आचार्यको मनका तरङ्गहरूसँग तरङ्गित हुँदा

A A- A+

✍️ गीता अधिकारी

साहित्यका विविध क्षेत्रमा कलम चलाउनुहुने स्रष्टा खिमानन्द आचार्यको नवीनतम कृति गीतिसङ्ग्रह ‘मनका तरङ्हरू’ पाठकमाझ आएको छ । यसअघि ‘धर्तीका माकुरा’ कवितासङ्ग्रह, ‘पागल साथी’ कथासङ्ग्रह, ‘पश्चत्ताप’ लघुकथासङ्ग्रह, आस्थाका बिम्बहरू कवितासङ्ग्रह पाठकमाझ ल्याउनुभएका स्रष्टा आचार्यको गीतिसङ्ग्रह ‘मनका तरङ्हरू’ पाठकमाझ आएको हो । नेपाल बाहिर रहेर पनि निरन्तर साहित्य सिर्जनमा आफूलाई तल्लिन राख्नुहुने स्रष्टा आचार्यका थुप्रै फुटक साहित्य र्सिजना पनि बेलाबेला सार्वजनिक भइरहेका हुन्छन् भने उहाँले अनेक डायस्पोराका कविता (कवितासङ्ग्रह) को प्रधानसम्पादक भएर पनि कुशल सम्पादन गर्नुभएको छ ।

‘जसले रगतलाई पसिनामा बदलेर मलाई हुर्काउनुभयो’ भन्दै आफ्ना स्व. माता ठगिश्वरा आचार्य र पिता विद्धुराम आचार्यमा समर्पण गरिएको कृतिमा उहाँले विभिन्न बान्कीका १०६ गीत पस्किनुभएको छ । स्रष्टा आचार्य आफैँ प्रकाशक रहनुभएको कृतिको मुद्रक बगलामुखी अफसेट प्रेस, कुपण्डोल, ललितपुरमा गरिएको छ । १४० पेजको कृतिको मूल्य व्यक्तिगत २००, संस्थागत ४०० र विदेशमा २० अमेरिकी डलर राखिएको छ । गीतकार आचार्यको परिवारका सदस्यको रङ्गीन तस्वीर राखिएको पानाबाट कृतिको सुरुवात गर्नुभएका उहाँले ‘माया चुमेर होइन’ गीतबाट कृतिको दैलो उर्घानुभएको छ भने वैरागीको मन गीतबाट मैजारो गर्नुभएको छ ।

हाम्रो कानसम्म सुमधुर स्वरमा ठोकिन आइपुग्ने गीतको सुरुवात यसको लेखनबाट हुन्छ । गीतमा शब्द जति राम्रो भयो त्यसैअनुसार एउटा सुन्दर गीत बन्छ । गीतकारले गीत लेख्नुहुन्छ, सङ्गीतकारले लय सिर्जना गर्दै सङ्गीत भर्नुहुन्छ, यसमा अझ राम्रो बनाउनका लागि विभिन्न बाजाहरूको प्रयोग हुन्छ, यसलाई सङ्गीत संयोजन गरिन्छ फेरि मिक्सिङ तथा माष्टरिङ गरिन्छ र राम्रो स्वरका धनीको स्वरमा सजिएपछि हामी स्रोतामाझ गीत बनेर आउँछ । एउटा राम्रो गीत बन्नका लागि धेरै जनको उत्तिकै मिहिनेत र परिश्रम आवश्यक हुन्छ । तर, यसको सुरुवात भने गीत लेखनबाट नै हुन्छ । छन्द वा लयमा मिलाएर गाउन वा गुन्गुनाउन सकिने साहित्य गीत हो । गीतमा शब्द, लय र स्वरको उत्तिकै महŒव रहेको हुन्छ । हाम्रो गीत सङ्गीमा पनि थुप्रै कालजयी गीत सिर्जना भएका छन् । यसमा धेरैले आफ्नो समय, साधना र लगन व्यतित गर्नुभएको छ । यस्तै मध्येका एक मुध्नर्य स्रष्टा हुनुहुन्छ गीतकार अचार्य । साहित्यका विविध क्षेत्रमा उत्तिकै सशक्त रूपमा कलम चलाउनुहुने आचार्य गीतमा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्नुभएको छ आफ्ना सिर्जनामार्फत ।

यस सङ्ग्रहमा उहाँले ‘माया चुमेर होइन, कठैबरा, कसम, माटो मुटु, जन्मभूमि, माटो, सुनचरी, शास्त्र, सम्झना, सस्तो माया, बोल्दोरहिछ, हामी, रुन्नँ, काली, रोइबस्न मन छ, छोरा, मर्न, आगोमा नै, नेपाल, मूल्यहीन, जहर, अर्घाखाँची, चरी, मोती, सुनगाभा, आँसु, फूलको डालीमा, दिल, जिन्दगी, मायामा जलेसीमा, दुःख, मनमा, बैगुनी, भावना, वह, चिरिएर, चालै, चोरी, मुटुभित्र आगो, सानो खिल, आँसु बगी, धावा, जलन, जुनी, बुकी, चरी भृकुटी, जिन्दगी, धर्ती, मोती, कोभिड, धोको, तरेसी, नरुनू आमा, ज्यून मिठो लैबरी, माया, गुदौंली, गीत, स्वर्ग, औंसीमा फक्रिएको, प्यास, सत्य, देउतासँग, तिमी, लिपुलेक, टाढा, को हो, मन्दिर, उनी, जामा, परदेशी, सुनाखरी, मनको गाँठो, आङ, सैना, अमृत कुण्ड, जून फुल्दा, बिर्सूं, दौतरी, मनको कुरो, सुन, भजन, देह, पिर, कोइली, लुकिछिपी, निरमाया, पात, सक्कल, तिक्तिता, जमजिते, क्षितिज, कल्पि, हित भावना, कोपिला, बतासे फूल र वैरागीको मन’ जस्ता शीर्षकमा गीत पस्किनुभएको छ ।

