संघको बदला प्रदेशमा

मधेश सरकारमा सामेल कांग्रेसका तीन मन्त्री पदमुक्त

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सामले तीनजना मन्त्रीलाई पदमुक्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले शुक्रबार कांग्रेसबाट सरकारमा सामेल तीन मन्त्रीलाई पदमुक्त गर्नुभएको हो । संघीय सरकारले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई पदबाट हटाएको भोलिपल्ट मधेशका मुख्यमन्त्री राउतले तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गर्नुभएको हो । यादव भौतिक पूर्वाधार तथा यातायात, शर्मा खानेपानी तथा सिँचाइ र सिंह महिला, बालबालिका तथा खेलकुद मन्त्री हुनुहुन्थ्यो ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट संघीय सरकारमा सामेल संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वातावरणमन्त्री प्रदीप यादवलाई पदमुक्त गर्नुभएको थियो ।

जसपाले आगामी ४ मंसिरको निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेसँगै प्रधानमन्त्री देउवाले जसपाबाट सरकारमा रहेका मन्त्रीहरू हटाउनुभएको थियो । मधेश सरकारमा कांग्रेस, माओवादी (केन्द्र) र नेकपा एकीकृत समाजवादी सरकारमा सामेल थिए । मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीलाई पदमुक्त गरे पनि माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई हेरफेर गर्नुभएको छैन । जबकि सत्ता गठबन्धनमा नेकपा माओवादी र नेकपा एस पनि सामेल छन् । संघीय सरकारबाट प्रधानमन्त्री देउवाले नै मन्त्री हटाएको जसपाको बुझाइ छ । जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनीष सुमनले संघीय सरकारबाट आफ्नो पार्टीका मन्त्री हटाइनुमा प्रधानमन्त्री देउवाकै मुख्य भूमिका रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको सहमतिमा भन्दा पनि एकल निर्णयबाट आफ्ना पार्टीका मन्त्रीहरूलाई हटाएको उहाँको भनाइ छ । माओवादी र नेकपा एसको भूमिका पुष्टि भएपछि थप निर्णय गरिने उहाँले बताउनुभयो । ‘संघीय सरकारबाट प्रधानमन्त्रीजीले एकल रूपमा हाम्रा मन्त्रीलाई पदमुक्त गर्नुभयो’, उहाँले भन्नुभयो, ‘त्यसकारण उहाँको पार्टीको मात्रै हटायौँ । पछि अरू दलको पनि संलग्नता पुष्टि भए सोचौँला ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि जसपा सत्ता गठबन्धनमा सामेल भएको थियो । आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा कुरा नमिलेपछि जसपा गठबन्धनबाट बाहिरिएको हो । जसपाले अहिले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।

संघीय सरकारमा प्रधानमन्त्रीजीले जे गर्नुभयो, हामीले पनि त्यही गर्‍यौँ : मनीष सुमन
जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनीष सुमनले क्रियाको प्रतिक्रियास्वरूप मधेश सरकारमा सहभागी कांग्रेस मन्त्रीहरूलाई हटाएको बताउनुभयो । चुनावको मुखमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने आफूहरूको कुनै रुचि नभए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको कदमले प्रदेशमन्त्री पदमुक्त गर्न बाध्य पारेको उहाँको भनाइ छ । ‘हामीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुनै रुचि थिएन । यो क्रियाको प्रतिक्रिया मात्रै हो,’ हिमालय टाइम्ससँग सुमनले भन्नुभयो, ‘प्रधानमन्त्रीले संघीय सरकारमा जे गर्नुभयो हामीले पनि त्यही गरेका हौँ ।’

सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एससँग हालसम्म मित्रवत् व्यवहार रहेको सुमनले बताउनुभयो । दुई दलसँग जसपाले तत्कालै सम्बन्ध बिगार्न नचाहेको उहाँको भनाइ छ । ‘हामीले सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एससँग मित्रवत् व्यवहार गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘राजनीतिमा सम्बन्ध महत्वपूर्ण हुन्छ । हामीले माओवादी र नेकपा एससँग व्यवहार गरेका छौँ त्यस्तै अपेक्षा गरेका छौँ । त्यत्तिकै सम्बन्ध किन बिगार्ने ?’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?