कविता : मन मगज हुन् दृष्टि सुकिला !

शरद् आयो भन्छन् सरट जतुका पेचक गण ।
रमाई नाच्दै छन् कुसुमरस चुस्छौँ भनिकन ।।
चुसे वासन्तीका उपवन बुटी निर्मल जल ।
हरे ! चिल्छन् टोक्छन् अरिङल कीरा अच्छिउँ अझ ।।

अहो ! काला मुस्लाज लदनभमा गर्जन गरी ।
धरा हाम्फालेका मुसल मयधारा शिरभरि ।।
शरद् देख्नै छोड्यौँ गडड-गडडुङ् साउन-भदौ ।
कयौँ बाढी-पैरोसित गरिरहृयौँ स्वस्ति र जदौ !!

अवाचीको तातो पवन छ चिसो उत्तर जल ।
प्रतीचीको झञ्झा मुलुकभरि नै भो हलचल ।।
सफा हाम्रो धर्ती विषमय हुँदै गो दिन-दिन ।
शरद् आभा रोक्नै वृक असुर नाच्छन् छिन-छिन ।।

कयौँ गुम्बा माने मठ निलयआंै मन्दिर कुटी ।
सयौँ भाषाभाका पहिरन मरे संस्कृति गुटी ।।
शरद् वासन्तीका अनुपम छटा भो किन कथा ?
सबै नेपालीका मनमगज हुन् दृष्टि सुकिला ।।
समाप्तम् । (छन्द-शिखरिणी)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?