यस सङ्ग्रहमा प्रस्तुत भएका गीतमा मायाप्रेम, सामाजिक परिवेश, परदेशको पीडा, चाडपर्वका गीत, देशप्रेमका गीत प्रस्तुत गर्नुभएको छ । उहाँले पुस्तकको शीर्षक नै मनका तरङ्गहरू राख्नुभएजस्तै गीतकार आचार्यले आफूले गुनगुनाउँदा मनबाट तरङ्गीत शब्द-बाक्यहरू समेटिएर यो कृति तयार पार्नुभएको बुझन सकिन्छ ।

यस सङ्ग्रहमा डा.तुलसी भट्टराईले ‘आचार्यका गीतहरू : एक दृष्टिकोण, डा.नेत्र एटमले ‘खिमानन्द आचार्यका गीतमा पीडाको आत्मयात्रा’ र पुरुषोत्तम सुवेदीले ‘गीतहरूमार्फत डायस्पोरिक आत्मीय संवेदान प्रवाह’ शीर्षकमा भूमिका लेख्नुभएको छ भने गीतकार आचार्यले ‘मेरो भन्नु’ शीर्षकमा आफ्ना भनाइ अभिव्यक्त गर्नुभएको छ ।
दिलमा माया पटकै छैन र
नजाऊ टाढा भनेको होइन र
फूलको डालीमा
घर फर्की आउ माया यसै पालिमा
-फूलको डालीमा
––––
तिम्रो माया कति छ कति छ
भनौं भने लिपुलेक जति छ
वनको भलाए, म जान्छु मलाए, चिठ्ठी पाठाए
-लिपुलेक
––––
तन यहाँ भए पनि मन त्यहीँ पुग्छ
ऐँसलु र चौतारीको स्वद सम्झी रम्छ
-काली
––––
फूल छोएँ आज मैले छुन्नँ भन्दाभन्दै
अनायसै आँसु झर्‍यो रुन्नँ भन्दाभन्दै
-रुन्नँ
––––
आमा तिमी हाँसिदिन्छय्यौ आँसु लुकाएर
मेरो झोली भरिदयौ आफू मेटाएर ।
––––
कर्णली र मेचीभित्र स्वर्गभूमि खुल्छ
मुगु रोल्पा दुख्दाखेरि मेरो मन रुन्छ ।
मनका तरङ्गहरूभित्र यस्ता पंक्तिमार्फत गीतकार आचार्यले प्रेम, राष्ट्रप्रेम, प्रकृतिप्रेम, मानवप्रेम पस्किनुभएको छ । उहाँले सरल र सहज भाषामा आफ्ना भाव गीतमार्फत व्यक्त गर्नुभएको छ । गीतमा उहाँले लोकलयसँगै उखानटुक्का, ग्रमामीण जीवन, हाम्रो समाजका विभिन्न अवयवहरू प्रस्तुत गर्नुभएको छ । शब्दहरूको मोहक सङ्गमबाट मर्मस्पर्शी गीत सिर्जित हुन्छ । र, सात सुर तथा सरगमको सङ्गमबाट सुमधुर सङ्गीत प्रवाहित हुन्छ । साहित्य र सङ्गीतले शरीरमा हार्मोनको सन्तुलन कायम राख्न मद्धत गर्छन् भन्ने गरिन्छ । स्वास्थ्यमा साहित्य र सङ्गीतले विभिन्न किसिमबाट सकरात्मक प्रभाव पार्ने गर्छन् । यो संसारमा गीतसंगीत मन नपर्ने सायद को नै होला र ! गीत सङ्गीतका पारखिकाहरूका लागि आफ्ना मनमा आएका तरङ्गलाई शब्दमार्फत सबैको मनका तरङ्ग बनाउने गीतकार आचार्यको प्रयास स्तुत्य छ ।

‘अर्घाखाँचीमा दिल सारै बस्यो नि सन्धिखर्कमा ।’ आर्घाखाँची स्थायी घर भइ हाल अमेरिकालाई आफ्नो कर्मथलो बनाएर साहित्य सिर्जनामा तल्लिन रहनुभएका स्रष्टा आचार्यका आगामि दिनमा यस्तै यस्तै साहित्य सिर्जनाको रस्वादन गर्न पाइराखौ यही गीता कामना ।

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
harish
harish
2022-10-16 10:34 am

उत्कृष्ट लाग्यो

रिलेटेड न्युज

छुटाउनुभयो कि ?