सामाजिक प्रश्नको उत्तर लेख्ने क्रममा ‘फरैना’ जन्मियो : सन्तोष श्रेष्ठ

Read Time = 20 mins

संगीतकारमा लोकप्रियता हासिल गर्नुभएका सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’ पाठकमाझ आएको छ । योभन्दा अगाडि उहाँका दुई कृति आँसु (गजलसंग्र्रह) र अधुरो सपना (लघुकथासंग्र्रह) प्रकाशन भएका छन् । अहिलेसम्म ४२ एकल एल्बमका सयौं गीत उहाँका श्रोता/दर्शकमाझ आएका छन् । हिँड्दै जाँदा जीवनको यात्रामा भेटिएको एउटा सामाजिक प्रश्नको उत्तर लेख्ने क्रममा ‘फरैना’ जन्मिएको बताउनुहुने सन्तोष श्रेष्ठसँग हिमालय टाइम्सको पुस्तक वार्ताका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानी :-

संगीतकारको लोकप्रियता हासिल गरिरहनुभएको व्यक्ति कसरी आख्यान लेखनतिर आकर्षित हुनुभयो ?
आख्यान लेखनमा म रहरले हाम फालेको होइन । आफू भाषाको विद्यार्थी भएको हुनाले यतातिरको आकर्षण बढेको हो । कतिपय कुराहरू संगीतबाट मात्रै पूर्णरूपमा व्यक्त गर्न सकिँदैन । एउटा समाज, सभ्यता र संस्कृतिलाई उजिल्याउँदै वर्तमान संघर्ष र भविष्यको सफलताको गन्तव्य प्राप्त गर्ने सिलसिला लिपिबद्ध गर्नका लागि आख्यान वा उपन्यास विधा रोजेको हुँ ।

साहित्यतर्फ यहाँको लगाव पहिलादेखि नै हो, यहाँले केही गीत पनि लेख्नुभएको छ, साहित्य विधामा उपन्यास लेखनतर्फ नै लगाव हुनुको कारण ?
साहित्यको सबैभन्दा कठिन विधा उपन्यास हो । योभन्दा अगाडि मैले दुई कृति आँसु (गजलसंग्र्रह) र अधुरो सपना (लघुकथासंग्र्रह) प्रकाशन गरेको छु । यसपटक मलाई औपन्यासिक महासागरमा पौडिन मन लाग्यो । विविध आयामहरूलाई जोडेर आयतन वृद्धि गर्न सकिने, खुम्चिनु नपर्ने वा अघाउन्जेलसम्म लेख्न सकिने भएकाले उपन्यास लेखनतर्फ लगाव बढेको हो ।

यहाँको पहिलो उपन्यास कृति ‘फरैना’ हालै पाठकमाझ ल्याउनुभएको छ, पुस्तक पाठकले कत्तिको मन पराएको पाउनुभयो, के-कस्ता प्रतिक्रियाहरू आइरहेका छन् ?
‘फरैना’ उपन्यास पाठकमाझ अत्यन्तै प्रिय भएको छ । सबैको माया पाएको छ । अधिकतम सकारात्मक प्रतिक्रिया आएका छन् । पाठकहरूमात्रै नभएर विधागत विज्ञहरूबाट पनि उत्साहजनक प्रतिक्रिया आइरहेको छ । पहिलोपटक लेखेको उपन्यासका रूपमा कुनै पनि पाठकले अनुभूति गर्नुभएको छैन । लेखन कला, शिल्प, शैलीको सबैले सुन्दर प्रतिक्रिया दिनुभएको छ ।

