्वत परिक्रमा गर्ने कुमारहरूको राजनीतिक भविष्य छायाँमा पर्न गएको छ । यसले मुलुकको भविष्य र जनताको समृद्धिको बाटोमा फलामे काँडेबार लगाएको अनुभूति हुन्छ । यो काँडेबार पन्छाएर अगाडि बढ्न हिम्मत इमानदार युवा नेतृत्वले गर्न सक्नुपर्दछ । केही नेताहरूको स्वार्थ निहितको कब्जाबाट मुक्त हुने र तीनको दासत्वको जन्जिर तोड्ने साहस गर्ने नेता हुन सक्नुपर्दछ ।

विचार सिद्धान्त र आदर्शको जगमा उभिन नसक्ने पद, पैसा र पावरको दुव्र्यसनमा फसेका अयोग्य नेताहरूलाई असल कार्यकर्ताहरूले काँधबाट नबिसाए कुशासन र भ्रष्टाचारको चक्रब्यूमा फसिरहनु पर्नेछ । जनताको टाउकोमा ऋणको भारी बोकाएर खान पल्केका नेता र सर्पलाई दूध खुवाएर आमजनताबीचको छिनोफानो आउँदो निर्वाचनले गर्न सक्नुपर्दछ । अनियन्त्रित रूपमा आजित भएका मौलाउँदै गएको केन्द्रीकृत एवं संस्थागत भ्रष्टाचारमा पार्टीका शीर्षस्थ नेताहरू दोषी देखिन्छन् । मुख्यतः पार्टीभित्रको गुटको रक्षा र आर्थिक संकलनका आधारलाई मजबुद बनाउन गणेश प्रवृत्तिका विश्वासिला आफ्ना मान्छेहरूलाई पदीय जिम्मेवारी दिने र उसको माध्यमबाट भ्रष्ट व्यापारी र ठूला ठेकेदारसँगको मितेमत्तोमा राज्यका विभिन्न निकायमार्फत राष्ट्रिय सम्पत्तिको दोहन गर्ने नीतिगत रूपमै भ्रष्टाचार गर्ने आपराधिक गिरोहको नेतृत्व शीर्ष नेताहरूको निर्देशनमा भएको देखिन्छ ।

यस्ता अपराधको ढाकछोप गर्न पनि जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता नै निर्वाचनमा देखा परेको मुख्य विकृति हो । जसले नयाँ नयाँ विकृतिलाई भित्र्याउन निमन्त्रणा दिने गर्दछ । साम, दाम, दण्ड, भेदका अस्त्र प्रयोग गर्ने निर्वाचनको शून्य समयमा आएर झोलाका झोला पैसाका बिटा बोकेर घरघरमा धाउने निर्वाचनभन्दा अघि व्यवस्थामा परेकाहरूलाई चुनावको मुखैमा आएर तत्काल प्रभाव पर्ने गरी राहत वितरण गर्नेलगायत विभिन्न लोभ र प्रलोभनमा पारी मतदाताको मनोविज्ञानमाथि अंकुश लगाउने आपराधिक क्रियाकलाप हुने गर्दछन् । यस्तो लोभलालचबाट आममतदाता जोगिन सक्नु पर्दछ । नत्र आफ्नो स्वतन्त्रतामाथि आफैँले दासत्वको अनुमोदन गरेको ठहरिनेछ ।

हलोमात्र ओगट्ने जोत्न पनि नसक्ने छोड्दा पनि नछोड्ने बुढो गोरुको काँधबाट हलो जुवा खोसेर विकास र समृद्धिको उर्भर भूमिमा समाजवादी फल फलाउने कर्मठ देशभक्त युवा नेतृत्व चुन्न आममतदाता सक्षम र सफल हुन सक्नुपर्छ । पुँजीवादको घोडा चढेर समाजवादको स्वर्ग जाने सपना बाँढ्ने र आफ्नो निजी स्वार्थ साकार पार्ने नेताको योजना आउँदो निर्वाचनमा ध्वस्त पार्न सक्नुपर्दछ । परम्परागत राजनीतिक पार्टीले गरेका विकृत फोहोर सफा पार्न मुलुकले नयाँ नेतृत्वको आवश्यक महसुस गरेको छ । जहाँ मतदाताहरू विवेकशील हुन्छन् त्यहाँ लोकतान्त्रिक मूल्यमान्यता बाँचेको हुन्छ । जनता समृद्धिको बाटोमा लम्किरहेका हुन्छन् तर जहाँ मतदाताहरू अचेत हुन्छन् त्यहाँ लोकतन्त्र पनि जीवित रहँदैन ।

