‘म’ द्रष्टा हुँ ‘म’ भित्र सबै हुन्छ…

Read Time = 8 mins

✍️ वीरभद्र आचार्य

आज मेरो शरीरले बाल्यकालमा र युवावस्थामा जस्तो काम गर्दैन, मेरो मस्तिष्क पहिले जस्तो तीखो पनि छैन । मैले मेरो बाल्यकाल अनुभव गरेँ, त्यो बितेर गयो, त्यसैगरी मेरो युवावस्था मेरो अगाडि बित्यो र वयस्क भएँ, मैले त्यस क्रमलाई रोक्न सकिन । अहिले मेरो शरीर र मस्तिष्क झन् शिथिल हुँदै गइरहेको छ र म यो क्रमलाई रोक्न सक्दिन, अपितु एक द्रष्टामात्र भएर यस प्रक्रियालाई हेर्न बाध्य छु । बाल्यकालदेखि नै मैले मेरो शरीर र मस्तिष्कमा यी परिवर्तनहरू हेर्दै आएको छु, अहिले पनि अवलोकन गर्दै छु, म यसलाई भोलि पनि अवलोकन गर्ने छु । जीवनको यस बिन्दुमा पुगेर म महसुस गर्छु, साक्षी भएर हेरिरहनेबाहेक यो शरीरमाथि मेरो कुनै नियन्त्रण छैन । अब म बुझ्दै छु कि यसरी मैले मेरो जीवनकालमा बिताएका दिन र गुजारेका अनुभव सबै एक सिनेमा शरह थिए जहाँ मेरो कुनै हस्तक्षेप चल्दैन थियो म हेरिरहन बाध्य थिएँ र छु ।

तर म सँग ती बितेका दिनका अनुभवको सँगालो छ । अब प्रश्न उठ्छ, के म त्यो बितेका अनुभवको सँगालो हुँ ? सरसरती हेर्दा, हो म तिनै अनुभवको सँगालो हुँ । तर मलाई लाग्छ, आज म मेरो जीवनमा आइपरेका पीडा, आनन्द, दुःख–शुख, शान्ति र अशान्तिको एक लाचार छायामात्र हुँ । मेरो तीन रूप छन्–‘म’ ‘अनुभवी’, म ‘अनुभव’ र ‘म’ ‘साक्षी’ । तर यसो विचार गर्दा जब म गहिरो निद्रामा हुन्छु, म जाग्रत् अवस्थामा जस्तो अनुभव गर्दिनँ । तसर्थ म गहिरो निद्राको ‘अनुभवी’ होइन रहेछु भन्ने लाग्छ । तर जब म ब्युँझन्छु, म त्यो गहिरो निद्रा अवस्थाको निश्कलंकित आनन्दको सम्झना गर्छु । म विश्वास गर्छु कि त्यो ‘अनुभव’ ‘म’ नै हुँ ।

कति आनन्दका दिनहरू बिते, कयौँ द्वन्द्वका दिनहरू मैले बिताएँ, तर सिनेमाको पर्दामा सिनेमाको कुनै पनि दृश्य वा अवस्थाले दाग लगाउन नसके जस्तै ‘म’ मा उत्पन्न अशान्ति र द्वन्दका दिनहरूले मलाई विचलित गर्न सकेनन् ।

तर जब म तर्क गर्छु, अनुभवहरू खण्डित हुन्छन्, एक अनुभव अर्को अनुभवसँग मेल खाँदैन । जस्तै जाग्रत्को सपनासँग, सपनाको गहिरो निन्द्रासँग कुनै मेल र तादात्म्य छैन । मैले आफूलाई ‘अनुभव’ हुँ भनेर सोचे भने म फेरि खण्डित हुन्छु जबकी म त अविरल छु–बाल्यावस्था, युवावस्था, बुढ्यौली एकनाससँग हेरिरहेको छु । त्यसैले अनुभवमात्र ‘म’ हुँ भनेर भन्न सक्दिन । त्यसपछि म निष्कर्षमा पुग्छु, हाम्रो धर्मशास्त्रले औँल्याए अनुसार म त्यो ‘साक्षी’ अथवा ‘द्रष्टा’ हुँ, श–शरीर यो पृथ्वीमा छु, तर ‘म’ मेरो बुझाइभन्दा पर छु ।