कसरी जन्मियो फरैना ?
हिँड्दै जाँदा जीवनको यात्रामा भेटिएको एउटा सामाजिक प्रश्नको उत्तर लेख्ने क्रममा यो उपन्यास जन्मिएको हो । ठ्याक्कै यसै दिनदेखि भन्न त सक्दिनँ तर जब मेरा आँखाहरूले विस्तारै रङहरू छुट्याउन सक्ने भएका थिए, त्यतिबेला मैले देखेको एउटा मानस बिम्ब मेरो हृदयमा वर्षौंदेखि खेलिरहेको थियो । जसले मेरो मनमस्तिष्कमा ठूलै तरंग उत्पन्न गराइरहृयो । त्यहाँबाट बाहिर निस्किनै दिएन । शान्त बगिरहेको नदीको बीचमा भुमरी परेझैं मलाई पनि भुमरीमा पारिरहृयो । मलाई शान्त तरिकाले निदाउन दिएन । जहिल्यै उद्वेलित बनाइरहृयो । ती घटना र परिदृश्यले मभित्र छाल उत्पन्न गराइरहे जसरी शान्त तलाउमा पनि बेला-बेला पानीको छाल उठिरहेको हुन्छ । भित्रभित्रै गुम्सिएको धुवाँ दन्किएर ज्वाला निस्किएर फरैना जन्मिएको हो ।

‘फरैना’ को अर्थ के होला ?
मूलतः फरैना थारु भाषाको शब्द हो । यो शब्द अन्य शब्दझैं प्रचलित भएको थिएन । यसको अर्थ फल्नु वा धेरै फल लगाउने वातावरण निर्माण हुनु हो । फुल्नु, फल्नु, फैलनु साथसाथै आफ्नो सीमारेखा विस्तार गर्नु भन्ने बुझिन्छ । समाजमा बाँचिरहेका थुप्रै फरैनाहरू छन् तर तिनै पात्रहरू जसको कुनै परिचय स्थापित छैन । जसले आफ्नो आवाज सुनाउन चाहन्छन् । रंगिन जीवन बाँच्न र हाँस्न चाहन्छन् । बाध्यता र विवशताले अझैसम्म गुमनाम छन् ।

हिँड्दै जाँदा जीवनको यात्रामा भेटिएको एउटा सामाजिक प्रश्नको उत्तर लेख्ने क्रममा ‘फरैना’ जन्मिएको हो । जब मेरा आँखाहरूले विस्तारै रङहरू छुट्याउन सक्ने भएका थिए, त्यतिबेला मैले देखेको एउटा मानस बिम्ब मेरो हृदयमा वर्षौंदेखि खेलिरहेको थियो । जसले मेरो मनमस्तिष्कमा ठूलै तरंग उत्पन्न गराइरहृयो । त्यहाँबाट बाहिर निस्किनै दिएन । शान्त बगिरहेको नदीको बीचमा भुमरी परेझैं मलाई पनि भुमरीमा पारिरहृयो । मलाई शान्त तरिकाले निदाउन दिएन । जहिल्यै उद्वेलित बनाइरहृयो । ती घटना र परिदृश्यले मभित्र छाल उत्पन्न गराइरहे जसरी शान्त तलाउमा पनि बेला-बेला पानीको छाल उठिरहेको हुन्छ । भित्रभित्रै गुम्सिएको धुवाँ दन्किएर ज्वाला निस्किएर ‘फरैना’ जन्मिएको हो ।

 

उपन्यास फरैनामा यहाँले एक अभाव, विभिन्न दुःख, पीडा झेल्दै राजनीतिको सफलताको शिखर चुमेकी थारु युवतीलाई चित्रण गर्नुभएको छ । उपन्यास लेख्दै गर्दा कुनै थारु युवती, महिला जो राजनीतिमा आफूलाई सक्रिय राखेको त्यस्तो कुनै तस्बिर तपाईंको मानस पटलमा थियो ?
पहिलोपटक मैले म जन्मिएको, हुर्किएको समाजमै मेरी हजुरआमाको उमेरकी एक महिलालाई देखेँ । उनी अर्धवस्त्रमा थिइन् । पछिसम्म अर्धवस्त्रमै देखिरहेँ । जाडो, घाम, वर्षात कुनै पनि समयमा उस्तै देखिरहेँ । उमेरको बहावले हात र खुट्टाका चाउरी परेका छालामा बेस्सरी पोतिएको कालो रङ व्याप्त देखेँ । लुगाफाटोले ढाकिनुपर्ने शरीरमा कालो रङले किन पोतिएको होला भन्ने प्रश्न मनमा उब्जिएको थियोे । हातखुट्टामा स्थायीरूपमा पोतिएको कालो रङ जसलाई टाटु नामले परिभाषित गरिएको मैले वर्षौँपछि बुझेँ । जति बेला मैले देखेकी वृद्ध महिलाको भौतिक अस्तित्व यो संसारमा बाँकी थिएन । तर, उनका छोरी र नातिनी पुस्तामा भने यसरी नै हातखुट्टामा पोतिएको कालो रङचाहिँ कायमै रहृयो । उपन्यासमा कुनै सक्रिय राजनीतिक पात्रलाई देखेर उनैको यात्रा वर्णन गर्न खोजेको हुँदै होइन । बरु भुइँमान्छेलाई गतिशील बनाउँदै शिखर यात्राको मार्गनिर्देशन गर्न खोजिएको हो ।

