दलहरूलाई चुनावी चटारो, उम्मेदवारले थाले प्रचार अभियान

हिमालय टाइम्स
Read Time = 10 mins

विवेक खड्का/हिटा
दाङ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष तर्फका निर्वाचनका लागि उम्मेदवारले प्रचार प्रसारको कार्यलाई तीव्र पार्न थालेका छन् । निर्वाचन आयोगले बुधबार मात्रै निर्वाचन चिन्ह दिएपछि उम्मेदवारले निर्वाचन गतिविधि सक्रिय बनाउन थालेका हुन् । दाङमा प्रदेश र प्रतिनिधिसभा सदस्यमा नौ पदका लागि ८९ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । ९० जनाले उम्मेदवारी दिएकोमा बुधबार एकजनाले नाम फिर्ता लिएपछि अब जिल्लामा ६ प्रदेशसभा सदस्य र तीन प्रतिनिधिसभा सदस्यका लागि ८९ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय लमहीका अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि चार महिला र आठजना पुरुष गरी १२ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवारी दिएका कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि १२ जनाले नै प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी, हाम्रो नेपाली पार्टीबाट गंगा थारू सत्गौँवा, मंगोल नेसनल अर्गनाइजेसनबाट शोभाराम बुढा, लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिमा बुढामगर, नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक, नेपाली कांग्रेस बिपीबाट अशोक खड्का, नेपाल मजदुर किसान पार्टीका गणेशभक्त खरभुजा, राप्रपाबाट लिली बुढाथोकी, स्वतन्त्रबाट चन्द्रमणि न्यौपाने र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रूकमिणी चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नम्बर १ को (१) मा प्रदेशसभा सदस्यमा नौ जना र २ मा ६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै, क्षेत्र नम्बर २ मा पनि प्रतिनिधिसभा सदस्यमा १५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार तीन स्वतन्त्र र १२ राजनैतिक दल गरेर १५ जनाले क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्ने भएका हुन् ।

दलका तर्फबाट नेकपा एमालेबाट शंकर पोख्रेल, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रेखा शर्मा, नेकपा मालेका तेजप्रसाद पाण्डे, नेपाल मजदुर किसान पार्टीबाट आशाराम वैद्य, नेपाली कांग्रेस बिपीबाट गोपालप्रसाद शर्मा, मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट खड्क बहादुर बुढा मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विशाल अधिकारी, हाम्रो नेपाली पार्टीबाट शशिराम चौधरी, मौलिक जरोकिलो पार्टीबाट रामचन्द्र खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोलानाथ योगी, नेपाल आमा पार्टीबाट गीता रावत, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरीले प्रतिस्पर्धा गर्ने हुनुभएको हो ।

क्षेत्र नम्बर २ मा कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि उम्मेदवारी दिने सबैको नाम अन्तिम नामावलीमा प्रकाशित भएको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले बताउनुभयो । क्षेत्र नम्बर २ मा स्वतन्त्रबाट यमलाल जिसी, भुपनाथ अर्जेल र कृष्ण बहादुर डाँगी हुनुहुन्छ । क्षेत्र नम्बर २ को (१) बाट प्रदेशसभा सदस्यका लागि ८ र २ को (२) बाट पाँच जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस्तै, दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि १७ जनाले उम्मेदवारी दिएकोमा एकजनाले मात्रै नाम फिर्ता लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका रणेन्द्रविक्रम केसीले उम्मेदवारी फिर्ता लिनुभएको हो । एकजनाले उम्मेदवारी फिर्ता लिएसँगै निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि १६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका दिपक गिरी र एमालेबाट कोमल वली, नेपाल मजदुर किसान पार्टीबाट वीरबहादुर चौधरी, मंगोल अर्गनाइजेसन पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी, राप्रपाबाट ओजबहादुर खड्काबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीबाट कुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णवीर नेपाली, जनता समाजवादी पार्टीबाट देविलाल डाँगी, नेकपा मालेबाट शालिकराम चौधरी, स्वतन्त्र उम्मेदवार घनश्याम डाँगी, टोपेन्द्र बस्नेत, तिलक खड्का, हेमन्तबहादुर मल्ल, भूपबहादुर भण्डारी र लिलाधर न्यौपानेले पनि क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा पक्का भएको छ ।

यस्तै, प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ३ को (१) र (२) मा नौ/नौ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन क्षेत्र नं. ३ (१) मा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ भने एमालेको उम्मेदवार घनश्याम पाण्डे हुनुहुन्छ । ३ (२) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका धनबहादुर मास्के हनुहुन्छ भने एमालेका उम्मेदवार हुकुमबहादुर बस्नेत रहनुभएको छ ।

प्रतिनिधिसभातर्फ दाङमा उम्मेदवारी धेरैले दिए पनि गठबन्धन र एमालेका उमेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभातर्फ दाङ क्षेत्र नम्बर १ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी र नेकपा एमालेका नेता शान्ता चौधरीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा एकजना स्वतन्त्र र ११ जनाले राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् ।

तर, प्रमुख प्रतिस्पर्धा मुख्य राजनीतिक दलका उम्मेदवारबीच नै हुने आँकलन छ । गठबन्धनका उम्मेदवार मेटमणि हालका संघीय सहकारी विकास मन्त्री हुनुहुन्छ । उहाँले २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट जित्नुभएको थियो । शान्ता पनि यसअघि संघीय सांसद हुनुहुन्छ । उहाँलाई नेकपा एमालेले समानुपातिकबाट सांसद बनाएको थियो । अन्य दलका र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा भए पनि शान्ता र मेटमणिबीच नै प्रतिस्पर्धा हुने स्पष्ट देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?