आज मेरो उमेर ६० वर्ष नाघिसकेको छ । मेरो जीवनकालमा कति उकाली कति ओरालीहरू आए, कति उदासी र कति नैराश्यताहरूले घेरे, कति आनन्दका दिनहरू बिते, कयौँ द्वन्द्वका दिनहरू मैले बिताएँ, तर सिनेमाको पर्दामा सिनेमाको कुनै पनि दृश्य वा अवस्थाले दाग लगाउन नसके जस्तै ‘म’ मा उत्पन्न अशान्ति र द्वन्द्वका दिनहरूले मलाई विचलित गर्न सकेनन् । अर्थात् जीवन द्रष्टा ‘म’ मा मेरो बाल्यकाल र युवावस्थाका अनुभवहरू ले कुनै दाग लाग्न सकेन । म अनवरत रूपमा तटस्थ भावबाट हेरिमात्र रहन रहेँ । तसर्थ म आज आएर यो दावा गर्न सक्छु, मेरो भौतिक शरीर र मैले भोगेका अनुभवहरू अस्थायी थिए, आए/गए । तर तिनै घटनाबाट आर्जित शिक्षाहरू ‘म’ मा आरोपित छन् । मृत्युपश्चात् पनि रहिरहन्छन् ।

मैले अघिल्ला जन्महरूमा पाएका शिक्षालाई मृत्युपश्चातको विस्मृतिले छोपेको छ । जब म जाग्रत हुन्छु, सम्पूर्ण ज्ञानको भण्डार म मा हुन्छ । म पूर्णाकार हुन्छु । यो जन्ममा म सँग भएका आत्मिक गुणहरू आदिम कालदेखिको मेरा अनुभवहरूको सँगालोबाट अएका यिनै शिक्षाका सार हुन् । त्यसैले त हाम्रो शास्त्रले ‘प्रज्ञानम् ब्रहृमः’ भनेको होला । यतिभन्दा भन्दै पनि ‘म हुँ’, तर आफैंलाई देखिँदैन, ‘म अनुभव गर्छु’, तर म को हुँ भनेर बुझ्न सक्दिन । शरीर र मस्तिष्क बाल्यकालदेखि आजसम्म निरन्तर परिवर्तन हुँदै आएको छ र म भित्रको द्रष्टाले मेरो जीवनका सम्पूर्ण परिवर्तन । घटनाहरू एकनाससँग हेरिरहेको छ । तटस्थ भावमा शिक्षा ग्रहण गरिरहेको छ ।

यदि म संगीत सुनिरहेको छु भने, मैले मेरो दुई कानबाट महसुस गर्छु, तर त्यो द्रष्टा ‘म’ विना कानले मात्र सुन्न सक्ने थिएन । कान, नाक, आँखादेखि लिएर मेरो शरीरको प्रत्येक अंग प्रत्यारोपण गर्न सकिन्छ, त्यसैले मेरो भौतिक शरीर ‘म’ वास्तविक ‘म’ होइन भनेर निष्कर्षमा पुग्न सक्छु ।

यद्यपि यो शरीर र दिमाग निर्जीव छ, तर यी दुवै उपकरणविना द्रष्टाले भौतिक जगत्को अनुभव गर्न सक्दैन । अर्कोतर्फ द्रष्टा ‘म’ विना, मेरो जीवन साकार हुन सक्दैन । तसर्थ एक विना, अर्को बेकार छ । उदाहरणका लागि यदि म संगीत सुनिरहेको छु भने, मैले मेरो दुई कानबाट महसुस गर्छु, तर त्यो द्रष्टा ‘म’ विना कानले मात्र सुन्न सक्ने थिएन । कान, नाक, आँखादेखि लिएर मेरो शरीरको प्रत्येक अंग प्रत्यारोपण गर्न सकिन्छ, त्यसैले मेरो भौतिक शरीर ‘म’ वास्तविक ‘म’ होइन भनेर निष्कर्षमा पुग्न सक्छु । भौतिक शरीरमा धेरै परिवर्तन आइसके पनि द्रष्टा ‘म’ मा अलिकति पनि परिवर्तन छैन तसर्थ मेरो मृत्युपछि पनि द्रष्टा ‘म’ मा कुनै परिवर्तन हुँदैन भनी अनुमान गर्ने गर्छु । वास्तवमा, हाम्रो शास्त्रले भन्छ, द्रष्टा ‘म’ आत्मा हो । ‘आत्मा’ ब्रहृम हो जो अनादि, अखण्ड र अनन्त छ । birbhadra011@gmail.com

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
दीन नाथ आचार्य
दीन नाथ आचार्य
2022-10-14 11:54 am

बीरभद्र सरलाइ लेखको लगी धेरै धेरै धन्यबाद!
अहिले पस्चिमा हरुको नक्कल, अस्त ब्यस्त खानपिन र हाल समाजमा देखिने जीवन शैली लाइ रुचाउनेहरु लाइ यो लेख कति फ़िक्का लग्दोहो? TRP घटछ भन्दै पत्र पत्रिका स्थान दिदैन्थे धन्य पत्रिका प्रकासन गरीदिये छन्!
यो लेखको आध्यात्मिक भब बुझ्ने कति पाठक होलान?
शुभकामना छ आउने दिनमा येस्ता लेख आध्यन गर्ने मौका मिलोस…
दीन नाथ आचार्य
देवचुली 17

Deepak Aryal
Deepak Aryal
2022-10-15 5:42 am

राम्रो घतलाग्दो छ ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?