आज हाम्रो समाज यस्तै सामाजिक चेतनाको परिवेशबाट गुज्रिरहेको छ । अयोग्यलाई विधाता र योग्य व्यक्तिलाई अविश्वास गर्ने हाम्रो व्यवहार बदल्न जरुरी छ । तसर्थ निर्वाचनद्वारा नेताहरूको अनुहार फेर्नु मुलुकमा सुशासन कायम गर्न, राज्यका सम्पूर्ण संयन्त्रहरूलाई भ्रष्ट एवं राजनीतिक विचौलियाको हिरासतबाट मुक्त गरी विधि र पद्धतिको मार्गदर्शनमा राजनीतिक, सामाजिक र आर्थिक प्रगतिको पथमार्गमा हिँडाउन नयाँ पात्र र प्रवृत्तिलाई संस्थागत रूपमा स्थापित गर्ने अवसर निर्माण गर्न सक्नुपर्दछ । हाम्रो भाग्य र राष्ट्रको भविष्यको साँचो हाम्रै हातमा छ ।

पार्टीभित्र नेताको वरिपरि परिक्रमा गरिरहने गणेश प्रवृत्ति हावी हुँदा इमानदार सुमेरु पर्वत परिक्रमा गर्ने कुमारहरूको राजनीतिक भविष्य छायाँमा पर्न गएको छ । यसले मुलुकको भविष्य र जनताको समृद्धिको बाटोमा फलामे काँडेबार लगाएको अनुभूति हुन्छ ।

प्रजातन्त्र, गणतन्त्र ल्याउँदैमा, मताधिकार प्रयोग गर्दैमा तथा स्थिर सरकार बनाउँदैमा देशले विकासको गति लिन सक्दो रहेनछ । त्यसका लागि सक्षम, इमानदार र बफादार व्यक्ति निर्वाचित हुनुपर्दो रहेछ भन्ने विगत तीन दशकसम्म निरन्तर प्रतिनिधित्व गर्दै आएका जनप्रतिनिधिको विगतको कार्यशैली र व्यवहारले हामीलाई स्पष्ट पारेको छ । आजसम्म हामीले जुन-जुन दललाई आस्था र विश्वास गरेर  देशको भाग्य सुम्पेका थियौं प्रायः सबैले नेपालीको भाग्यसँग खेलबाड गर्न कहिल्यै छाडेनन् । जनताले दिएको जुन आस्था र विश्वासलाई जहिल्यै घात गर्दै जनताको निरीहपनबाट फाइदा उठाएर उठाइ रहे । आफू र आफन्तका लागि सधैं भोगविलास जुटाउ राजनीति गर्ने काम निरन्तर रही रहृयो । यही तथ्यलाई हृदयंगम गरी आउँदो मंसिर ४ मा हुनगइरहेको निर्वाचनमा सम्पूर्ण मतदाता होस्टेमा हैंसे भएर एउटै धारणाका साथ अघि बढ्नु श्रेयष्कर देखिन्छ ।

अतः कामना गरौं गणतन्त्र प्राप्तिपछि पनि आफ्नै व्यक्ति तथा आफ्नै दलभित्र देखिएको हालीमुहाली अन्त्य गर्न जनता नै नागरुक हुनुपर्दछ । यसका लागि हामीले दिने मतको ठूलो महत्व छ र महत्व राख्द छ । नागरिक सर्वोच्चता अपहरण हुन नदिनका लागि र सफल व्यवस्थापनका लागि सक्षम, इमानदार, जोसिलो ऊर्जावान् तथा गतिशील व्यक्तिलाई सत्तामा ल्याउने र जनभावनाको कद गरी जनताको घर-दैलोमा हुने पीडा, व्यथा बुझ्न सक्ने व्यक्तिले सत्तारोहण गरोस् । तपाईं हाम्रो मतले असल नागरिकको परिचय दिन सफल सफल बनोस्, सफल होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?