पुस्तक लेख्न कति समय लाग्यो ?
फरैना उपन्यास मनले लेखिरहेको त धेरै वर्ष भइसकेको थियोे । यसका भित्री अध्यायहरूको मौखिक तयारीका साथसाथै सम्बन्धित व्यक्तिहरूसँग सरसल्लाह र छलफल पनि गरिरहेको थिएँ । यति हुँदाहुँदै पनि उपन्यास लेख्ने अनुकूल समय मिलाउन सकिरहेको थिएन । यसै सिलसिलामा पहिलो कोरोनाकालमा म मेरो गृहजिल्ला दाङमा दस महिना बस्ने क्रममा पहिलो रूपरेखा तयार पारेको थिएँ । पाण्डुलिपि तयार भएको केही समय पुनः छलफलमा व्यस्त भएँ । केही अनुच्छेदहरूको पटक-पटक पुनर्लेखन गर्दागर्दै समय बित्दै गयो । संगीतको व्यस्ततासँगसँगै झण्डै एक वर्षको हाराहारीमा फरैना उपन्यास लेखनले पूर्णता पाएको हो ।

पुस्तक लेख्ने बेलामा लक्षित पाठक को-को हुन् भन्ने सोच्नुभएको थियो ?
उपन्यास लेखन सुरुवात गर्दा लक्षित पाठकले मात्रै पढून् भन्ने कुनै सोचाइ नै थिएन । औपन्यासिक अध्ययनमा रमाउन सक्ने जोकसैले पनि पढ्न सक्छन् भन्ने अभिप्राय थियोे । फरैनाको लेखन आज सोचेर भोलि लेखेर पर्सि सार्वजनिक गरिएको पनि होइन । पटक-पटक परिमार्जन गर्दै गर्दा लक्षित पाठकको नियन्त्रणमा बस्न सक्ने अवस्था पनि हुँदैन । उपन्यासमा प्रयोग गरिएको भाषालाई आधार बनाएर लक्षित पाठक को-को हुन सक्छन् भन्ने प्रश्न अटाउँदैन । सबै तहका पाठकले बुझ्न सक्ने सरल भाषाको प्रयोग गरिएको छ । शब्दकोष पल्टाएर पढ्नुपर्ने शब्दहरूको बाहुल्य छैन । यसमा लेखकीय विचार महत्वपूर्ण ढंगले सम्प्रेषण गरिएको छ ।

पुस्तक कुन उमेर समूहका पाठकका लागि हो जस्तो लाग्छ ?
फरैना उपन्यास अध्ययनभित्र छिर्न चाहने उमेर समूहले पढ्न सक्ने पुस्तक हो । यसमा उमेरले पढ्नका लागि रोक्न सक्दैन । यो उपन्यास एउटा छोटो कालखण्डमा आधारित छैन । त्यसैले पाठक समूह पनि यत्तिमात्रै हुन् भन्न सकिँदैन । औपन्यासिक नदीमा नुहाउन चाहने सबै उमेर समूहले निर्मल पानीले नुहाएर आनन्द लिन सक्नुहुन्छ ।

