खुल्यो अवरुद्ध कर्णाली राजमार्ग

Read Time = 3 mins

-मानबहादुर बिश्वकर्मा
कालीकोट । पहिरोका कारण सात दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । दैलेखको आठबीस नगरपालिका–४ मा पहिरोले अवरुद्ध राजमार्गमा बुधबारदेखि यातायातका साधन सञ्चालन भएका हुन् । यद्यपि कर्णालीका विभिन्न स्थानमा अवरुद्ध सडक सञ्चालनका लागि महिनौँ लाग्ने सम्भावना रहेको जनाइएको छ । बाढी र पहिरोका कारण कालीकोट जिल्लामा खानेपानी र विद्युत् सेवासमेत अवरुद्ध हुन पुगेको छ ।

कर्णाली लगायतका क्षेत्रमा गत बुधबारदेखि वर्षा भएको थियो । कर्णाली कोरिडोरको हुम्ला–बाजुरा सडकखण्डको ४० भन्दा बढी स्थानमा पहिरोले क्षति पु¥याएको छ । सो खण्डमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
हुम्लामा केही समययता पहिरोमा परी घर भत्किँदा छ जनाको मृत्यु भएको छ । बाढीपहिरोले सबैभन्दा बढी क्षति पु¥याएको जुम्लाका तीन गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ । त्यस्तै कालीकोट जिल्ला सदरमुकाम मान्ममा विद्युत् अवरुद्ध भएको शुक्रबार दश दिन भएको छ । विजया दशमीको दिनेदेखि अवरुद्ध विद्युत् सेवा बिहीबारसम्म सञ्चालन भएको छैन ।

कर्णाली राजमार्गमा खसेको ठूलो ढुङ्गालाई नेपाली सेनाको टोलीले विस्फोटकबाट फुटाएपछि अवरुद्ध राजमार्ग खुलेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार राजमार्गमा खसेको ठूलो ढुङ्गा नेपाली सेनाले हटाएपछि मङ्गलबार रातिबाट राजमार्ग सञ्चालन भएको हो ।

मध्यपहाडी राजमार्ग भएर कर्णाली राजमार्ग जोड्ने दैलेखको साइखोलादेखि कालीकोटसम्म अहिले राजमार्ग सञ्चालन भएको जनाइएको छ । कर्णाली राजमार्गको तल्लोडुँगेश्वरबाट आठबीस नगरपालिका–२, साइखोलासम्म गएको पहिरो हटाउने काम सुरु भइरहेको छ । आठबीस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले राजमार्ग खुलाउन नगरपालिकाले नसकेपछि जिल्ला प्रशासन कार्यालयलाई गुहारिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?