पाठकलाई के भन्न चाहनुहुन्छ ?
लेखक र पाठकबीचमा नङमासुको सम्बन्ध स्थापित हुनुपर्छ । दुई पक्षको विचारमा एकरूपता भेटियो भने मात्रै यो सम्बन्ध बलियो हुनसक्छ । यसका लागि फरैना उपन्यासभित्र पाठकले आफूलाई कतै न कतै भेटिएको आभास हुनुपर्छ । मैले भेटाउन सकेको छु वा छैन त्यो पाठकको अध्ययनको विषय हो । उपन्यासलाई जसरी बुझे पनि मैले पाठकबाट रचनात्मक प्रतिक्रियाको अपेक्षा भने गरिरहेको हुन्छु । जसले मलाई आगामी दिनमा थप माझिनका लागि मुख्य भूमिका निर्वाह गर्दछ ।

साहित्यमा यहाँलाई रुचिको विषय के हो ?
मैले साहित्यिक पुस्तकलाई अत्यन्तै गहिरिएर पढ्न सकूँ । त्यसको निष्कर्षमा पुग्न सकूँ । आफूले लेख्दा पनि जुन विषयमा लेख्न खोजेको हो त्यसको मर्म र धर्म कायमै राख्न सकूँ । विधागत रुचिका सन्दर्भमा अहिले उपन्यासले बढी आकर्षित गरिरहेको छ । जसको प्रतिफल फरैना उपन्यास हो ।

एकथरि मानिस साहित्यमा यौन चाहिन्छ भन्छन्, अर्काथरि यौन वर्जित छ भन्छन् । यहाँको विचारमा ?
साहित्यमा कुनै पनि विषय वर्जित हुँदैन । सबैभन्दा महत्वपूर्ण विषय लेखकीय चिन्तन हो । लेखकमा जस्तो चिन्तन छ त्यही कुरा लेखनमा ओकल्ने हो । एउटा सभ्य र गतिशील समाज यौनजन्य अश्लील साहित्य पढ्न आकर्षित हुन्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । साहित्यले सुसंस्कृत समाजको मार्गनिर्देश गर्नुपर्छ ।

कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?
लेखनमा नवीन शैली, शिल्प भएका । सकारात्मक सन्देश प्रवाह भएका । विधागत सैद्धान्तिक बाटो नबिराएका । समकालीन समयमा प्रतिनिधि पुस्तकका रूपमा पढिएका । शब्दको थुप्रोभन्दा पनि सन्देश दिन खोजेको कुरा भेट्न सकूँ भन्ने लाग्छ । मानवताको पक्षमा लेखिएका साथै आध्यात्मिक पुस्तकहरूको अध्ययनबाट पनि मजाको आनन्द लिन्छु ।

पछिल्लो समय कुन पुस्तक पढ्नुभयो ?
ठ्याक्कै यही र एउटामात्रै भन्नु भन्दा पनि नेपाली साहित्यमा अग्रज र समकालीन पुस्ताले लेख्नुभएका पुस्तक छानेर अध्ययन गरिरहेको छु ।

धेरै पल्ट पढेको किताब ?
पढाइको तरिका आ-आफ्नै हुन्छ । म आफूलाई सन्तुष्ट बनाएर मात्रै पुस्तक पढेर सिध्याउँछु । मन प¥यो भनेर पढिरहने पनि होइन । कुनै समयमा त्यो पुस्तक वा त्यो विषयमा केही अध्ययन गर्नुपर्ने भएमा पुनः पढ्ने गर्दछु ।

पढ्न मन लागेर नपाएको किताब ?
नेपालभित्रकै पनि केही पुस्तक अलि अगाडिको कालखण्डमा छाडिएका अहिले पाउनै गाह्रो छ । नेपालबाहिरका पनि पढ्न मन भएर पनि उपलब्ध हुन नसकेका केही पुस्तक छन् । चाहेर पनि पढ्न नपाउँदा मनमा खड्किरहन्छ ।

के कहिल्यै कुनै किताब चोर्नुभएको छ ?
पुस्तक पढ्न सुरुवात गरेदेखि मैले कुनै पनि पुस्तक चोरेर पढेको छैन । प्रायः किनेर पढ्छु । किनेर पढ्दा आफूलाई संग्र्रह गर्न पनि सजिलो हुन्छ । कहिलेकाहीँ कसैसँग मागेर पढ्छु र समयमै फिर्ता गरिदिन्छु ।

यहाँ संगीत क्षेत्रमा अति व्यस्त हुनुहुन्छ, कतिबेला पढ्नुहुन्छ ?
प्रायः मेरो पढ्ने समय साँझमा हुन्छ । कहिलेकाहीँ संगीतको कामबाट केही समय टाढिएर पनि पढ्ने गर्छु । कहिले यात्राको समयमा पनि पढ्ने गर्छु । पढ्नै मन भएपछि समय आफूले मिलाउने कुरा हो ।

पुस्तकको छनोट कसरी गर्नुहुन्छ ?
धेरै पाठकका लागि यो गम्भीर प्रश्न हो जुन मेरा लागि पनि हो । मेरो पुस्तक छनोटका केही आधार छन् । जस्तै, स्थापित लेखकहरू, पत्रपत्रिकामा छापिएका असल समीक्षकका समीक्षा र केही पाठका मौखिक अभिव्यक्ति हुन् ।

कुनै पुस्तकले सोच नै परिवर्तन गरिदिएको छ ?
पुस्तकले कुनै पनि नवीन कुरा दिन सकेन भने समय र पैसाको खेरमात्रै हो । नवीन कुरा पढ्दा नवीन सोच आउँछ वा आउनुपर्छ । असल लेखकको लेखकीय चिन्तन नै नवीन सोच हो । पुस्तक पढेरै मेरा केही सोच परिवर्तन भएको अनुभूत गरेको छु ।

यौनलाई प्राथमिकतामा राखेर प्रकाशित भएका पुस्तकहरू पढ्नुभएको छ ?
यौन नकारात्मक विषय होइन । यौन जीवनमा आवश्यक विषय हो । लेखकीय दृष्टिकोण र पाठकीय दृष्टिकोणले उब्जाउने प्रश्न र उत्तर विशेष हो । यौनसँग जोडिएका पुस्तक पढेको छु । लेखक कसरी पोखिन्छ र पाठकले कसरी बुझ्छ भन्ने हो ।

कस्ता पुस्तक पढ्न सुझाव दिनुहुन्छ ?
मानवताको पक्षमा लेखिएका र समाजलाई सिर्जनशील र गतिशील बनाउन सक्ने पुस्तक पढ्दा राम्रो हुन्छ भन्ने मेरो विश्वास हो । रोजाइ आ-आफ्नो हुन्छ ।

पुस्तकसित जोडिएका कुनै रोचक सन्दर्भ ?
एउटै पुस्तक र लगभग एउटै चिन्तन भएका व्यक्तिहरूबाट कहीँ अत्यन्तै उचाइको विश्लेषण गरिएको पाउँछु कहीँ अत्यन्तै साधारणीकरण गरिएको पाउँछु । यस्ता घटना बडो रोचक महसुस गरेको हुन्छु ।

अन्त्यमा फरैना उपन्यासले दिन खोजेको वास्तविक सन्देश के हो ?
आफ्नो रहरले भरिएको सुन्दर जीवनलाई कुल्चिँदै भोक, प्यास, पीडा, अभावहरू झेल्दै उज्यालो भविष्यका लागि यात्रारत कैयौँ फरैनाहरू अझै पनि यो समाजमा गुमनाम नै भएको महसुस गरिरहेँ । तिनका अठोट र आत्मविश्वासमा सुनौला रङ भरिन बाँकी नै रहेकोे प्रष्ट देखिन्छ । मनमा दृढसंकल्प बोकेर बाधाहरू छिचोल्दै अघि बढ्ने काम कति कष्टकर छ भन्ने कुरा फरैनाको माध्यमबाट आख्यानीकरण गरी देखाउन खोजेको छु । लगनशीलता, धीरता र निरन्तरताले मानिसलाई उन्नतिको शिखरमा पर्‍याएरै छाड्छ भन्ने सन्दर्भको उद्घाटन फरैनामार्फत् गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. गज्ज्व राम्रो प्रस्तुति लाग्यो । बेजोड 

रिलेटेड न्युज

छुटाउनुभयो कि ?